प्रियालाई सिल्भर मेडल

मिस अर्थ नेपाल बिजेता प्रिया सिग्देलले मिस अर्थमा पहिलो मेडल जितेकी छिन् । अक्टोवर ६ तारिक देखि फिलिपिन्सको मनिलामा सुरु भएको मिस अर्थ प्रतियोगिताको विभिन्न प्रि प्याजेन्ट एक्टिभिटी अन्तर्गत ट्यालेन्ट कम्पिटिसनमा प्रियाले सिल्भर मेडल जितेकी हुन् ।

फाइनलका लागि ८८ देशका सहभागीहरुसंग प्रियाले प्रतिस्पर्धा गर्ने छिन् । उक्त प्रतियोगिताको फाइनल मल अफ एसिया अरिनामा नोभेम्बर ३ तारिखमा हुँदैछ । प्रतियोगिता अन्तर्गत मिस अर्थ ट्यालेन्ट कम्पिटिसन सम्पन्न भएको हो । जसमा मिस नेपाल २०१८ मा मिस अर्थको उपाधी जितेर नेपालको प्रतिनिधित्व गर्दै मनिला पुगेकी प्रिया सिग्देलले सिल्भर मेडल हात पार्न सफल भइन् ।

बिहीबार भएको फायर ग्रुपको ट्यालेन्ट कम्पिटिसनमा प्रियाले परम्परागत नेपाली पहिरनमा दीपक बज्राचार्यको ‘मन मगन’ गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । प्रियाले स्पोन्सर्स अवार्ड अन्तर्गत डिभी बोयर फार्म एम्बेस्ड्रेस पनि जितेकी छिन् । मिस अर्थमा सहभागी ८८ सहभागीहरुलाई एयर, वाटर र फायर गरी तीन वटा समूहमा विभाजन गरी विभिन्न प्रि प्याजेन्ट एक्टिभिटीमा प्रतिस्पर्धा गराइएको छ ।