नेपाली फिल्मलाई दर्शकको साथ

गत बर्षको वैशाख १ गते फिल्म ‘जारी’ रिलिज भएपछि अरु फिल्म ओझेलमा परे । ‘जारी’पछि अर्को हिट फिल्म पर्खन नेपाली फिल्म क्षेत्रलाई ५ महिना लाग्यो । फिल्म ‘नांगो गाउँ’ले ४ महिना लामो फ्लपको श्रृङ्खला तोडिदिएको थियो । वैशाख महिनामा नाम चलेका स्टारदेखि कलाकारका फिल्मले दर्शकको साथ पाएनन् । 

तर, यो बर्ष माहोल केही बदलिएको छ । नेपाली फिल्ममाथि दर्शकको चासो र साथ बढेको छ । गतबर्षको चैत्र ९ गते रिलिज भएको फिल्म ‘महाजात्रा’ले यो बर्ष पनि दर्शकको राम्रो साथ पाइरहेको छ । फिल्मले नयाँ बर्षदेखि आजका दिनसम्म हलमा राम्रै दर्शक तानिरहेको छ । 

फिल्म ‘डिग्री माइला’ले पनि एक साता राम्रो व्यापार गर्यो । फिल्म कमजोर नभएको भए यसको व्यापार आजका दिनसम्म पनि सुखद नै हुने थियो । तर, यो फिल्मका लागि पनि दर्शक हलसम्म आएका थिए । 

अहिले फिल्म ‘बोक्सीको घर’ले पनि दर्शक तानिरहेको छ । यो फिल्मले शुक्रबार र शनिबार आक्रामक व्यापार गर्यो । निर्माणपक्षले २ करोड १५ लाखको ग्रस कलेक्शन गरेको आँकडा सार्वजनिक गरेको छ । आज आइतबार पनि मध्यान्हपछि फिल्मले पिकअप लिएको छ । 

यसपछि रिलिज हुन लागेका ‘मनसरा, फर्की फर्की, पुजार सार्की’ लगायतका फिल्ममा पनि दर्शकको चासो उच्च देखिएको छ । यसैले, यी फिल्मले पनि व्यापारिक रुपमा राम्रो सुरुवात गर्ने अपेक्षा गर्न सकिन्छ । 

यो बिचमा हिन्दी फिल्मको अवस्था भने नेपालमा कमजोर देखिँदैछ । नयाँ बर्षमा नेपाली फिल्म रिलिज हुँदा अक्षय कुमार र टाइगर श्राफ जस्ता कलाकारको फिल्म नेपाल भित्र नै सकेन । 

‘बोक्सीको घर’सँगै रिलिज भएको ‘रुस्लान’ फिल्म हलमा लागेको त छ, तर दर्शकले यो फिल्मप्रति कुनै चासो देखाएका छैनन् । 

यसले, नेपाली फिल्मप्रति यो बर्षको सुरुवातदेखि नै दर्शकको चासो र साथ बढेको देखाउँछ । तर, मेकरले फिल्म निर्माणमा पनि कन्जुस्याइँ गर्न पनि हुँदैन । यो बर्ष थुप्रै अपेक्षित फिल्मको लाइनअप छ । जसकाकारण, यो बर्ष हिट फिल्मको संख्या बढ्न सक्ने देखिन्छ ।