Joy Ads

मेरो अनुहार नेपाली अनुहार नै होइन भन्नेहरु पनि छन् – अभिनेता प्रमोद अग्रहरी

- मेराेफिल्म

२०१२ बाट आफ्नो फिल्मी करियर सुरु गरेका अभिनेता प्रमोद अग्रहरी पछिल्लो समय फिल्म ‘कथा काठमाण्डु’को प्रोमोसनमा ब्यस्त छन् । फिल्म ‘उमा’ बाट डेब्यु गरेका उनले ६ बर्षे फिल्मी करियरमा करिब एक दर्जन फिल्ममा अभिनय गरिसकेका छन् । उनै अभिनेता अग्रहरीसँग फिल्मी करियर र फिल्म कथा काठमाण्डुसँग आधारित रहेर गरिएको कुराकानी : धेरै फिल्ममा अभिनय गरिसक्नु भएको छ । आजभोली जस्तो प्रमोदको चर्चा हिजो अस्ती किन भएन होला ?
पब्लिसिटीको हिसाबले तपाईले भन्नु भएको कुरा मान्न सकिन्छ । थियो होला ममा केही कमी कमजोरीहरु । त्यही कमी कमजोरीहरुबाट नै सिक्ने हो । फेरी अर्काे तिर हेर्ने हो भने ‘उमा’ मेरो डेब्यू फिल्म हो । उमादेखि कथा काठमाण्डुसम्म आईपुग्दा मेरो क्यारेक्टरलाई सबैले रुचाएकै छन् ।

चाहे त्यो उमाको बिभिदको कुरा गरौँ, या तान्डबको रविको कुरा गरौँ, या छक्का पञ्जाको बाबाको कुरा गरौँ । झन् छक्का पञ्जामा मैले गरेको बाबाको क्यारेक्टर त्यतिबेला देखि अहिलेसम्म पनि हिट नै छ । मैले धेरै मान्छेहरु भेटे जसले मेरो त्यो डाईलग बोलिरहन्थे । तर पब्लिसिटीको बेला फिल्मका हिरो हिराईनहरुलाई मात्र प्रमोट गरिन्छ अरु एक्टरहरुलाई त्यती ध्यान दिइदैन जस्तो लाग्छ । जबकी मैले गरेको क्यारेक्टर फिल्मको एउटा लिड क्यारेक्टर सरह नै हुन्थ्यो । तर यो खालको प्रोमोसन कहिले पनि भएन । कथा काठमाण्डु निर्माण टिमले मलाई र मेरो क्यारेक्टरलाई प्रमोट गरिरहनुभएको छ । सायद त्यसैले होला आज यति धेरै चर्चा भईरहेको छ ।

कथा काठमाण्डुले प्रमोदको फिल्मी करियरमा कस्तो भुमिका खेल्छ ?
हरेक फिल्म मेरो करियरको लागि महत्वपुर्ण छन् । यो क्षेत्रमा आएको ६ बर्ष भयो । ६ बर्षमा मैले अभिनय गरेको लगभग १०-१२ वटा फिल्म रिलिज भइसके । त्यसका साथै सिंहदरबार सिरियल पार्ट १ र पार्ट २ पनि भयो । यो सबै चिजले मेरो करियरलाई अपडेट गरिरहेकै छ जस्तो लाग्छ । पक्कै त्यसमा कथा काठमाण्डुले पनि एउटा ईटा थप्ने काम गरेको छ । तर अझै कथा काठमाण्डुले जसले प्रमोदलाई चिनेको थिएन वा देखेको थिएन उनीहरुलाई झन नजिक बनाइदियो । म खुशी छु ।

कथा काठमाण्डुको इन्ड क्ल्याप सम्म आइपुग्दा तपाईले बुझेको नेपाली फिल्म के रहेछ ?
मैले नोभेम्बर १, २०१२ मा पहिलो पटक क्यामरा फेस गरेको थिएँ । सुरुमा आउँदा डर थियो । अहिले पनि त्यहि डर छ ममा । मलाई सम्झना छ, म, सौगात मल्ल, मिथिला दिदी, ऋचा जी लगायत हामी खपासेमा थियौँ । छिरिङ दाईको त्यो एक्सन शब्द, पुरोषत्तम प्रधान दाईको रोलिङ क्यामारा त्यही सुनेर सुरु भएको हो मेरो फिल्मी करियर ।

अझैपनि मैले चाहेको क्यारेक्टरहरु आएको छैन, मैले पाएको छैन,  मलाई सुहाउँदो क्यारेक्टर लेखिएका छैनन् जस्तो लाग्छ । त्यही नलेखिएको क्यारेक्टरको पर्खाई छ मलाई । धेरै तल माथि पनि भयो, कहिले काहीँ यहाँ मेरो कुनै काम छैन जस्तो पनि लाग्थ्यो । तर मलाई साथ दिने साथीहरु जस्तै सौगात, प्रबिन, मनोज दाई, डाइरेक्टरहरुको हौसलाले नै म कथा काठमाण्डुसम्म आईपुगेको हुँ । यो अवधीमा फिल्म क्षेत्रको निकै विकास भइसकेको छ, प्रविधि देखि कलाकार सम्म । फिल्ममा गरिने लगानी देखि निर्माणको क्रम बढेर गएको छ । हामी सम्पूर्णको लागि यो राम्रो कुरा हो  ।

