नाच्न जान्ने पुष्प

नायक पुष्प खड्का लामो समय म्युजिक भिडियोमा सर्वाधिक रुचाइएको नाम हो । सयौ म्युजिक भिडियोमा काम गरेका पुष्प अहिले भने फिल्ममा व्यस्त हुन थालेका छन् । उनले ‘अझै पनि’ नामक फिल्मबाट आफ्नो फिल्मी करिअर सुरु गरेका थिए ।

उनी अझै पनिमा सहायक भूमिकामा प्रस्तुत थिए । जुन फिल्मले उनको करिअरलाई खासै सहयोग गरेन । पुष्पले ‘दर्पण छाया’ जस्तो सफल फिल्मको सिरिज फिल्म ‘दर्पण छाया २’बाट आफूलाई मुख्य भूमिकामा प्रस्तुत गरे । उक्त फिल्ममा उनको कामको प्रशंसा भयो तर, फिल्मले व्यापारिक सफलता भने पाएन ।

उक्त फिल्ममा अनुबन्धित भएसँगै पुष्पले ‘मंगलम’ नामक फिल्म साइन गरिसकेका थिए । पुष्पले ‘मंगलम’मा केही राम्रो काम र आफ्नो अभिनय क्षमता देखाउन पाए । उक्त फिल्मबाट पुष्पले धेरै चर्चा पनि पाए । अवार्ड पनि पाए ।

अहिले पुष्प नयाँ फिल्म ‘मारुनी’ रिलिजको पर्खाइमा छन् । यस फिल्ममा उनले अहिलेको चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स गर्दैछन् । यस फिल्ममा पुष्पले रेविका गुरुङसँग पनि रोमान्स गर्नेछन् ।

केही दिन अघि मात्र ‘मारुनी’को पहिलो गीत ‘जाम न माया जाम’ रिलिज भयो । उक्त गीतमा पुष्पले गरेको नृत्यको धेरैले तरिफ गरेका छन् । साच्चिकै भिडियोमा पुष्पले धेरै मेहनत गरेर नाचेका छन् । गीतको भिडियो पनि बलिउड स्तरको बनाइएको छ । पुष्प आफूलाई बलिउड स्तरको नृत्य गर्ने मन पहिल्यै देखि भएको बताउँछन् । त्यो रहर केही हदसम्म यस गीतमा पूरा गरेका छन् उनले ।

दीपक बज्रचार्यको स्वर तथा संगीत रहेको उक्त गीतमा प्रविण सिंहको नृत्य निर्देशन रहेको छ । भिडियोमा साम्राज्ञी पनि फिचर छिन् । तर, पुष्पको नृत्यमा उनी फिक्का लागेकी छिन् ।

तर पल शाहका राम्रा साथी पुष्पले पलले झैँ म्युजिक भिडियो प्रतिको मोह फिल्म प्रदर्शनको समयमा त्याग्नु जरुरी छ । फिल्म प्रदर्शनको समयमा समेत म्युजिक भिडियो रिलिज र प्रमोशनका कारण फिल्मका निर्माताले पलबाट समस्या भोग्नु परेको थियो भने यस बिषयमा पुष्पले समयमा नै सोच्न जरुरी छ । फिल्म र म्युजिक भिडियोलाई ब्यालेन्स गरेर लैजाने हो भने पुष्पको भविष्य उज्ज्वल छ ।