पहिलो चुम्बन (भाग – २)

दिनहरु त्यसरी नै बित्दै थिए । दारे संग धेरै नजिक भैसकेकी थिएँ म । बाहुन मोरो सारै मन पर्थ्यो मलाई । फेसबुकमा पनि एड भएका थियौ । फोन नम्बर पनि साटिसकेका थियौ ।

आमालाई यो कुराको बारेमा केही भनेकी थिईनॅ । आमाले पिर मान्थिन् ।

काममा जाने आउने त्यस्तै थियो । दारेको घर दाङमा रै’छ । घरको जेठो छोरो रै’छ । घरमा बाबा आमा र एउटा भाइ रैछन् । ईन्जिनियरिङ पढ्दै थियो उ । अर्को उ सँग भएको चै साथी रे !

दारे मलाई मन पर्थ्यो तर त्यो माया थियो कि आकर्षण मलाई थाहा थिएन । उ पनि सारै केयर गर्थ्यो मेरो । मैले खासै ख्याल राख्दिन थिएँ । उ नजिक हुँदा, बोल्दा खुशी लाग्थ्यो, रमाइलो लाग्थ्यो । भाउजुले जिस्काउथिन – ‘दारेको बुढी’ भनेर ।

एक दिन बिहानै दारेले फोन गर्यो – ‘म घर जान ला’को आफ्नो ख्याल राख है’ भनेर । म अचम्म परें – ‘एकाबिहानै किन जाने’ भनेर सोधे । उसले भन्यो – ‘आमालाई सन्चो छैन रे तेई भर’ । मैले ‘ल राम्ररी जाउ भने’ । उ निस्किन लाग्दा ‘बाहिर आउ न तिमिलाई हेरेर जान्छु’ भन्यो । मलाई चै नाटक झै लाग्यो त्यहि नि बाहिर निस्किएँ । मेरो छेउ मै आयो उ, मेरो निधारमा चुम्बन गर्यो र ‘ख्याल गर आफ्नो’ भनेर उ गयो । उसको ओठको स्पर्शले मलाई अर्कै खालको अनुभुती भयो । कता कता माया लागेर आयो दारेको । अघि सम्म उ घर जाने कुराले खासै केही फरक नपरेको मलाई अब भने उसलाई रोकुम जस्तो लाग्यो । बिहानको ४:३० मात्र भएको थियो । कोहि उठेका थिएनन । मैले चारै तिर आँखा डुलाएर हेरे । भित्र कोठामा आएर ऎना हेरे । मोराले लिपकेयर लाएको रैछ, ओठको छाप टलक्कै देखे । मुख पनि धुन मन लाएन । फोटो खिचें । निन्द्रा पुरै खुलिसकेको थियो ।

एक छिन पछि उसलाई फोन गरें । ‘कहाँ पुग्यौ ?’ भनेर सोधे अनि ‘पुगेसी फोन गर’ भनेर फोन राखे । भात पकाएर खाईवरी काममा निस्कें । अफिस पुग्नै ला’को थिएँ, फोन बज्यो । दारेको रै’छ । मोराको नाम नै दारे भनेर सेब गरेकी थिएँ मैले । फोन उठाएँ,  ‘हिड्यौ तिमी ?’ उसले हेल्लो पनि नभनी सोध्यो । मैले ‘अॅ निस्किएँ भनें’ । ‘म घर पुगें खाना खान ला’को’ उसले भन्यो । मैले ‘हस्’ भनें । बेलुका कुरा गर्ने सहमतिमा फोन राख्यौ ।

अफिस पुगे पछि पनि मन उ तिरै गयो । कैले घर गएर बोलुम जस्तो भयो । उसले देखाएको आत्मियताले मन उसकै भयो । आजबाट माया वाला फिलिङ्स आउन थाल्यो । दिनको काम सकेर घर फर्किएँ । खाजा पनि स्कुल मै खाएकोले अघाएकि थिएँ । रुम पुग्ने बित्तिकै फोन गरें । उसले उठाएन । फेरि गरें फेरि पनि उठेन । मन उदास भयो । आमालाई फोन गरेर एकछिन कुरा गरें, मन अलिकति हल्का भयो । आमा सँग बोली भ्याएर खाटमा पल्टिएँ । आँखाभरी उसले मेरो टाउकोमा समातेर निधार चुमेको झलकहरु मात्र घुमिरहे ।

धेरै बेर उसको फोन कुरेर बसें । त्यतिकैमा निदाएछु । अचानक फोनको घण्टीले आँखा खुल्यो । आत्तिदै उठाएँ । कसको फोन हो हेर्न पनि भ्याईन । दारेको आवाजले आँखा र कान दुबै टाठा भए । उसले मलाई डल्लु भन्थ्यो । खासै होची त थिईन तर उ भन्दा चै होची नै थिएँ त्यहि भएर डल्लु भन्थ्यो ।

उ – डल्लु !

