EXCLUSIVE : ‘गङनम स्टाइल’का गायक पीएसवाई नेपाल आउँदै

रेकर्ड ब्रेकर गीत ‘गङनम स्टाइल’का गायक पीएसवाई (पार्क जेई साङ) नेपाल आउने भएका छन् । नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ बर्ष पुगेको अवसरमा कोरियाली राजदुतावासले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । पीएसवाई साउथ कोरियन गायक, र्यापर, रचनाकार हुन् ।
कोरियामा उनी हाँस्य स्टेज प्रस्तुती र भिडियोबाट चर्चित छन् भने अन्तर्राष्ट्रीय रुपमा गङनम स्टाइल गीत तथा भिडियोले उनलाई चर्चित बनाएको छ । १५ जुलाई २०१२मा सार्वजनिक भएको उक्त गीतको भिडियो २१ डिसेम्बर २०१२मा आएर यूट्युबको इतिहासमै पहिलोपटक एक अर्ब भ्युज बनाउन सफल भयो । हाल उक्त भिडियोको भ्युज तीन अर्ब भन्दा बढी पुगिसकेको छ । उक्त समयमा विश्व बिख्यात राजनीतिज्ञहरुले समेत गङनम स्टाइलमा डान्स गर्ने प्रयास गरेका थिए ।
‘पीएसवाई विथ के-पप लाइभ इन नेपाल’ नाम दिइएको उक्त कन्सर्ट डिसेम्बर १५ तारिक खुमलटार, सातदोबाटो स्थित रेडियो नेपालको ग्राउण्डमा हुनेछ । ५ घण्टासम्म चल्ने उक्त कन्सर्टमा नेपालको तर्फ बाट ‘मन मगन’ गीतबाट पछिल्लो समय देश देखि विदेशसम्म चर्चा कमाइरहेका गायक दीपक बज्राचार्यले आफ्नो प्रस्तुती राख्नेछन् । उक्त कन्सर्टमा बज्राचार्यले नेपाली भेषभुषा र नेपाली मौलिक बाजाहरुलाई समेटेर आफ्नो ब्याण्ड सहितको प्रस्तुती दिनेछन् । कन्सर्टमा पीएसवाई र दीपकसँगै कोरियाका अन्य विभिन्न चर्चित ब्याण्डले आफ्नो प्रस्तुती राख्नेछन् ।

कुन कुन ब्याण्ड आउदै छन् :

बिएपी
बिएपी ब्यान्डले २०१२मा ‘वारियर’ एल्बम मार्फत साउथ कोरियन म्युजिकमा डेब्यु गरेको थियो ।

एसएफ नाइन
एसएफनाइन साउथ कोरियन केटाहरुको डान्स ग्रुप हो । यो ग्रुप एफएनसी इन्टरटेनमेन्टले स्थापित गरेको हो । यो कम्पनीले डेब्यु गराएको पहिलो डान्स ग्रुप हो । यो ग्रुपले अक्टोबर ५ तारिक २०१६मा पहिलो एल्बम ‘फिलिङ सेन्सेसन’ मार्फत डेब्यु गरेको थियो ।

एओए
एओए साउथ कोरियन केटीहरुको ग्रुप हो जसलाई एफएनसी इन्टरटेनमेन्टले स्थापित गरेको थियो । त्यसअघि उनीहरु ८ जना मिलेर यो ब्याण्डको स्थापना गरेका थिए । अहिले ६ जना केटीहरुलाई समावेश गरेर यो ब्याण्डलाई एफएनसी इन्टरटेनमेन्टले प्रोमोट गरिरहेको छ ।

मोमोल्यान्ड
मोमोल्यान्ड साउथ कोरियन केटीहरुको ग्रुप हो जसलाई एमएलडी इन्टरटेनमेन्टले रियालिटी शोको मार्फत २०१६मा स्थापित गरेको थियो । उनीहरुको बुम बुम, वेलकम टु मोमोल्याण्ड, फन टु द वर्ल्ड, ग्रेट, फ्रिज लगायतका एल्बम सार्वजनिक भएका छन् ।

बेरी गुड
बेरी गुड साउथ कोरियन केटीहरुको ग्रुप हो जसलाई एसिया ब्रिज इन्टरटेनमेन्टले २०१४मा स्थापित गरेको थियो । उनीहरुले २०१४मै ‘सिंगल लभ लेटर’मार्फत डेब्यु गरेका थिए । हाल सम्म उनीहरुको फ्री ट्राभल, भेरी बेरी, ग्लोरी लगायतका एल्बम बजारमा आएका छन् । उनीहरु के-पप, डान्स म्युजिक र इलेक्ट्रोनिक डान्स म्युजिकका लागि चिनिन्छन् ।

बड्किज
बड्किज साउथ कोरियन केटीहरुको ग्रुप हो जसले २०१४मा ‘इयर अट्याक’ गीत मार्फत डेब्यु गरेको थियो ।

पछिल्लो केही बर्षयता नेपालमा विश्व विख्यात गायक गायिकाहरुको कन्सर्ट हुन थालेको छ । ब्रायन एडम्स, भारतीय चर्चित गायक मोहित चौहान, र्यापर वादशाह लागायतको कन्सर्ट नेपालमा सम्पन्न भइसकेको छ । संगीतको कुनै सिमाना हुँदैन भनिन्छ । नेपालमा पनि अन्तर्राष्ट्रीय गीतसंगीतका पारखीहरुको भिड बाक्लै छ । सम्भवत यो कन्सर्ट ‘पीएसवाई विथ के-पप लाइभ इन नेपाल’ नेपालमा हालसम्म कै सबै भन्दा ठुलो अन्तर्राष्ट्रीय कन्सर्ट हुनेछ ।

सम्पादित : दक्षिण कोरियाली राजदूतावासले भने आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ, “कोरिया दूतावासले काठमाडौँमा पी एस साइ कन्सर्ट आयोजना गर्न लागेको छैन, न हाम्रो यो आयोजनासँग कुनै सम्बन्ध छ।”