पुन: प्रसारण भईरहेको ‘रामायण’ ले बनायो नयाँ रेकर्ड

अन्य धेरै देशहरु जस्तै भारतमा पनि अहिले लकडाउन चलिरहेको छ । मानिसहरुले घरमै परिवार संग समय बिताइरहेका छन् । यहि समयमा भारतीय टेलिभिजन च्यानल दूरदर्शनले ३३ बर्ष पछि धार्मिक सिरियल ‘रामायण’ को पुन: प्रसारण गरिरहेको छ र यो अहिले सबैभन्दा धेरै हेरिने कार्यक्रम बन्न सफल भएको छ । यो सिरियल दूरदर्शनमा सन् २०१५ पछि सबैभन्दा बढी टिआरपी हासिल गर्न सफल कार्यक्रम बन्न सफल भएको छ ।

२७ मार्चमा सूचना तथा प्रसारण मन्त्रि प्रकाश जावड़ेकरले ट्वीटर मार्फत ३३ बर्ष पछी रामानन्द सागरको ‘रामायण’ को डिडि नेसनल बाट पुन: प्रसारण हुने जानकारी दिएका थिए । त्यसपछि २८ मार्च बाट ‘रामायण’ को पुनप्रसारण शुरु भएको हो । उक्त सिरियल शनिबार र आइतबार बिहान ९ बजे र राति ९ बजे प्रसारण भैरहेको छ । पहिलो दुई दिनमा प्रसारण भएका चार एपिसोडलाई १७ करोड मानिसहरुले हेरेका छन् । २८ मार्चको बिहान आएको पहिलो एपिसोड ३.४ करोडले हेरेका थिए र यसको टिआरपी ३.४ प्रतिशत रहेको थियो, त्यहि दिन साँझको एपिसोड ४.५ करोडले हेरे र टिआरपी ५.२ प्रतिशत पुग्यो । यो हिन्दि मनोरन्जनात्मक कार्यक्रमको पछिल्लो पाँच बर्षको सबैभन्दा उत्कृष्ट आँकडा हो ।

सन् १९८८ मा ‘रामायण’ को प्रसारण शुरु भएको थियो । रामानन्द सागरले निर्देशन गरेको सिरियलले त्यति बेला नै इतिहास रचेको थियो । सिरियल प्रसारण हुने समय मानिसहरु घर बाहिर निस्किदैनथे । राम र सीताको भूमिका निभाउने कलाकार मात्र नभएर अन्य कलाकारहरुले पनि दर्शकहरुको मन जितेका थिए ।

कोरोनाको कारण देशभर टिभी सिरियल, फिल्महरु र वेब सिरिज सबैको छायांकन स्थगित भएर नयाँ शोहरु टिभीमा प्रसारण गर्न गार्हो भएपछी दूरदर्शन र अन्य च्यानलहरुले पनि आफ्ना पुराना कार्यक्रमहरु प्रसारण गर्न शुरु गरेका हुन् । ‘रामायण’ को साथ साथै दूरदर्शनका ‘महाभारत’, ‘सर्कस’, ‘चाणक्य’, ‘श्रीमान श्रीमती’, ‘बुनियाद’, ‘देख भाई देख’ र ‘शक्तिमान’ जस्ता कार्यक्रमहरु पनि पुन: प्रसारण भैरहेका छन् ।