स्टार नायकहरुसँग आँचलको जोडी

नायिका आँचल शर्माले फिल्म ‘नाई नभन्नु ल ४’मा अहिलेका स्टार नायक पल शाहसँग जोडी बाँधेर काम गरिन् । पल र आँचलले फिल्म ‘जोनी जेन्टलम्यान र शत्रु गते’मा पनि एकसाथ काम गरे । 

यसपछि भने पल र आँचलको सहकार्य भएको छैन । तर, नेपाली फिल्म क्षेत्रमा स्टार नायकहरूसँग आँचलको सहकार्य तीव्रताका साथ अगाडि बढेको छ । 

आँचलले फिल्म ‘डिग्री माइला’मा नायक दयाहाङ राईसँग काम गरिन् । यो फिल्म सफल हुँदा आँचललाई पनि फाइदा भयो । 

यसपछि, आँचलले नयाँ फिल्म ‘जेरी अन टप’मा काम गर्दैछिन् । यो फिल्ममा उनी नायक अनमोल केसीसँग जोडी बाँधेर काम गर्दैछिन् । आँचल र अनमोलले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । यसैले, पर्दामा यी दुईको जोडी कस्तो देखिने हो भन्ने कौतुहलता आम दर्शकमा छ । 

आँचलले अर्का स्टार नायक प्रदीप खड्कासँग फिल्म ‘पिताम्बर’मा काम गर्दैछिन् । यो फिल्मको छायांकन भदौमा हुँदैछ । आँचलको व्यस्तताका कारण फिल्मको छायांकन भदौमा सारिएको हो । 

अहिलेका व्यस्त ४ स्टार नायकहरुमध्ये कोहीसँग आँचलले काम गरिसकेकी छिन् भने कोहीसँग काम गर्ने तयारीमा छिन् । विशेष श्रोतका अनुसार, आँचलले नायक खगेन्द्र लामिछानेसँग पनि एक फिल्ममा पर्दा शेयर गर्ने तयारी गरेकी छिन् । अर्कातिर, फिल्म ‘दुःखी आत्मा’मा त आँचलले दयासँग फेरि काम गर्दैछिन् । 

थुप्रै नायिकाहरु यी स्टार नायकहरुसँग काम गर्न चाहन्छन् । तर, आँचल भने निरन्तर स्टारहरुकै साथमा काम गरिरहेकी छिन् ।