प्रियंकाको दुई फिल्म एकै दिन

रियल मोसन पिक्चर्स प्रालीको ब्यानरमा सञ्जय न्यौपानेको निर्माण तथा योगेश घिमिरेको निर्देशन रहेको फिल्म ‘प्रेम दिवस’को रिलिज डेट फाइनल भएको छ । प्रियंका कार्की, आयुष्मन देशराज जोशी, नव-नायक विशाल खरेल लगायतको मुख्य भूमिका रहेको फिल्म आगामी बर्ष ७६को बैशाख १३ गते देखी प्रदर्शनमा आउने पक्का भएको हो ।

प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा महाराजा थापा, महेश खड्का, बसन्त सापकोटा, करण सिंह कार्की र दीपक शर्माको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, रोशन श्रेष्ठले द्वन्द्व निर्देशन, बनिष शाहको सम्पादन रहेको छ ।

फिल्ममा म्युजिकल लभ स्टोरी समेटिएको छ । ‘प्रेम दिवस’ टाइटलले पनि धेरै कुरा ब्यक्त गर्छ होला तर मायाको परिभाषा एकै छैन । ब्यक्ती अनुसार फरक हुन सक्छ । मायाको रुप र रङ्ग आम बुझाईमा जे छ त्यो भन्दा केही फरक तरिकाले प्रस्तुत गर्ने प्रयाश गरेका छौँ’, निर्देशक घिमिरेले भने । हाल पोस्ट प्रोडक्सनमा रहेको फिल्मको पहिलो गीत छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको समेत निर्देशक घिमिरेले बताएका छन् ।

यही डेटमा महसंचारको ब्यानरमा निर्माण भइरहेको फिल्म ‘दाल भात तरकारी’ समेत प्रदर्शनमा आउने छ जसमा नायिका प्रियंका कार्की समेत मुख्य भूमिकामा छिन् । अब प्रियंकाकै दुई फिल्म एकै दिन प्रदर्शन हुन्छन् या हुँदैनन् त्यो भने प्रतीक्षाको विषय बनेको छ ।