पेज थ्रीमा रम्ने प्रियंकाको काइदाको उपाय

जाडो महिनामा लगाउने कपडा, गर्मी महिनामा लगाउने कपडामा फरक हुन्छ । कलाकारको फेसन पनि समय अनुसार नै हुन्छ । गर्मीमा तातो कपडा लगाएर कोही आउँदैन, जाडोमा चिसो कपडा लगाएर कम कलाकार पुग्छन् । तर, अभिनेत्री प्रियंका कार्कीलाई भने जाडो र गर्मीले फरक पार्दैन । उनलाई जाडो होस् या गर्मी, छोटो कपडा लगाउनै पर्छ ।

प्रियंकाको दिमागमा बसेर पनि हट्न लागिसकेको फिल्म अनागतको कार्यक्रम भयो राजधानीमा । यो फिल्ममा प्रियंका र अभिनेता अर्पण थापा श्रीमान् र श्रीमतिको भूमिकामा छन् ।

तर, फिल्मको कार्यक्रममा पुगेकी प्रियंकाको कपडा अपेक्षित थिएन । उनले सेतो रंगको कालो बुट्टा भएको कपडा लगाइन् । यो कपडाको तल्लो भाग खुबै छोटो थियो । यो जाडोमा पनि प्रियंकालाई यो पहिरन नै किन मन परेको हो, पत्रकारले बुझ्न सकेनन् ।

प्रियंकाले यो कपडा केही अघि पनि लगाएकी थिइन् । अभिनेत्री कार्की संचारमाध्यममा नआएको धेरै भयो । यसैले उनी यसपटक जाडो सहेरै भएपनि केही दिन त चर्चा होस् भन्ने मुडमा आएको देखिएको थियो ।
उनको छोटो पहिरनले गसिपका पाना फेरि रंगिनेछन् ।

केही समय संचारमाध्यममा नआउँदा उनलाई छटपटी भएको थियो होला । यसैले पनि उनले जाडोमा छोटो कपडा लगाएर पेज थ्रीमा बस्ने काइदाको उपाय खोजेकी छिन् ।
तस्विर सौजन्य : अन्जन