‘मनसरा’को विदेश अधिकार विक्री

आउँदो बर्षको प्रतीक्षित फिल्म ‘मनसरा’को विदेश अधिकार विक्री भएको छ । यो फिल्मको विदेश अधिकार सेभेन सिजले खरिद गरेको हो । उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको यो फिल्मको अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन विक्री भएको हो ।

सेभेन सिजले यो फिल्मलाई अष्ट्रेलिया, मध्यपूर्वसँगै अमेरिकामा पनि यो फिल्मको वितरण गर्नेछ । संझौता पत्रमा ‘मनसरा’बाट निर्देशक उपेन्द्र सुब्बा, निर्माता शैलेन्द्र ध्वज कार्की तथा सेभेन सिजका तर्फबाट रमेश चौलागाईंले हस्ताक्षर गरे । यो फिल्म वैशाखको २१ गतेबाट विश्वव्यापी रिलिज हुने पक्का भएको छ । "

यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान लगायतका कलाकारको अभिनय छ । फिल्मको टिजर सार्वजनिक भएपछि यसको चर्चा ह्वात्तै बढेको छ । यो फिल्मले विवाहित लिम्बुनी महिला र विवाहित छिमेकी बाहुन बाजेसँगको सम्बन्धको कथालाई देखाएको छ ।

यो फिल्ममा निर्देशक सुब्बाकै लेखन, शैलेन्द्र ध्वज कार्कीको छायांकन छ । विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मका सह–निर्माता हुन् ।

यो फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।