दयाले न ‘डिग्री माइला’ भ्याए, न ‘मनसरा’

फिल्म ‘डिग्री माइला’का लागि पूर्वका दर्शक भेट्न मंगलबार बिहानै नायक दयाहाङ राई पूर्वका जिल्लातर्फ लागे । दिनभर विराटनगर, इटहरी र धरानका पत्रकारसँग उनले साक्षात्कार गरे ।

बुधबार दिउँसो २ बजे काठमाडौंमा भने उनी अभिनित फिल्म ‘मनसरा’को ट्रेलर रिलिज थियो । यसका लागि दयाले बिर्तामोडका दर्शकसँगको साक्षात्कार कार्यक्रमलाई नै छाडे । 

१२ बजे दमकका दर्शकलाई भेटेर उनी विराटनगर विमानस्थलमा २ बजेको फ्लाइटका लागि हिँडेका थिए । तर, रोचक कुरा के रहेछ भने दयाले टिकट विमानस्थलमा नै पाइन्छ भन्दै काटेका रहनेछन् । तर, उनले २ बजेको टिकट पनि पाएनन् । 

यता, फिल्म ‘मनसरा’को टिमले दयालाई १ घन्टा बढी कुरेपछि ट्रेलर रिलिज कार्यक्रम गर्यो । दया कार्यक्रममा आइपुगेनन् । कार्यक्रम सकिएपछि मात्र दयाहाङ राई ट्रेलर रिलिज कार्यक्रममा पुगेका थिए । 

दयाले दुवैतिरको कार्यक्रमलाई भ्याउन खोज्दा न त विर्तामोडमा जान पाए, न त ‘मनसरा’को ट्रेलरमा नै सहभागी हुन पाए । 

दयाको फिल्ममा काम गराई पनि गतबर्ष यस्तै अस्तव्यस्त देखिएको थियो । तर, यो बर्षबाट भने उनले आफूलाई लयमा फर्काउने कोशिश गरिरहेका छन् । तर, समयको व्यवस्थापन गर्न नजान्दा उनलाई बुधबार गाह्रो भयो ।

फिल्ममा अभिनयको हकमा पनि दयाले राम्रो व्यवस्थापन गरून्, हाम्रो शुभकामना ।