‘पुजार सार्की’मा मैतबहादुर बनेका प्रदीप खड्का

‘लभर ब्वाय’ र ‘रोमान्टिक हिरो’को छवि बनाएका नायक हुन् प्रदीप खड्का । उनको पहिलो फिल्म 'स्केप' भएता पनि ‘प्रेमगीत’बाट दर्शकमाझ लोकप्रिय बनेका उनले ‘प्रकाश’ अघिसम्म ‘रोमान्टिक हिरो’को छविलाई निरन्तरता दिए। तर, अब उनी ‘पुजार सार्की’मा मैतबहादुरको भूमिका मार्फत दर्शकमाझ प्रस्तुत हुँदैछन्।  

जेठ १० गतेबाट सार्वजनिक प्रदर्शन हुने यो फिल्ममा उनी ‘मैतबहादुर’ बनेका छन्। ‘मैतबहादुर’ समाजको त्यो पात्र हो जसले अन्तर्जातीय प्रेम गरेको छ। उसले आफ्नो प्रेम प्राप्तिको लागि जे पनि गर्न तयार छ। मैतबहादुरको वास्तविकता के हो र उसको प्रेमप्राप्तको सङ्घर्ष कस्तो छ? यो भने ट्रेलर र गीतबाट अझै खुलिसकेको छैन। यसको लागि दर्शक हलसम्मै पुग्नुपर्छ।

आखिर मैतबहादुर नै किन ? भन्ने प्रश्नमा उनी भन्छन्,- “म कुन चेतना स्तरको कलाकार हो भन्ने कुराले अर्थ राख्ला। जुन समयमा मैले सुरु गर्दै गएँ, त्यो बेला म शून्य थिएँ। मलाई ‘गाइड’ गर्ने कोही थिएन। ‘गाइड’ गर्ने शिक्षक अथवा गुरु भइदिएको भए राम्रो र नराम्रो छुट्टाउँथे होला। मलाई जे आयो त्यही गर्दै गएँ। त्यो बेला मलाई ‘कन्टेन्ट बेस’को अप्रोच नै आएन,” प्रदीप ‘प्रकाश’ अघिको समयमा फर्किए, “बरु प्रकाशमा मलाई निर्देशक दिनेश राउतले प्रस्ताव नगर्नुभएको भए अझै १० वर्ष गर्दिनँ थिएँ, किनकि मलाई यस्तो फिल्म गर्नुपर्छ भन्ने चेत नै थिएन। मैले चरित्रलाई फरक गर्न सकिनँ भन्ने आलोचना खेपिरहेको थिएँ। ‘प्रकाश’को प्रस्ताव आयो, त्यो प्रस्तावलाई मैले पुरा गर्नुपर्छ भन्ने चेत आयो। अनि मैले ‘प्रकाश’ गरेँ। यो फिल्मपछि मैले जुन किसिमको प्रतिक्रिया पाएँ, अनि त्यसलाई संस्थागत गर्नुपर्छ भनेर त्यस्तै चरित्रमा आधारित पुजार सार्की गरेँ।”

उनले आफ्नो पात्रले नेपाली समाजलाई फिल्महरूमा देखाइने गरेको ‘स्टेरियोटाइप’बाट बाहिर निस्कन सजग गराउने विश्वास गर्छन्। “विदेशी फिल्मले नेपाल देखाउँदा बहादुर, गोर्खाली या शेर्पा नै देखाउँछन्। हामीलाई पनि कुनै शोषित समाज या सामन्ती समाजलाई ‘स्टेरियोटाइप’ गरिएको भान हुन्छ। उनीहरूले तराइवासीको फिल्म बनायो भने पानी पुरी र कपाल काट्ने नै देखाएको जस्तो देखिन्छ। त्यो चिज नेपाली फिल्ममा नहोस् भन्नेमा सजग छु। मेरो चरित्र भनेको दलित समुदायबाट प्रतिनिधित्व गर्ने हो, तर उसले आफूलाई कसरी हेर्छ त भन्ने चाहिँ नयाँपन हो।’

