पोस्टरमा ‘सिंगल लेडी’

नायक केन्द्रित प्रचार शैलीबाट नेपाली फिल्म क्षेत्र विस्तारै परिवर्तन हुँदैछ । यो बर्ष रिलिज भएका र रिलिज हुन लागेका फिल्मका पोस्टर हेर्ने हो भने पनि निर्माताहरूले नायिकाहरूमाथि बढी विश्वास गरेको देख्न सकिन्छ । 

वैशाखको १४ गतेबाट रिलिजमा आएको फिल्म ‘बोक्सीको घर’मा नायिका केकी अधिकारीको मात्र तस्विर थियो । केकीको तस्विर राखेरै फिल्मले ब्लकबस्टरको व्यापार गर्यो । 

यता, फिल्म ‘मनसरा’को प्रचारमा पनि नायिका मिरुना मगरको सिंगल पोस्टरलाई बिकाइयो । फिल्म आजका दिनमा पनि हलमा चलिरहेको छ । 
असारको ७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दान्भी’को प्रचारमा पनि नायिका पूजा शर्माको तस्विरलाई मात्र प्रयोग गरिएको छ । यो फिल्मको केन्द्रीय भूमिकामा पूजा शर्मा छिन् । पूजालाई ‘लेडी टाइगर’ भन्दै निर्माताले उनीमाथि पूर्ण भरोसा देखाएका छन् । 

साउनको ४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘सतीदेवी’मा नायिका मलिका महत केन्द्रीय भूमिकामा छिन् । मलिकाको मात्र तस्विर राखेर निर्माताले फिल्मको प्रचारलाई अगाडि बढाइरहेका छन् । 

साउनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोदीबेनी’को पोस्टरमा पनि नायिका वर्षा सिवाकोटीलाई मात्र स्थान दिइएको छ । वर्षाको अनुहारमा मात्र पनि फिल्मलाई फाइदा पुग्छ भन्ने विश्वास निर्मातामा देखिन्छ । 

दशैंमा रिलिजमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को पोस्टरमा पनि नायिका स्वस्तिमा खड्कालाई मात्र स्थान दिइयो । स्वस्तिमा एक्लैले दशैंमा आउन लागेका अरु फिल्मलाई चुनौती दिएकी छिन् । 

यसरीहेर्दा, नेपालमा फेरि एकपटक नायिकाको नाममा पनि फिल्म चल्छ भन्ने विश्वास मेकरमा पलाउन थालेको छ । अर्कोतिर, नायिकाहरूलाई नै केन्द्रीय भूमिकामा राखेर फिल्म बनाउने क्रम पनि बढेको छ । यसले, आगामी दिनमा नायिकाहरूको शक्तिशाली भूमिका फिल्म बजारमा बढ्ने देखिएको छ । 

कुनै समय नायकको टाउको मात्र भएपनि पोस्टरमा राख्नुपर्छ भन्ने सोच थियो । अब, विस्तारै यो सोचबाट निर्माताहरू बाहिरिन थालेका छन् । यसले, फिल्ममा नायक मात्र नभएर नायिकाको भूमिका पनि बलियो हुनुपर्छ भन्ने तथ्यलाई स्थापित गर्न थालेको छ ।