चम्किन नपाउँदै किन अलमलमा छन् प्रदिप ?

प्रेमगीत फिल्मले अभिनेता प्रदिप खड्कालाई उदयमान बनायो । स्केप फिल्म आफैले बनाएर डुबाउँदा तड्पिएका खड्कालाई प्रेमगीतले संजिवनी बुटी भरिदियो ।

प्रदिप खड्काले नेपाली फिल्ममा आफूलाई नम्बर २ स्थानमा राखिसकेका थिए । फिल्म कृका लागि अभिनेता अनमोल केसीले २ बर्ष ब्रेक लिदा अभिनेता प्रदिप खड्कालाई यूवा फ्यानलाई आफूतिर तानेका थिए । ती यूवा फ्यान फेरि अनमोलको साथमै फर्किहाल्ने अवस्था थिएन । किनकी, प्रेमगीत २ मा पनि प्रदिपलाई फ्यानले मन पराएका थिए ।

अभिनेता खड्काका फ्यान लिलिलिबीमा पनि सम्हालिए । नेपालमा अभिनेता अनमोललाई टक्कर दिने एउटै हिरो बनेका थिए, प्रदिप । प्रदिपको यो फुलेको क्रेजले पैसाको हिसाबमा पनि माग गर्न थालेको थियो ।

रोज फिल्म खै उनले किन रोजे ? अहिले हेर्दा प्रदिपका लागि रोजको रोजाई गलत साबित भएको हो भनेर जसले पनि भन्न सक्छ ।

अभिनेता खड्कालाई रोजमा असफल देख्दा पनि फ्यान भड्किएका थिएनन् । उनलाई फिल्ममा नयाँ काम गर्न नसकेको आरोप त खेप्नु परेको थियो । तर, उनलाई दर्शकले नपत्याएको भने थिएनन् ।

लभ स्टेशन फिल्मबाट ठूलो आशा राखेर बसेका प्रदिपलाई फिल्म चोरिएको बिषयमा जानकार थियो या  थिएन, उनले मुख खोलिदिए भने राम्रो हुन्थ्यो । तर, फिल्मको एउटा दृश्य चोरिएको बेलामा प्रदिपले यसलाई ठूलो कुरा नमान्न पनि आग्रह गरेका थिए । उनलाई, फिल्मको कथा चोरिएको थाहा थिएन भन्ने उनको सालिन अनुहारले पनि बताएको थियो ।

तर, फिल्म रिलिज भएको दिनमै टर्कीका २ फिल्मबाट हुबहु चोरिएको थाहा भएपछि प्रदिप खड्का छागाबाट खसेका थिए । किनकी, उनी एउटा दृश्य मात्र चोरिएको सोचमा थिए । तर, निर्देशक उज्ज्वल घिमिरेले यदि प्रदिपलाई चोरिएको बिषयमा कुनै पनि कुरा थाहा नदिएका हुन् भने यो उनको प्रदिप र फिल्मका निर्माता माथिको ठूलो घात हो ।

रोजबाट भड्किएका फ्यान लभ स्टेशन पुरै चोरिएको हो भन्ने थाहा पाएपछि तितरबितर भएका छन् । नम्बर २ स्थानमा राम्रोसँग जमेर बसेका प्रदिपले अभिनेता अनमोल केसीलाई टक्कर दिएका थिए । अब, भने उनलाई नम्बर २ स्थान नै जोगाउन मुश्किल भैसकेको छ ।

फिल्म चलेको दिनमा आफू निकट केही व्यक्तिहरुसँग पुगेर निर्देशकले आफ्नो क्यारिअर नै बर्बाद बनाइदिएको भन्दै प्रदिप खड्का भावुक भएको भन्ने सुन्नमा आएको छ । प्रदिप आफू अब सम्हालिन समय लाग्छ भन्नेमा ढुक्क छन् ।

प्रदिपले जुन फिल्म खेल्यो त्यही फिल्मका निर्देशकसँग सम्बन्ध बिगारेका छन् । यसैले पनि उनलाई कसैको ढाडस पाउन अहिले समस्या छ । प्रदिपले हार्न हुँदैन भन्ने भन्दा पनि जित्न हुँदैन भन्ने सोच उनको वरिपरी हाबी छ । यो उनले सम्बन्ध जोगाउन नसक्दा आएको अवस्था हो ।

लभ स्टेशन असफल भैरहेको बेलामा अभिनेता अनमोलको ए मेरो हजुर ३  ले ती फ्यानलाई हलमा तान्यो, जसले प्रदिप खड्कामाथि विश्वास गर्न थालिसकेका थिए । प्रदिपलाई अब आफ्ना कट्टर फ्यान नै जोगाउनुपर्ने समस्या आइलागेको छ ।

यदि, फिल्म चोरिएको बिषयमा प्रदिपलाई जानकारी नै थिएन भने, उनले यो कुरामा मुख खोल्न आवश्यक छ । किनकी, यो फिल्मले उनको अगाडि गैरहेको करिअरलाई पछाडि धकेलिदिएको छ, जुनलाई बनाउन उनले गरेको मेहेनत उनलाई नै थाहा छ होला ।

प्रदिप खड्का नेपाली फिल्मका आशा लाग्दा हिरो हुन् । तर, दर्शकले मन पराएका, विश्वासले काँधमा बोकेका हिरो वा हिरोइनले विश्वास टुटाए भने फर्काउन समस्या पर्छ । प्रदिपले प्रेमगीत ३ फिल्म मात्र गर्ने अरु नगर्ने भनेर बसेका छन् । किनकी, उनी यो फ्रेन्चाइजले नै आफूलाई पुरानो अवस्थामा फर्काउँछ भन्ने कुरामा आशा लिएर बसेका छन् ।