क्यारेक्टर रोल धेरै गर्नु भएको छ । लिड हिरो बनौँ भन्ने कहिले लागेन ?
म यो भाषा नै बुज्दिन । हिरो, भिलेन ब्ला ब्ला । म आफुलाई एउटा कलाकार भन्न रुचाउँछुु । थाहा छैन त्यो शब्दको लायक म छु या छैन । किनभने यो फिल्डमा होल लाईफ नै स्ट्रगलमा बित्छ । हामीले अहिलेको फिल्म मेकिङलाई हेर्ने हो भने विश्वभर क्यारेक्टर बेशमा फिल्म निर्माण बढी भएको पाउँछौ । जहाँ कुनै हिरो या हिरोईन भन्ने कुरा नै हुदैन । जस्ट एक्टर, एक्ट्रेस, कलाकार भन्ने शब्दहरु हुन्छ । र मलाई यी शब्दहरु मन पर्छ । त्यसैले पनि मैले हिरो भन्ने शब्दले सम्बोधन गरियोस् भनेर कहिले पनि चाहिन र चाहँदिन पनि । मलाई कलाकार भनेकै ठिक छ ।
प्रियंकासँगको इन्टिमेट सिनले दिएको चर्चा पिडादायी छ कि खुशी हुनुहुन्छ ? तपाईले चाहेको चर्चा अर्काे थियो की ?
जसरी गीतको भिडीयो आउट भयो तुरुन्तै मान्छेहरुले रिएक्ट गर्न थाले । मलाई लाग्छ यो नबुझेर हो । गीतको कथाले बोकेको भाव भन्दा पनि भिडियोमा देखाइएको सिनले भिडियोले दिन खोजेको म्यासेज दर्शकले बुझ्नु भएन होला सायद । दर्शकहरुले झट्ट हेर्दाखेरी अलि पचाउन नसकेको हुनसक्छ ।

फेरी त्यो चाँही नेपाली फिल्म र नेपाली एक्टरहरु प्रति एउटा कन्सर्न पनि हो जस्तो लाग्छ । उहाँहरुले दिनुभएको माया हो । कतै नेपाली एक्टरहरुले बाटो बिराउने पो होकी भन्ने पनि हुन सक्छ । त्यसको लागि म उहाँहरुप्रति आभारी पनि छु । तर कलाकार भईसकेपछि समाजप्रति हाम्रो आफ्नो एउटा दायित्व बहन गर्न सक्नुपर्छ । किनभने फिल्म भनेको समाजको ऐन हो । यदी हाम्रो कामले समाजमा केही राम्रो म्यासेज जान्छ भने व्हाई नट भनेर गरेका हौँ त्यो सिन पनि । त्यसको असर भने हामीले सोचेको भन्दा उल्टो जस्तै भइदियो । तर पछि ट्रेलर सार्वजनिक भएपछि एकदमै राम्रो कमेन्टहरु आईरहेको देख्छु । त्यसैले यि कुराहरुले म खुशी नै छु । सुरुमा त पिडा नै भएको थियो ।

मिडीयाले जुन हिसावमा उक्त भिडियोलाई प्रेजेन्ट गरिदियो, मिडीया प्रति केही गुनासो छ ?
मिडीया प्रति केही गुनासो छैन । किनभने जसलाई जसरी रिएक्ट गर्नुपर्ने थियो उहाँहरुले गर्नुभयो । मेन कुरा टाईटल हो । जस्तो कथा काठमाण्डुको गीत सार्वजनिक भन्नु र प्रमोद र प्रियंकाको अन्तरङ्ग दृष्य भनिदिनुमा धेरै फरक पर्छ । प्रमोद र प्रियंकाको अन्तरङ्ग दृष्य भन्दा मान्छेको नजर त्यहाँ जान्छ र उसले तुरुन्तै हेर्न थालिहाल्छ । सायद भिउज पाउनका लागि पनि यस्ता टाईटलहरु रचिन्छ कहिले काहीँ । त्यसमा मलाई केही भन्नु छैन । मलाई थाहा छैन म गलत पनि हुन सक्छु, यदि गलत छु भने सबै मिडीया साथीहरुसँग माफी माग्छु ।

कथा काठमाण्डुमा काठमाडौँ भित्रका क्लबहरुमा चलिरहेको सेक्स बिजनेस समाबेश भएको छ भनिन्छ । सार्वजनिक गीत र ट्रेलरले पनि कहीँ कतै त्यो कुरा ब्यक्त गरेको छ । भोली कतैबाट यसको बिरोध आयो भने ?
होईन म कसैलाई पनि इन्डिकेट गर्न चाहन्न । चाहे त्यो क्लब होस या रेस्टुरेन्ट । यो हाम्रो समाजको यथार्थ कथा हो । जुन कथालाई हामीले उठाएर फिल्ममा देखाउन खोजेका छौँ । जो जहाँ हुनुहुन्छ उहाँहरु आफ्नो तरिकाले काम गर्दै हुनुहुन्छ । हामीलाई पिडा कहाँ छ भने यहाँ ठूलो शहरमा मात्र अपरचुनिटी पाईन्छ ।

