रमितको ‘राजा साहेब’ अफिसियल अनाउन्समेन्ट

सोमबार एक कार्यक्रमका बीच नायक रमित ढुंगानाको मुख्य भूमिका रहने फिल्म ‘राजा साहेब’को औपचारिक घोषणा गरिएको छ । सोमबार बिहान कोटेश्वरको महादेव मन्दिरमा फिल्मको शुभ मुहुर्त पनि गरिएको छ ।

बिचल किरातीको निर्देशनमा बन्न लागेको यस फिल्ममा रमितसँगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जनलगायतको मुख्य भूमिका रहने छ । यसै फिल्मबाट दुई नायिका सोनिका केसी र आइशा राईले डेब्यु गर्दैछन् ।

‘किराती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त व्यानरमा बन्ने फिल्ममा शंकर न्यैपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा रहेका छन् । चन्द्र लामा, ज्याक शुब्बा र भिम कार्की निर्माताको रुपमा रहेको फिल्ममा सिसम डागी सह–निर्माताका रुपमा रहेका छन् ।

निर्देशक राईकै लेखन रहेको फिल्ममा ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ । पवन गौतमले खिच्ने फिल्मलाई समिर मियाँले सम्पादन गर्नेछन् । बुधबारबाट छायांकनमा जाने फिल्म आगामी तिहारबाट प्रदर्शनमा आउनेछ ।