अभिनयमा टिप्पणी गर्नेलाई ‘फर्की फर्की’बाट अनमोलले दिए जवाफ

आज बिहिबारबाट रिलिजमा आएको फिल्म ‘फर्की फर्की’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । फिल्मको आक्रामक ओपनिङले एक पटक फेरि नायक अनमोल केसीले आफ्नो स्टारडम त पुष्टि गरेका छन् नै ।

त्यो भन्दा पनि मुख्य कुरा, अनमोलले आफूलाई यसपटक अब्बल कलाकारको रुपमा समेत पुष्टि गरेका छन् । फिल्म ‘छड्के २’बाट व्यापक आलोचना भएपछि अनमोल डेढ बर्ष मौन बसे । उनले, अफर आएका थुप्रै फिल्म छाडे । अन्त्यमा फिल्म ‘फर्की फर्की’मा काम गर्ने उनको निर्णय सही साबित भएको छ । 

सुयोग गुरुङले यसपटक अनमोल केसीको अभिनयप्रतिको भोक जगाइदिएका छन् । अनमोलले पनि सोही भोकको छटपटी पर्दामा पोखेका छन् । जसकाकारण, फिल्मले आक्रामक ओपनिङ गर्दै गर्दा अनमोलको अभिनयको पनि चौतर्फी तारिफ भइरहेको छ । 

दर्शक, समीक्षक र फिल्मीकर्मीले नवौं फिल्मसम्म आइपुग्दा पनि अनमोलको अभिनयको सधैं आलोचना गरे । अनमोल अभिनयले भन्दा पनि चकलेटी अनुहारका कारण चलेका हुन् भन्ने टिप्पणी भइरह्यो । 

तर, दशौं फिल्म अनमोलको करिअरका लागि नयाँ युगको सुरुवात जसरी आएको छ । यसपटक, अनमोलले उनकै पछिल्लो फिल्म भन्दा राम्रो अभिनय गरेका छन् भनेर मात्र टिप्पणी गर्न मिल्दैन । यसपटक, उनले आफूलाई अभिनयमा अब्बल साबित गरिदिएका छन् । 

अनमोल सधैं नै आफूले राम्रो काम गर्ने कोशिश गरिरहेको सुनाउँछन् । तर, आगामी फिल्ममा अझै राम्रो गर्नुपर्छ भन्ने सोच आफूमा सधैं रहने उनको भनाई छ । 

फिल्मको प्रिमियरमा हेरेका फिल्मीकर्मीदेखि हलमा फिल्म हेरेका दर्शकले समेत अनमोलको कामको उच्च प्रशंसा गरेका छन् । अब, अनमोलको अभिनय कमजोर छ भनेर टिप्पणी गर्नु बेकार हुनेछ । किनकी, यसपटक उनले आफूलाई चकलेटी मात्र होइन उत्कृष्ट अभिनय गर्न सक्ने नायकको रुपमा साबित गरिदिएका छन् । 

यति भन्दै गर्दा, आगामी दिनमा अनमोल केसीलाई कमजोर फिल्ममा काम गर्ने छुट अब छैन । किनकी, ‘फर्की फर्की’मा काम गरेपछि अनमोलप्रति दर्शकको विश्वास ह्वात्तै बढेको छ । अब, अनमोलले फिल्मको स्क्रिप्ट छनोटमा समेत विशेष ध्यान दिनुपर्ने हुन्छ । 

दशौं फिल्ममा बल्ल अनमोलले आफ्नो अभिनयलाई लिएर टिप्पणी गर्नेहरूको मुख बन्द गरिदिएका छन् । अनमोलको करिअरका लागि यो सबैभन्दा सुखद सुरुवात हो ।