वृद्ध अवस्थाका पल शाह उर्फ 'मेघराज खत्री' र प्रहरीको मुठभेड

यही जेठ १० गते बिहीवार बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’को नायक पल शाहले दुई वटा तस्वीर सार्वजनिक गरेका छन् । फिल्म रिलिजको दुई दिन अगाडी पलले आफ्ना दुई फोटोहरू सार्वजनिक गर्दै आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउन सजिलो होस् भन्दै सार्वजनिक गरेका हुन् । 

सार्वजनिक फोटोहरूमा उनी वृद्ध अवस्थामा देखिएका छन्। मङ्गलवार बिहानै फेसबुकमा पलले दुई वटा फोटो पोस्ट गरेका थिए। जुन फोटोमा पल र प्रहरी मुठभेड अवस्थामा पललाई पक्राउ गर्न खोजिरहेको देखिन्छ। पलको यो फोटोलाई उनका फ्यानहरूले उत्सुकताका साथ प्रतिक्रिया दिइरहेका छन्।

फिल्म 'पुजार सार्की' रिलिज हुन अब मात्र दुई दिन बाँकी छ। मेरो करिअरमा महत्त्वपूर्ण फिल्म “पुजार सार्की” साबित हुनेमा म ढुक्क छु। मैले केही दिन अगाडी पनि भनेको थिएँ की म अर्को फिल्म ‘रावायण’को छायाङ्कनका कारण 'पुजार सार्की'को प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन। मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरूले देखाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु। थुप्रै सञ्चारमाध्यमहरूमा पनि मेरो खोजी भइरहेको खबर पाइरहेको छु। चाहेर पनि मैले प्रत्यक्ष रूपमा म यहाँहरूको अगाडी उपस्थित हुन सकेको छैन। मेरो यो बाध्यतालाई यहाँहरूले बुझिदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु।” फोटो सार्वजनिक गर्दै पलले लेखेका छन्,। 

त्यस्तै, उनले अगाडी लेखेका छन्, “आज मैले 'पुजार सार्की'मा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु। यो तस्बिरबाट तपाईँले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ। यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ।”

नायक पल शाहले बुद्ध जयन्तीको दिनदेखि हलमा नै भेटौँ है भन्दै दर्शकलाई आह्वान गरेका छन्। अन्त्यमा पलले आफूलाई ‘पुजार सार्की’को पात्र मेघराज खत्रीको रूपमा चिनाएका छन्।