एक साता लम्बियो ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि शुरुगरेको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ को अवधि एक साता अझै थपिएको छ । सरकारले कोरोना भाइरसको कारण लकडाउन घोषणा गरेपछि उक्त नाट्य महोत्सब शुरु गरिएको थियो । लकडाउनको समयमा रङ्गमञ्चका दर्शकहरुले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यका साथ उक्त महोत्सव घोषणा भएको थियो । सरकारले लकडाउनको अवधि थपेकाले महोत्सव पनि लम्ब्याईएको हो ।

महोत्सव अन्तर्गत शुक्रबार थिएटर मलको प्रस्तुतिमा केदार श्रेष्ठको लेखन तथा निर्देशन रहेको नाटक ‘उपियाँको निबन्ध’ देखाइनेछ । त्यसै गरी शनिबार कथाघेरा, कौशी थिएटरको प्रस्तुति रहेको आकांक्षा कार्की निर्देशित नाटक ‘दयालु रुख’, आइतबार सम्पदा मल्लको कथामा अशेष मल्लले नाट्यलेखन र निर्देशन गरेको नाटक ‘अर्को कुरूक्षेत्र’, सोमबार आरोहण गुरूकुलको प्रस्तुति रहेको नाटक ‘एल्ममुनिको तिर्खा’ देखाइनेछ ।

महोत्सवका निर्देशक केदार श्रेष्ठले धेरै नाटकहरु यस महोत्सवमा सहभागी हुन चाहने बताए । महोत्सवका संयोजक प्रशुन सिन्धुलीयका अनुसार नाटकहरू ‘अन्धेर नगरी चौपट राजा’, पपेट प्ले ‘टु बि’ र ‘भोको घर’ पनि यसै साता प्रदर्शन गरिने सूचीमा परेका छन् तर प्रदर्शन हुने मिति भने तय भइसकेको छैन । त्यसैगरी महोत्सवमा ‘ऊ मरेकी छैन’, ‘लाटीको छोरो’ र ‘गर्भछिटा’ पनि प्रदर्शन हुनेछन् ।

रंगकर्मीहरु विमल सुवेदी, लुनिभा तुलाधर, बिजय बराल, नाजिर हुसेन, रामहरि ढकाल, मनिष निरौला, भोलाराज सापकोटा, सरिता गिरी, पशुपति राई, लक्ष्मी बर्देबा, जीवन भट्टराई, सबिर चुरौटे लगायतले भिडियो सन्देश मार्फत महोत्सवको सफलताको कामना गर्दै यसमा सहभागी भई क्वारेन्टाइन अभियानलाई सहयोग गर्न आग्रह पनि गरिरहेको महोत्सव संयोजक सञ्जिता पराजुलीले जानकारी दिइन् ।

महोत्सव अन्तर्गत थिएटर मलको फेसबुक पेज मार्फत प्रत्येक दिन साँझ ५ बजे नाटकको भिडियो प्रत्यक्ष प्रसारण गरिएको थियो । महोत्सवमा पहिलो दिन केदार श्रेष्ठ निर्देशित ‘मान भर्सेस मति’, दोस्रो दिन नम्रता केसी निर्देशित ‘राजेन्द्रलक्ष्मी’, तेस्रो दिन दयाहाङ राई निर्देशित नाटक ‘जालिनी’, चौथो दिन सुदाम सिके निर्देशित ‘पाँच’, पाँचौ दिन प्रविण खतिवडा निर्देशित ‘एक बोलि एक दाम’, छैठौ दिन सुभोजित बेनर्जी निर्देशित भारतीय नाटक ‘नथिङ्ग टु से’ र सातौ दिन सुरज मल्ल निर्देशित ‘शकुन्तलाको औंठी’ देखिएको थियो ।