बालेनले गरे ‘फर्की फर्की’को तारिफ, के अनमोलको करिअरकै उत्कृष्ट फिल्म हो ?


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्म ‘फर्की फर्की’को खुलेरै तारिफ गरेका छन् । आज आयोजना भएको भव्य प्रिमियरमा पुगेका बालेनले सामाजिक संजालमा खुलेरै तारिफ गरेका हुन् । 

फिल्म हेरेपछि बालेनले लेखेका छन्–‘एउटा नयाँ स्वादको फिल्म । साँच्चिकै सुन्दर फिल्म ।’ बालेन शाहले फिल्म हेरेपछि मिडियासँग प्रतिक्रिया भने दिएनन् । तर, बालेनले कमै मात्र फिल्मको यसरी तारिफ गर्ने गरेका छन् । उनले, फिल्मको खुलेरै तारिफ गरेपछि फिल्मप्रति दर्शकको आकर्षण अझै बढ्ने निश्चित छ । 

फिल्म ‘फर्की फर्की’ हेर्न पुगेका अधिकांशले यसको खुलेरै तारिफ गरे । फिल्म हेरेपछि अधिकांशले यसको कथावस्तु, प्रस्तुति, निर्देशक सुयोग गुरुङको कामको तारिफ गरे । फिल्म हेर्नेले नायक अनमोल केसीको कामको समेत खुलेरै तारिफ गरेका थिए । अनमोलले आफ्नो करिअरमै अहिलेसम्मको उत्कृष्ट काम गरेको प्रतिक्रिया अधिकांश फिल्मीकर्मीको थियो । फिल्म हेरेका ५ सय भन्दा बढी पाहुनाहरूले यसको मेकिङ, कथा, कलाकारको कामको दिल खोलेर तारिफ गरेका थिए । 

लामो समयपछि नेपाली फिल्मले एउटा फ्रेस कथा, उच्च क्यानभास र उत्कृष्ट अभिनयको समिश्रणमा फिल्म पाएको उनीहरुको भनाई थियो । 

नायक अनमोल केसीले यो फिल्मलाई आफ्नो करिअरको नयाँ आयम भन्ने गरेका छन् । अनमोलको काममा मिहिनेत झल्किएको छ । अनमोललाई अभिनय नै आउँदैन, संवादमा दम छैन भन्नेहरूलाई यसपटक उनले राम्रैसँग कामले जवाफ दिएका छन् । 

नेपाली फिल्मले नयाँ निर्देशकको रुपमा सुयोग गुरुङलाई पाएको प्रतिक्रिया समेत फिल्मीकर्मीले दिएका थिए । दोस्रो फिल्ममै सुयोगले आफूलाई अब्बल रुपमा प्रस्तुत गरेकी छिन् ।

नायिका जसिता गुरुङ, नव कलाकारद्वय रवि काफ्ले र समृद्धी अर्यालको कामको समेत सबैले तारिफ गरे । भोलिदेखि बक्स अफिसमा रिलिज हुन लागेको यो फिल्मले आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।