‘डिग्री माइला’को उत्साहजनक सुरुवात, आजबाट के होला ?

गतबर्षको अन्तिम दिनबाट रिलिजमा आएको फिल्म ‘डिग्री माइला’ले बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ । फिल्मले शुक्रबार सुखद व्यापार गरेको थियो भने शनिबार आक्रामक व्यापार गरेको छ । नयाँ बर्षको दिन बिहानैबाट देशभरका हलहरुमा दर्शकको उच्च चाप देखिएको थियो ।

दर्शकको उत्साहजनक उपस्थितिलाई देखेर प्रदर्शकहरुले राती ११ः४५ को शोज समेत यो फिल्मलाई उपलब्ध गराएका थिए । 

शनिबार नायक दयाहाङ राईले दर्शकहरुसँग बसेर आफ्नो जन्मदिन समेत सेलिब्रेशन गरेका थिए । फिल्मका वितरक गोविन्द शाहीले फिल्मको व्यापार आक्रामक भएको र दर्शकको प्रतिक्रिया पनि राम्रो आएको बताए । 

फिल्मका निर्माता मणिराम पोखरेलले पनि दर्शकको यो खालको उपस्थितिले खुशी लागेको बताए । ‘डिग्री माइला’लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । 

फिल्ममा दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, वुद्दि तामाङ, विजय बराल, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ । 

फिल्मको आजबाटको व्यापारले यसको लाइफ टाइमको निर्धारण गर्नेछ । नयाँ बर्षमा रिलिज हुने सबै फिल्मले आक्रामक व्यापार गर्दै आएका छन् ।

यसैले, दर्शकले आजबाट यो फिल्मलाई पनि नयाँ बर्षको जस्तै साथ दिएको खण्डमा रामबाबु गुरुङले अर्को सुपरहिट फिल्म आफ्नो नाममा लेखाउनेछन् ।