फिल्म जुध्दा सधै घाटा, तर पहल गरिदिने कसले ?

गतबर्षको फागुन २५ गते तीन नेपाली फिल्म जुधे । ‘उपहार, काँडेतार र रंगेली’ एकसाथ रिलिज भए । यी तिनै फिल्मले बक्स अफिसमा उम्दा व्यापार गरेनन् । तीन फिल्म जुध्दा इनिसियल व्यापारमा समेत असर गर्यो । तीनै फिल्मले व्यापारिक रुपमा सफलता पाउन सकेनन् । 

नेपाली बजारमा सधैं नै ठूला फिल्म जुध्दा निर्मातालाई घाटा हुने गरेको छ । तर, यस बारेमा कहिले पनि पहल भएको पाइँदैन । जेठको १० गते ‘फर्की फर्की र पुजार सार्की’बिच भिडन्त भयो । यो भिडन्तको विषयमा मिडियामा लामो समयसम्म टिप्पणी भएपनि निर्माताहरूले समझदारी खोजेनन् । न त यी दुई फिल्मको बिषयमा चलचित्र संघ, निर्माता संघले कुनै पहल नै गरे । 

ठूला फिल्म जुध्दा जहिले पनि घाटा भएको उदाहरण हुँदाहुँदै पनि यस बिषयमा पहल हुन नसक्नु आफैंमा दुखद कुरा हो । 

यो बर्षको दशैंमा पनि यस्तै अवस्था देखिँदैछ । दशैंको समयमा फिल्मले व्यापार राम्रो गर्छन् । तर, एउटै मितिमा फिल्महरू जुध्दा व्यापारमा घाटा हुन्छ नै । फिल्मको रिलिजलाई मिलाएर लैजान सकिने भएपनि यस बिषयमा आवाज उठाउने कोही पनि भेटिँदैन । 

चलचित्र संघले ठूला फिल्मलाई एक आपसमा नजुधाउने भन्दै पहल सुरु गरेको बताएको छ । यो बिषयमा निर्माता संघले पनि पहल गर्न आवश्यक छ ।

होइन भने, फेरि दर्शक फर्काएको नेपाली फिल्म क्षेत्रले जुधाईको मारमा निर्मातालाई भने फाइदा नहुने देखिन्छ । के चलचित्र संघ र निर्माता संघ यसका लागि तयार छन् त ?