‘पुजार सार्की’मा जमेका प्रदीप खड्का

दिनेश राउतको निर्देशनमा सुभाष भुसालको निर्माणमा तयार भएको फिल्म ‘पुजार सार्की’ बिहिबारबाट रिलिजमा आएको छ । यो फिल्मको बिहिबारको व्यापार सुखद छ । बिहानैबाट हलहरुमा दर्शकको चाप सुखद देखिएको छ । 

फिल्मको टिमले आज बिहान काठमाडौंको सिभिल मलमा रहेको क्यूएफएक्स चेनमा विशेष शोको समेत आयोजना गरेको  थियो । 

जातीय विभेदको कथामा तयार भएको यो फिल्ममा नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहको मुख्य भूमिका छ । साथमा, फिल्ममा अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका छ । 

फिल्ममा तीन नायक भएपनि प्रदीप खड्का हाबी छन् । २ घन्टा १५ मिनेट लामो यो फिल्मलाई प्रदीप खड्काले नै होल्ड गरेका छन् । पल शाह एक विद्रोही नायकको रुपमा देखिँदा आर्यन सिग्देल शीर्ष भूमिकामा छन् । 

तर, प्रदीप खड्काको कमेडी संवाद, उनको अभिनयले दर्शकको मन जित्छ । ‘पुजार सार्की’लाई प्रदीपले होल्ड गरेको फिल्म भन्दा फरक पर्दैन ।

प्रदीप पर्दाबाट हराउँदा दर्शकले उनलाई नै मिस गर्छन् । उनी पर्दामा देखिएपछि फेरि दर्शकको अनुहारमा हाँसो फर्किन्छ । 

विकास सुवेदीको लेखनमा तयार भएको यो फिल्मले वि.सं २०४६ सालदेखि हालसम्मको कथा भन्छ । जातियताको कारण हुने गरेको विभेद हिजो पनि थियो र आज पनि छ भन्ने कथामा यो फिल्म बनेको छ । 

फिल्म ‘प्रकाश’ पछि यो फिल्ममा प्रदीपले आफूलाई अब्बल साबित गरेका छन् ।