बाचुन्जेली स्पट ब्वाइ : राजु भन्छन्-चामल सकियो, कोठाभाडा तिर्ने पैसा छैन !

क्यामेराको फ्रेममा फोहोर देखींदा फोहोर टिप्न कुद्ने मान्छे, भिडभाडमा गएर भिड हटाउने मान्छे, शुटिङ क्रुलाई बेला बेलामा चिया खाजा दिने मान्छे, निर्देशकलाई तत्काल अडियन्स चाहिए केही क्षणलाई आकष्मिक कलाकार बनेर सहयोग गर्ने मान्छे,  अझ सरल भाषामा भन्दा कलाकारलाई घामपानीबाट बचाउन छाता ओडाउने मान्छे नै स्पट ब्वाइ हुन् । जसले सम्पूर्ण क्रुलाई हेरचाह गर्ने गर्दछन् ।

रमाईलो कुरा के छ भने झट्ट सुन्दा स्पट ब्वाइ लक्का जवान ठान्ने गरिन्छ तर बास्तवमा पचास वर्ष माथीका पनि यो काममा खटिएका हुन्छन् । जसले संधै स्पट व्वाइ, जवान व्वाइ अर्थात केटोको दर्जा पाउने गर्दछन् । भनिन्छ स्पट व्वाइ कहिले बुढा हुंदैनन् रे ।

नेपाली फिल्म उद्योगमा पनि एक स्पट ब्वाइ छन् । जो निरन्तर आफ्नो कामका लागि चिनिएका स्पट व्वाइ हुन् । पुख्र्योली घर पनौती भएका राजु फुयांल(४०) एक यस्ता स्पट व्वाई हुन् जो निरन्तर तेइस वर्षदेखी स्पट व्वाइको रुपमा खटिइरहेका छन् । साच्चै भन्नुपर्दा उनी फिल्म नगरीमा लामो समय टिकेका स्पट व्वाइको रुपमा पनि चिनिए । उनले पहिलो फिल्म ‘सम्पत्तीबाट’ स्पट ब्वाईको काम शुरु गरेका थिए । ०५६ सालतिरको कुरा होला, उनले सम्झीदै भने मलाई क्रेन चलाउने खान दाइले त्यहां लगेका थिए ।

फिल्मको पर्दामा देखिने कथा जस्तै उनको पनि आफ्नै कहानी छ । सानैदेखी बाउले परिवारलाई छाडेर हिंडेका थिए । जेठा छोरा हुन राजु । राजुले पढ्न पाएनन् । उनी भन्छन्, क पनि लेख्न पढ्न पाइएन हजुर, हात पनि सानैमा भांचियो । सानैमा बाउले नहेरेपछि उनी आफैले आमा र भाईलाई हेरे । कमजोर हात भएकाले अरु केही काम गर्न नसकेको उनले बताए । यहि स्पट व्वाई कामले नै अहिलेसम्म बचाएको उनी बताउंछन् ।

नेपाली रजतपटमा लामो सयमसम्म काम गर्दै जांदा राजुले थुप्रै निर्देशकसंग काम गरे । करीव दुईसय फिल्ममा स्पट व्वाइको काम गरे । उनलाई मनपर्ने निर्देशकहरुमा दिपा श्री निरौला, झरना बज्राचार्य, विकास आचार्य हुन् । शिव रेग्मी पनि उनलाई मन पर्ने बताए । दयाराम दहाल र शम्भु प्रधान भने थर्काउने निर्देशकमा पर्ने उनले बताए । उनले भने वहांहरुसंग काम गर्न डराउनु पर्छ । छक्कापञ्जा, नाइ नभन्नु ल, हामी तिन भाई, सगुन, आफ्नो मान्छे, सुखदुख, शत्रु गते उनले काम गरेका फिल्म हुन् ।

रमाईलो प्रसंग पनि छ । उनले अहिलेका निर्देशकलाई स्पट व्वाइको रुपमा फिल्म दुनियांमा ल्याएका थिए ।  भांडा माझ्नका लागि निर्देशक हरि हुमागाईलाई ल्याएका थिए । उनी पनि निर्देशक बनीसकेका छन् । तर उनी आफै भने स्पट व्वाइमै छन् । कारण बताउंदै उनले भने, पढ्न सकिएन हजुर, त्यसैले स्पट व्वाइ भैरहें यहिनै मेरो जिउने माध्यम बन्यो । अहिलेसम्म टिकीरहेको छु, जहां भएपनि मलाई माया गरिरहेका छन्,उनले थपे ।

उनले स्पट ब्वाइको काम गरेको तेईस वर्ष भैसकेको छ । उनी विगत सम्झन्छन् । त्यो समयमा पचास दिनको प्याकेज सहमती अनुसार एक जना स्पट ब्वाइले एक हजार रुपैयां मात्र पाउंथे । विगतमा भन्दा अहिले स्पट व्वाइमा राम्रो कमाइ हुने गरेको उनले बताए । तर समय अहिले प्रतिकुल भएकाले गाह्रो भएको उनी बताउंछन् । अहिले नाम चलेका स्पट ब्वाइ औंलामा गन्न सकिन्छ । आउने जानेहरु त थुप्रै छन् । नाम चलेका स्पट व्वाईमा सन्तोष, बन्दुके, नन्दु, श्याम आदि छन् ।

