यी हुन् ‘पुजार सार्की’ चल्न सक्ने आधारहरु

भोलि बिहिबारबाट देशभरका हलमा रिलिज हुन लागेको फिल्म ‘पुजार सार्की’को बूकिङ खुल्ला भइसकेको छ । देशभरका मल्टिप्लेक्समा यो फिल्मलाई १ सय ८० भन्दा बढी शोजहरु मिलेको छ । 

यो फिल्म घोषणा भएदेखि नै चर्चामा छ । दिनेश राउतको निर्देशनमा विकास सुवेदीको लेखन रहेको यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । 

फिल्म ‘आई एम सरी हुँदै नोभेम्बर रेन, क्लासिक, प्रसाद र प्रकाश’सम्म आइपुग्दा निर्देशक राउतको छाप फिल्म क्षेत्रमा छुट्टै छ । उनले बनाएका फिल्म राम्रा हुन्छन् भन्ने विश्वास दर्शकमा परेको छ । यही कारणले पनि फिल्म ‘पुजार सार्की’लाई फाइदा हुनसक्छ । 

फिल्मले मल्टिप्लेक्समा निकै राम्रो शोज पाएको छ । अर्को फिल्म ‘फर्की फर्की’सँगै रिलिज भएपनि प्रदर्शकले यो फिल्ममाथि कुनै विभेद गरेका छैनन् । दुबै फिल्मलाई प्रदर्शकले बराबर शोज दिएका छन् । 

फिल्ममा नेपाली दर्शकले सर्वाधिक रुचाएका ३ स्टार नायक छन् । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको त्रिकोणात्मक केमेष्ट्री दर्शकका लागि विशेष हुने पक्का छ । यी तीन नायकका कारण पनि फिल्मको हाइप उच्च बनेको हो । दर्शक उनीहरुलाई हलसम्म हेर्न उत्साहित देखिएका छन् ।  
फिल्मको ट्रेलर र गीत संगीतले पाएको प्रतिक्रिया पनि सुखद छ । यसको असर इनिसियल बक्स अफिस कलेक्शनमा पर्न सक्छ । 

नेपालमा जातीय विभेद आजका दिनमा पनि कायम छ । फिल्मको कथावस्तुले दर्शकको मन जित्न सक्छ । यसअघि ‘प्रकाश’ फिल्म लेखेका विकास सुवेदीले यसपटक देशकै सूक्ष्म विषयलाई उठान गरेका छन् । 

‘पुजार सार्की’को व्यापार र प्रतिक्रिया नेपाली फिल्म क्षेत्रका लागि पनि एउटा सन्देश बन्न सक्छ । मल्टिस्टारर कलाकारलाई दर्शकले कुन रुपमा हेर्ने हुन्, त्यो फिल्मको व्यापारबाट थाहा हुनेछ । तर, ‘पुजार सार्की’ले बक्स अफिसमा दर्शकको साथ पाउने विश्वास धेरैको छ ।