अमर न्यौपानेको उपन्यास ‘गुलावी उमेर’ लोकार्पण

साहित्यकार अमर न्यौपानेको नयाँ कृति ‘गुलाबी उमेर’ लोकार्पण गरिएको छ । आख्यानकार कृष्ण धरावासी र अभिनेत्री केकी अधिकारीसहित लेखक अमरले शनिबार संयुक्त रुपमा कृति लोकार्पण गरेका हुन् ।

किशोरीको हुर्कंदो उमेरको कथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको उपन्यासमा किशोरीमा देखापर्ने मानसिक तथा शारीरिक परिवर्तन र उतारचढावको कथालाई रमाईलो पारामा प्रस्तुत गरिएको छ । जन्मदेखि १२ वर्षसम्म पल्लवी, १३ देखि १९लाई गुलाबी, २० देखि ४० वर्षसम्म मखमली, ४१ देखि ६० वर्षसम्म बैजनी र ६१ देखि मृत्युपर्यन्तको समय अवधिलाई अस्मानी उमेरका रुपमा लेखक न्यौपानेले उमेरको अवधिलाई पाँच भागमा छुट्याएका छन् ।

चर्चित कृति ‘सेतो धरति’ का लागि मदन पुरस्कार प्राप्त गरिसकेका आख्यानकारका लागी ‘गुलाबी उमेर’ चुनौतिका रुपमा उभिएको छ । गम्भिर विषयलाई पनि अत्यन्त सरल तरिकाले अक्षरहरुमा उन्न सक्ने न्यौपानेका लागी यो नौलो अभ्यास हो । पुस्तक बिमोचनमा उनका प्रशंसकहरुको लर्को लागेको थियो । सुरुवाति चरणमा ‘गुलाबी उमेर’ले निकै राम्रो प्रतिक्रिया पाईरहेको छ ।