एकाएक संसारलाई पिडित बनाएको महामारी कोरोना भाइरसका कारण देश लकडाउनमा छ । लकडाउनका कारण काम गरिरहेका फिल्मका शुटिङ रोकिए । राजुले पनि काम गरिरहेको फिल्म ‘ए मेरो हजुर ४’ को काम लकडाउनका कारण रोकियो । थोरै पैसा त पाए तर कामै नभएपछि माग्ने कुरो भएन उनले भने कामै नगरी कसरी पैसा माग्नु । राजुले थपे हामी त काम गर्यो खायो, काम भएन भने भोकै हुनुपर्छ । स्पट व्वाईहरुले काम गर्न पाएका छैनन् ।

शुटिङमा सबैलाई खाना खुवाएर मात्र अन्तिममा खाना खाने स्पट व्वाइ हुन्, उनी । त्यसैले त उनलाई सबैले रुचाउंछन् र बोलाई हाल्छन् । एक निर्देशकले भने राजु फिल्म उद्योगमै गनीने राम्रा स्पट व्वाई हुन् । राजुलाई आफ्नो काम प्रति गर्व छ । उनी भन्छन् लामो समय काम गरेकाले होला सबैले मलाई इज्जत दिन्छन् । निरुता, झरना, दिलिप, राजेशले माया गर्ने गर्छन् । अहिले नयां हिरोमा पल शाहले पनि आफूलाई माया गर्ने उनी बताउंछन् ।

स्पट व्वाइको काम देख्दा सहज लागेपनि गर्न गाह्रो छ । नयां मान्छेले यो काम गर्न सक्दैनन् । स्पट ब्वाइ नरम हुनुपर्ने उनी बताउंछन् । स्पट व्वाईमा एकदमै संयमता हुन जरुरी हुन्छ रिसाउन हुंदैन । उनलाई कोहीकोहीसंग भने रिस पनि उठ्ने बताउंछन् । सबैले हामीलाई नै काम अह्राउंछन् भ्याईनभ्याई हुन्छ । भन्छन् उनीहरु छेउमै रहेको कुर्सी पनि तानेर बस्न सक्दैनन्,  मुख ताक्छन् त्यहि बेला हिरो हिरोइन झर्केर हामीलाई गाली गर्छन्, त्यो बेला रिस उठ्छ तर हाम्रो कामै यस्तो भनेर चित्त बुझाउंछु ।

राजु अहिले आफ्ना एक पन्ध्र वर्षका छोरा र श्रीमतीसंग डिल्लीबजारको एक सांघुरो कोठामा बस्छन् । लकडाउनले उनलाई निकै समस्या परेको छ । आम्दानी छैन । काम नगरी बसेको दुई महिना पुग्यो उनी भन्छन्, बहुत चिन्तामा छु, लकडाउन लम्वीयो भने के गर्ने के गर्ने भएको छ । सबै सकियो, प्राविधिक संघले दिएको चामल सकिन लाग्यो । कोठाभाडा तिर्ने पैसा छैन, विजुलीको विल बांकी नै छ उनले मन अमिलो बनाउंदै भने ‘महिनाको विस हजार खर्च हुन्छ ‘। यो समयमा अकष्मात परिवार विरामी भए के गर्नु सम्झीदा डर लाग्ने उनले बताए ।

उनले आफ्नो मात्र समस्या सुनाएनन् अर्का स्पट ब्वाइको कथा पनि सुनाए । जसलाई उनैले स्पट व्वाइमा भित्राएका थिए । उनी हुन् सन्तोष खड्का(३८) । यो लकडाउनले हामीजस्तालाई साह्रै अप्ठेरो पार्यो उनले भने विचरा साथीको भर्खरै श्रीमति सुत्केरी भएकी छिन् । उसलाई एकदमै सहयोगको खांचो छ । उनले भने अहिले हामीलाई एकदमै सहयोगको खांचो छ ।

थुप्रै स्पट ब्वाईको कथा अहिले राजु र सन्तोषको जस्तो भएको छ । बाहिर नदेखिने तर भित्रभित्रै आफैलाई पोल्ने । थुप्रै स्पट व्वाई अहिले लकडाउनको मारमा परेका छन् । उनीहरुका नभनिएका थुप्रै कथाहरु छन् । उनीहरुको आवाज सुनीने काम भएको छैन । अहिले सबै स्पट व्वाइमा कसरी बांच्ने भन्ने चिन्ता परेको छ । फिल्ममा काम गर्ने निम्न वर्गमा यो लकडाउनले सांच्चै नै मर्नु र बांच्नुको अवस्था बनाएको छ । राजुले भने काम त म पाईरहन्छु तर बाहिर निस्कने अवस्था छैन । लकडाउनका कारण सबै फिल्म उद्योगनै बन्द भएकाले स्पट व्वाइहरुको बांच्ने आधार हराएको छ । म जस्ता सबैलाई अहिले अप्ठेरो परेको छ, यसमा राज्यले पनि हेरिदिनुपर्ने बताउंदै उनले भने अब त म यो फिल्म उद्योग बाहेक कहि जान सक्दीन । सहयोगको आशा राखेका छन्, उनले ।

आधा जीवन यसमै विताएका राजु बांचुञ्जेली यहि क्षेत्रमा काम गर्न चाहन्छन् । उनले आफ्नो सानो सपना पनि सुनाए । भन्छन् एउटा रहर छ पनौतीमा एकटुक्रो जग्गा छ जहां घर ठड्याउने मन छ, पैसा जोगाएर बनाउने विचारमा छु । पैसा पुग्छ त ? भन्दा उनले झिनो आशा राख्दै भने जोगाएर बनाउने, पुगेन भने जोगाएको पनि खाने, के गर्नु हजुर बांच्नु त पर्यो ।