६ बर्षदेखि पर्दा बाहिर हमाल, मेकरले खेलाउन सकेनन् कि हमालले चाहेनन् ?

नायक राजेश हमाल ६ बर्षदेखि फिल्मको पर्दा बाहिर छन् । हमाललाई यो बीचमा फिल्मको अफर भने नगएको होइन । ‘सत्यम्’ नामक फिल्ममा त उनी काम गर्नका लागि तयार पनि भइसकेका थिए । तर, यो फिल्म बनेन । 

यसपछि, हमाललाई ‘प्रेमगीत ३, एक्टर’ लगायतका फिल्मबाट अफर गयो । तर, पनि उनले काम गरेनन् । आखिर, ६ बर्षदेखि पर्दा बाहिर रहेका हमालले कहिले कमब्याक गर्छन् त ?

यसको जवाफ हमालसँग पनि छैन । अर्कोतिर, उनी पर्दामा कमब्याक गर्नका लागि हतारिएको पनि देखिदैन । राजेश हमाल अब फिल्म क्षेत्रमा केही फरक र उमेर सुहाउँदो भूमिका गर्न चाहन्छन् । यसका लागि विभिन्न टिमसँग सल्लाह भइरहेको उनको तर्क छ । तर, अहिलेसम्म हमालले कुनै पनि फिल्म साइन गरेका छैनन् । 

उसो त नायक हमालले फिल्म निर्देशन गर्ने भनेको पनि लामो समय नै भइसकेको छ । तर, निर्देशनमा पनि उनले आँट गर्न सकेको पाइँदैन । 

नायक हमालले आफू फिल्म क्षेत्रबाट टाढा नभएको बताएका छन् । उनी, फिल्मसँग जोडिएका विभिन्न अवार्ड, महोत्सव लगायतका कार्यक्रममा सहभागी त भइरहेका छन् । 

तर, राजेश हमालले ६ बर्ष पर्दा बाहिर बिताएका छन् । अब, हमालले बदलिँदो परिवेश अनुसार आफूलाई ढाल्नु पर्ने र फिल्ममा काम गर्नुपर्ने तर्क फिल्मीकर्मीको छ । दर्शक पनि उनलाई पर्दामा हेर्नका लागि आतुर छन् । तर, हमालले भने अहिलेसम्म कमब्याक पक्का गरिसकेका छैनन् ।