म – छुच्चो बाहुन, अघि किन फोन नउठाको ?

उ – बाहिर थिएँ आमा सँग, फोन भित्र थियो ।

म – आमालाई कस्तो छ ?

उ – अहिले त ठिक भ’को रै’छ । मेरो एक्जामले गर्दा अस्तिनै आउन पाईन ।

म – ठिक भए त भयो नि ।

………..

यसरी नै कुरा चलिरह्यो । उसको ब्यालेन्स सकियो । अनि मैले फोन गरे । कुरै कुरामा उसले सोध्यो- ‘बिहान मैले तिमिलाई किस गर्दा तिमिलाई नराम्रो त लागेन’नी ?’ म स्तब्ध भएँ । म केही बोलिन, मनमा भने जवाफ आई हाल्यो – ‘रिस उठेन माया लाग्यो’ । तर मुखले बोल्न सकिन । सायद उसले मेरो, मनको कुरा बुझ्यो । ‘तिम्रो माया लाग्न थालेको छ आजकल । केही दिनको लागि छोडेर आउन पर्दा मन खल्लो भयो अनि माया गरेर आको, टाइमपास चै होइन यति बुझ’ मलिनो आवाजमा उसले भन्यो । मन बाटै तातो भएर आयो । आँखा भरी आँसु भए । त्यतिकैमा मेरो मोबाईलको ब्यालेन्स पनि सकियो । अब खाना खाएर म्यासेन्जरमा बोलौला भनेर फोन राख्यौ ।

खाना पकाउने जाँगर चलेन, एउटा चाउचाउ पकाएँ, बिहानको तरकारी पनि थियो, त्यसै सँग खाएँ । अलिअली जुठो भाँडाहरु थिए, त्यो माझेर फेसबुक खोलें । दारे मोरो पहिले बाटै अनलाइन रैछ । कुन चै फ्याउरीसँग गफ गर्दैछ भनेर रिस उठेर आयो । इनबक्समा एउटा म्यासेज आको रै’छ कस्को भनेर हेरें, दारेको रैछ । ‘डल्लु धेरै नखाउ,  झन डल्ली हौली’ उसले यहि मेसेज पठाएको रै’छ । देखेर हाँसे । कुरा गर्न थाल्यौ, समय बितेको पत्तै पाईएन । बोल्दा बोल्दै कतिबेला निदायौ थाहा पाईन ।

भोलिपल्ट बिहान उसैको फोनले ब्युझायो । राती म निदाएको कुरा गर्यौ । एकछिन बोलेर फोन राख्यौ । उ आफ्नो घरमा हुँदा सम्म दिन र रात यसरी नै बित्दै थिए । उ आउने प्रतीक्षामा म दिन गन्दै थिएँ । उ गएको पनि एक हप्ता भैसकेको थियो । यो सात दिनमा माया झनै गरिएको थियो ।

एकदिन सधै झै म काम बाट घर फर्किएकि थिए । एकछिन पछि मेरो ढोकामा ढकढक भयो । ढोका खोलें । दारे आईसकेको रै’छ । ‘डल्लु…’ दारा देखाउदै हाँस्दै भन्यो । म खुशीले चिच्याएँ र उसलाई अॅगाले । मैले उसलाई अॅगालेकी थिएँ, ढोका उसैले बन्द गर्यो । अनि उसले पनि आफ्नो अॅगालोमा बेस्सरी कस्यो । ‘कैले आ’को’ मैले अॅगालोमै बाँधिएर उसको मुहारमा हेरेर सोधें । ‘एक छिन अगी’ उसले टाउको निहुराएर मेरो आँखामा हेर्दै भन्यो । ‘नभनी आ’को ?’ रिसाएझै गरें । ‘तिमिलाई सरप्राइज दे’को’ मेरो ओठमा उसको औलाले छुदै दारा देखाउदै भन्यो । उसका औलाले ओठ छुदा मेरा आँखा आफै बन्द भए । उसको औला रोकियो मेरा आँखाहरु खुले । आँखा अगाडि उसको दारा देखिएका दाँतहरु थिए । केही सोचिन, खुट्टाका कुर्कुचा अलिकति उठाए अनि उसको ओठमा आफ्नो ओठले स्पर्श गरें । उसले केही भनेन । उसको घाँटीमा मेरा हातहरु अडिएका थिए, उसको हातले मेरो कम्मरमा कसेको थियो । उसले मलाई केही सजिलो बनाउदै आफू पनि झुक्यो ।

अनि जीवनको पहिलो चुम्बनको अनुभव गरें मैले ।

मौनता थियो, मात्र हामी दुईको तातो सासको आहट सुनिएको थियो ।

त्यतिकैमा ….

 

बाँकी अर्को भागमा ….