एसएलसी सक्यो काठमाडौँ पढ्न आउनु पर्छ, चोट लाग्यो काठमाडौँ, पैसा कमाउनु छ काठमाडौँ । यि चिजहरु हाम्रो स्थानीय तहमा नै उपलब्ध भएको भए सायद यस्तो हुदैन थियो होला । हुन्छ के त ? हामी पढ्न त आयौँ, अपरचुनिटीको फाईदा लिन त आयौँ कुनै पनि चिजमा होस् या कुनै पनि सेक्टरमा तर त्यो चक्करमा हामी थाहै नपाईकन फसिरहेका हुन्छौँ । हामी उज्यालो खोज्न आउँछौ तर अध्यारोमा पर्छौँ ।

त्यो न बुवालाई थाहा हुन्छ न आमा, दाई, भाई कसैलाई पनि थाहा हुदैन । त्यो सेयर गर्ने आँट नै आउदैन । उहाँहरुलाई त्यो अध्यारोबाट उज्यालोमा ल्याउने काम चाहीँ कसले गर्ने त ? त्यही दाजुभाई, दिदीबहिनी, आमाबुवाको जिम्मेवारी हो । र एटलिस्ट कथा काठमाण्डुले यो म्यासेज गाउँ, समाज, देशमा पुर्यायो भने अलर्ट त हुन्छ नि त । कमसेकम दुईचार जना त सेफ हुन्छन् होला नि त ? कथा काठमाण्डुको मोटिभ त्यही हो । त्यसैले मलाई कसैलाई पनि पर्टिकुलर्ली इन्डिकेट गर्नु छैन ।

प्रादेशिक हिसाबमा कलाकारलाई विवेध गरिन्छ भनिन्छ, यहाँँले त्यस्तो केही महशुस गर्नु भएको छ कि ?
त्यस्तो त कति हो कति । नेपालमा मात्र होइन, मुम्बईमा पनि त्यस्तै छ । भाषाका कारण होस् या लुक्सको कारण विवेध गरेको देखिन्छ । नेपाल कै कुरा गरौँ न । अब हामी तराईको मान्छे हामी काठमाडौँ आयौँ भने यो त तराईको मान्छे हो, कतिपयले भन्दा भन्दै इन्डियन धोती भन्ने सम्मका शब्दहरु उच्चारण गर्नु हुन्छ जस्तो लाग्छ मलाई ।

यहाँसम्म की प्रमोद अग्रहरीको अनुहार नेपाली अनुहार नै होइन भन्नेहरु पनि छन् । म नेपाल मै जन्मेको परासीमा, वंशजको नागरिकता छ मसँग । अब के म नेपाली हुँ भनेर चिनाउन नागरिकता निधारमा टाँसेर हिँड्नु ? तर ठिकै छ । मान्छेको आ-आफ्नो सोच हो । म मेरो कर्म गर्दै जाने हो । गरिरहेको पनि छु त्यसैकारण पनि आज यो ठाउँमा आइपुगेको छु । बिस्तारै हामीमा भएको त्यो मानसिकता परिवर्तन हुनेछ भन्नेमा आशावादी छु ।

अन्तिममा
म त त्यही भन्छु फिल्म असोज १२ गते रिलिज हुँदैछ । जसलाई जसरी सजिलो हुन्छ फिल्म हेर्न गईदिनुहोस् । हेर्नैपर्ने फिल्म हो । सायद तपाईहरुले सोचेको ईमेज भन्दा माथि बनेको होला या नहोला । मेरो परफरमेन्स त्यो लेबलमा पुगेको छ या छैन तपाईहरुले नै मुल्यङ्कन गर्ने हो । तर जे स्टोरी हामीले देखाउन खोजेका छौँ, त्यो स्टोरीको लागि भएपनि तपाईहरु फिल्म हेर्न गईदिनुहोस् ।

फिल्ममा तिनवटा भिन्नभिन्न स्टोरी छन् । जुन मेरो पार्टमा छ त्यसले निकै राम्रो म्यासेज छोड्ने छ । मलाई एउटा थप्न मन लागेको कुरा के हो भने त्यो इन्टिमेट सिनहरुले परिवारसँग बसेर फिल्म हेर्न नसकिने भन्ने गलत कुराहरु बाहिर आएको छ ।  तर म भन्छु यो फिल्म सबैको हो । तपाईको पनि हो मेरो पनि हो, आमा, बुवा, तराईमा बस्ने, हिमालमा बस्ने, पहाडमा बस्ने सबैको हो । त्यसैले जसलाई जसरी हुन्छ अप्ठ्यारो नहुनेगरी यो फिल्म हेर्नैपर्छ ।

२०७५ भदौ २९ गते ८:०० मा प्रकाशित
Royal Education

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate