६वटुकको स्वस्ति वाचन सहित ‘प्रतिनाद सांगीतिक साझ’

आईतबार साझ राजधानीको राष्ट्रिय नाचघरमा राष्ट्रिय गीतको धुन संगै सुरु भएको कार्यक्रममा ६ बटुक स्टेजमा देखा परेर सबैको ध्यान खिचियो । बटुकहरुले स्वस्ति वाचन गर्दा हल सम्पुर्ण रुपमा मन्त्रमुग्ध बनेर सुनिरह्यो । यो दृष्य हो गीतकार डी.आर. उपाध्यायका एल्वम तथा उपन्यास विमोचन समारोहको ।

स्वस्ति वाचन भने उपन्यास र गीति एल्वमकै लागि भनेर गरिएको होईन । कार्यक्रमको प्रमुख अतिथि सय वर्षिय राष्ट्रिकवि माधव प्रसाद घिमिरेको दिर्घायुको कामना सहित स्वस्ति वाचन गरिएको थियो । घिमिरेका गीत, कविता तथा सम्पूर्ण सिर्जनाबाट प्रेरित गीतकार उपाध्यायले घिमिरेलाई सम्मान तथा अभिनन्दन समेत गरेका थिए । उनले व्यक्तिगत रुपमा ५१ हजार सहित दोसल्ला तथा मालाले घिमिरेको सम्मान गरे । सोही समारोहमा राष्टकवि घिमिरेले उपाध्यायका ७ एल्वम तथा एक उपन्यास सार्वजनिक गरे । एकै पटक ७ एल्वम सार्वजनिक गर्ने पहिलो व्यक्ति सम्भवत गीतकार उपाध्याय नै हुन् । यो कामको विश्व रेकर्डका लागि पनि पहल थालिने भएको छ ।

उक्त समारोहमा जखम, माउन्टेन मेलोडी, नसालु नजर, जोहो, अन्तराप, प्रतिनाद र सहेली एल्वम तथा दगाबाज उपन्यास सार्वजनिक गरिएको हो । सार्वजनिक एल्वममा बुलु मुकारुंग, सन्तोष श्रेष्ठ र सागर अधिकारीले संगीत गरेका छन् । एल्वममा एक दर्जन बढी गायक गायिकाहरुले स्वर भरेका छन् । ‘प्रतिनाद सांगीतिक साझ’ नाम दिईएको उक्त विमोचन कार्यक्रममा संगीतकार राजु सिंहको अगुवाईमा प्रत्यक्ष बाद्यबादन सहित ११ वटा गीत लाईभ प्रस्तुत गरिएको थियो । ३ वटा म्युजिक भिडियो पनि देखाइएको थियो । डी.आरका गीत सुन्दा उनी बहुआयमिक देखिन्छन् ।