प्रदिपको समाजसेवा फिल्म पछि पनि रहला ?

नेपाली फिल्मका कलाकारको समाजसेवा क्यामेराको अघि मात्र हो । रत्नपार्कमा गएर कुँचो समाएर फोटो खिचाउने कलाकार पनि यही देशमा नै छन् । एउटा चाउचाउ दिएर फोटो खिचाउने कलाकार पनि यही देशमा नै छन् ।

समाजसेवा गर्नका लागि हल्ला गर्नु पर्दैन भनिन्छ । तर, जसले हल्ला गरेर, मिडियाबाजी गरेर २–४ रुपैयाँ सहयोग गर्छ, त्यो सहयोगलाई प्रचारबाजी भन्ने कि समाजसेवा ?

अभिनेता प्रदिप खड्का अहिले समाजसेवामा अग्रसर नै छन् । कहिले दुबै हात गुमाएकी मेघालाई उनी सहयोग गर्न पुग्छन् त कहिले विद्यार्थी पढाइदिने भन्दै सहयोग गर्न पुग्छन् ।

हुनत, अहिले कलाकारले गर्ने समाजसेवा धेरैजसो अरुबाट रकम उठाएर गर्ने हो । आफ्नै गोजीबाट त कलाकारले रकम निकालेको कम सुनिन्छ ।

प्रदिप खड्काले गरिरहेको कामलाई नराम्रो भन्न मिल्दैन । तर, के यो उनको समाजसेवा फिल्म रिलिजपछि पनि रहला त ? फिल्म रिलिजको समयमा समाजसेवा गर्दा दर्शकमा सकारात्मक प्रभाव पर्छ भनेर पनि धेरै कलाकार यस्तो गर्छन् ।
फिल्म चलेपछि गुपचुप नै रहने, चल्ने बेलामा यस्तो हतकन्डा अपनाउने रोग नयाँ होइन ।

फेरि, समाजसेवा नै गर्नुछ भने हल्ला किन गर्नुपर्यो ? हामीले बुझ्न नसक्या कि कलाकारले ?