दयाहाङले जीवन बाँचेको फिल्म ‘गाउँ आएको बाटो’

नबिन सुब्बाको निर्देशनमा तयार भएको फिल्म ‘गाउँ आएको बाटो’को बुधबार काठमाडौंमा भव्य प्रिमियरको आयोजना गरियो । नेपाली फिल्म क्षेत्रका थुप्रै फिल्मीकर्मी, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा निर्माणपक्षले भव्य प्रिमियरको आयोजना गर्यो । 

यो फिल्म नायक दयाहाङ राइको लागि महत्वपूर्ण थियो । किनकी, लगातार खस्किरहेको उनको करिअरमा यो फिल्म चल्नुपर्ने दबाब छ । अर्कोतिर, एउटै प्रकृतिको अभिनय गरेको आरोप पनि दयालाई लाग्दै आएको छ । 

तर, यो फिल्म हेरेपछि अधिकांशले दयाहाङको उत्कृष्ट काम भन्दै प्रशंसा गरे । ‘माइला’ पात्रमा दयाहाङले जीवन बाँचेको उनीहरुको तर्क थियो ।

नायिका केकी अधिकारीले दयाको करिअरकै उत्कृष्ट फिल्म भएको बताइन् । उनले, यो फिल्ममा दयाले पात्र बाँचेको प्रतिक्रिया दिइन् । 

निर्देशक निश्चल बस्नेतले आफूले यो फिल्मको बिषयमा कुनै प्रतिक्रिया दिनै नसक्ने बताए । नबिन सुब्बाको फिल्म हेर्न पाउनु नै आफूहरूको लागि ठूलो कुरा भएको उनको भनाई थियो । 

फिल्म हेरेर निस्किएका अधिकांश फिल्मीकर्मीले दयाको कामको खुलेरै प्रशंसा गरे । साथमा बाल–कलाकार प्रसन राइको पनि अधिकांशले तारिफ गरेका थिए । 

भोलि शुक्रबारदेखि रिलिज हुन लागेको यो फिल्मले बाबु र छोराको कथा भन्छ । एउटा छोराको सपना पुरा गर्नका लागि बाबुले कस्तो जीवन बाँच्छ भन्ने कथा यो फिल्मले भनेको छ ।