दर्शकको ध्यान तान्न नसकिरहेको ‘लण्डन टू पेरिस’

जेठको २५ गते रिलिजमा आउन लागेको फिल्म ‘लण्डन टू पेरिस’को प्रचार सामाग्रीमा दर्शकको आँखा पर्न सकेको छैन । 

निर्माणपक्षले निरन्तर फिल्मको प्रचार सामाग्री सार्वजनिक गरेर दर्शकको ध्यान तान्ने कोशिश गरेपनि दर्शकलाई भने फिल्मका प्रचार सामाग्रीमा खासै मोह देखिएको छैन । 

युट्युबमा यो फिल्मको दुई वटा गीत र टिजर सार्वजनिक भइसकेको छ । तर, यी तीन सामग्रीको भ्यूज हेर्ने हो भने, फिल्मका लागि निर्माण टिमले अब बलियो बिषय ल्याउनुपर्ने देखिन्छ । 

फिल्मको टिजरले ५ लाख भ्यूज पनि बटुल्न सकेको छैन । सार्वजनिक दुबै गीतले दर्शकको साथ पाउन सकेनन् । 

यसको पछाडि केही कारण छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहमाथि दर्शकको मोह पहिले जस्तो छैन । करिअरको सुरुवातमै धमाका मच्चाएकी साम्राज्ञीको क्रेज अहिले कमजोर बनेको छ । यसको असर फिल्मको प्रचार सामाग्रीमा पनि देखिन्छ । 

अर्कोतिर, एबी प्रोडक्शन फिल्मको रिलिजको क्रममा गम्भीर नबनेका उदाहरण पनि यसअघि देखिएका छन् । यस्तो अवस्थामा घनश्याम लामिछाने निर्देशित फिल्मले दर्शकको ध्यान कसरी तान्न सक्ला, हेर्न बाँकी छ ।