जातीय विभेदविरुद्धको कथामा निर्माण गरिएको यो फिल्ममा प्रदीप आफैँ दलित पात्र बनेर अभिनय गरिरहँदा भविष्यमा अवरोध पो आउने हो कि भन्ने कुरामा उनी पहिले नै प्रस्ट थिए। “सही काम गरिएको छ भने त्यसको आउट पुट गलत हुँदैन भन्नेमा म प्रस्ट छु। कसैले आजको दिनमा विभेद छैन, यो कुरा किन अगाडि ल्याइरहेको हो भनेर भन्यो भने पनि यो कला र साहित्य हो। अहिले विश्वयुद्धको, हिट्लरको चलचित्र बनाउन नपाउने भन्ने त हुन्न होला। नेपालको परिप्रेक्ष्यमा पचासौँ वर्षदेखि एउटा वर्ग आन्दोलनरत छ। तर पनि उनीहरूले आजको दिनमा पनि विभेदका घटना व्यहोरिरहेका छन्”, उनी भन्छन् ।

“म ललितपुरको एकान्तकुनामा जन्मिएँ। मलाई जातीयताका आधारमा विभेद हुन्छ भन्ने धेरै पछि मात्र थाहा भयो। १२ कक्षा पढुन्जेल मेरा साथीहरू कुन जातको र कुन समुदायको भन्ने थाहा थिएन। सबै जना आफैँ जस्तो देख्थेँ। तर जब परिवार बाहिर आएर मिडिया बुझ्न थालेँ, अनि मात्र विभेद पनि हुँदो रहेछ भन्ने थाहा पाएँ,” प्रदीपले भने । 

उनी अगाडि भन्छन्, “म हुर्कँदै गर्दा देखेको त बेण्ड बाजा थियो। पञ्चेबाजा थाहा नै थिएन। खासमा मलाई दमाईहरूले बजाउने बाजा भन्ने पनि थाहा थिएन। आजकल सबैले बजाउने भएकोले पुरानो समयमा र ग्रामीण क्षेत्रमा के हुन्छ थाहा भएन। यस चलचित्रमा दमाई पात्र मैतबहादुर बनेपछि मात्र मलाई यसबारेमा विस्तृतमा थाहा भयो। मैले सुटिङ सेटमै दमाहा बजाउन सिकेँ,”।

“मैले दमाहा बजाएको देखेर गाउँका मान्छेहरू पनि अचम्मित थिए। म पहिला तबला बजाउँथे। मलाई बिटहरूको आइडिया छ। म अहिले पनि गितार बजाउँछु। त्यस कारण मलाई रिदमको जानकारी थियो। त्यस कारण पनि दमाहा बजाउँदा त्यो टिप्न सजिलो भयो होला। बिटमा बजाउन मलाई समस्या भएन। मैले केवल टाइमिङ मात्र सिक्नु थियो। तर मैले नरसिंह चाहिँ फुक्न सकिनँ। सायद पावर पुगेन कि,” प्रदीप हाँसे । 

आफूलाई निर्देशक दिनेश राउतले ‘मैतबहादुर’को चरित्र दिनु पनि आफ्नो क्षमतामा विश्वास गरेर हो भन्ने प्रदीपलाई लाग्छ, “निर्देशकलाई पनि मेरो ‘नेचर’ अनुसार पनि मैतबहादुर नै ठिक लाग्यो कि। उहाँले म एक्टिभ छु र चरित्र पनि मिल्छ भन्ने विश्वास गरेर मलाई यो भूमिका दिनुभयो भन्ने लाग्छ।”

यो फिल्ममा उनको  ‘अपोजिट’मा परीक्षा लिम्बु छिन्। उनी मगर समुदायको प्रतिनिधित्व गर्छिन्। दिनेश राउतको निर्देशन, बिकास सुवेदीको लेखन र सुवास भुसालको निर्माण रहेको यो फिल्ममा आर्यन सिग्देल, पल शाह, अञ्जना बराइली लगायतको पनि प्रमुख भूमिका रहेको छ।