एचबिओले किन्यो ‘द रेड सुटकेस’को प्रशारण अधिकार

चैत्र ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘द रेड सुटकेस’लाई हलिउडको चर्चित सिनेमा च्यानल एचबिओले खरिद गरेको छ । विगत ५१ बर्षदेखि हलिउडका फिल्महरू प्रशारण गर्दै आएको यो च्यानलले पहिलो पटक नेपाली फिल्म खरिद गरेको हो ।

एचबिओले सेटेलाइट र ओटिटी वितरणको लागि पहिलो पटक नेपाली फिल्म किनेको हो । नेपाली फिल्मलाई अन्तराष्ट्रिय प्लेटफर्महरूले महत्व नदिइरहेको समयमा विश्वकै पुरानो सेटेलाइट फिल्म वितरण संस्थाले युरोपका १५ देशमा ओटिटी राइट्स वितरणका लागि नेपाली फिल्म किनेको हो ।

यो फिल्मका निर्माता रामकृष्ण पोखरेलका नुसार, एचबीओले १५ वटा युरोपियन देशका लागि ओटिटी अधिकार लिएसँगै लगानी सुरक्षित भएको छ ।

एचबिओले फिल्म किनेपछि आफूहरूको उत्साह झनै बढेको उनको भनाई छ । फिडेल देवकोटाको डेब्यू निर्देशनमा तयार भएको यो फिल्मको प्रिमियर भेनिस फिल्म फेस्टिभलमा भएको थियो ।

यो फिल्ममा सौगात मल्ल, प्रवीण खतिवडा, विपिन कार्की, श्रृष्टी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । आइसफल प्रडक्सनका लागि शोभा थापा निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन छ ।