रमित ढुंगानाका ८ किस्सा : रेखाले लिपस्टिक पुछिदिइन्, राजेश र भुवनलाई मिलाउदा आफैँ एक्लिए

नेपाली फिल्म क्षेत्रमा निकै रुचाइएका नायक हुन्, रमित ढुंगाना । अग्लो कद, मिलेको शरीर, लामो कपाल अनि चकलेटी अनुहार । आहा ! रमित भनेपछि त जो कोही मरिहत्ते गर्थे । अझ उनको मुस्कानमा फिदा हुनेहरुको संख्या त अगन्य थियो ।

तर, अहिले त्यो समय फेरिएको छ । नयाँ पुस्ताका कलाकारहरुको आगमनले उनीहरु पछाडि धकेलिएका छन् । भनिन्छ, ‘सबैको एक समय हुन्छ’ । सायद उनले आफ्नो समय सकिएको महशुस गरे । अनि अमेरिका पुगेर आराम गरे ।

अहिले रमित पुन: पर्दामा फर्किने तयारी गरिरहेका छन् । रमित ‘राजा साहेब’ नामक फिल्ममार्फत पर्दामा फर्किदैछन् । दर्शकको पूर्ण माया पाउने आशा सहित उनले कमव्याकको योजना बनाइरहेका छन् ।

उनै रमितले हामीसँग उनको जीवनका केही रमाइलो किस्साहरु सुनाएका छन् :
बाइकमा लिफ्ट माग्दाको त्यो झगडा

रमितले १२ वर्षको उमेरदेखि नै आफ्नै गाडी प्रयोग गर्थे । जता जदाँ पनि आफ्नै गाडी उनको सारथी बनिदिन्थ्यो । एकदिन रमित साझँको समयमा कतैबाट पुरानो सिनामंगल ‘पेप्सीकोला’ घर फर्किदै थिए । कोटेश्वर पुगेपछि उनको गाडी बिग्रियो । उनलाई घर पुग्न हत्तार थियो । गाडी त्यहीँ छोडेर बाइकमा लिफ्ट मागे । बाइकवाला ती व्यक्ती जडिबुटी नजिक बस्ने रहेछन् । रमितले कर गरेर उनलाई घरसम्म छोड्न भने । बाइकवालाले पनि उनको कुरा स्विकारे ।

त्यो समय रमितले फिल्ममा काम गरिसकेका थिएनन् । कपाल कम्मर कम्मरसम्म थियो । ती बाइकवालाले पनि डराई डराई उनलाई घर छोडेर फर्किए । घर फर्केर आउँदा त बाइकवालको श्रीमतीसँग झगडा परेछ । श्रीमतीले सबै भान्साको सामान बाहिर फालिदिएपछि ती बाइकवाला रमित भएको ठाउँसम्म गुहार्न पुगे ।

रमितलाई बिन्ती गर्दै आफ्नो घर जान आग्रह गरे र लिएर गए । घर पुगेपछि रमितले बल्ल थाहा पाए की बाइकवालाको श्रीमतीले रमितलाई लामो कपालको कारण केटी जस्तै देखिछिन् । रमितले भने, ‘आफ्नो श्रीमानले केटी पछाडि राखेको देखेपछि उहाँको श्रीमतीले सबै सामान फाल्दिनु भएको रहेछ । म पुगेर म हो भनेपछि मात्र उहाँहरुको झगडा बन्द भएको थियो ।’

१६ वर्षमा बिहे
रमितले निकै सानो उमेरमा बिबाह गरेका हुन् । बिबाह गर्दा उनी जम्म १६ वर्षका थिए । आमाको करकापमा परेर नै उनले बिबाह गरेका थिए । रमित भन्छन्, ‘आमा बिरामी भएर हस्पिटलको बेडमा हुनुहुन्थ्यो । उहाँले बेडमा हुदाँ बारम्बार मेरो बिबाहको लागि भन्नुभयो । उहाँको खुसीको लागि नै बिबाह गरेको थिए ।’ १६ वर्षको हुदाँ बिबाह गरेका रमित १७ वर्षको हुदाँ एक छोरीको पिता बनिसकेका थिए ।

सुशिल क्षेत्रीले धोका दिदाँ फिल्ममा
रमित यस क्षेत्रमा हिरो बनेर भन्दा पनि निर्माता बनेर आउने सोचमा थिए । रमित र उनका दाई अमित ढुंगाना मिलेर फिल्म निर्माण गर्ने तयारीमा थिए । फिल्मको नाम ‘माया नमार’ राखिएको थियो । कलाकारमा राजेश हमाल, सुशिल क्षेत्री र विपना थापा पक्का थिए ।

पछि विपना थापा र सुशिल क्षेत्रीले फिल्ममा काम नगर्ने भए । उनीहरुले समय व्यस्त भएको भन्दै उक्त फिल्ममा काम नगर्ने बताएका थिए । विपना थापाको ठाउँमा सन्चिता लुइटेल भित्रिइन् । सुशिल क्षेत्रीको ठाउँमा कसलाई लिने निर्माण युनिट अन्योलमा थियो ।

त्यहीँ समय राजेशले रमितलाई फिल्म खेल्न सुझाए । उनका दाई अमितले पनि यस कुरालाई स्विकारे । अब सुशिल क्षेत्रीको ठाउँमा रमित आफैँ हिरो बन्ने भए ।

फिल्ममा अभिनय गर्ने पक्का भएपनि रमितलाई अभिनय कसरी गर्ने थाहा थिएन । झन्, उनी राजेश हमालको बिग फ्यान । राजेश हमालकै अगाडि अभिनय गर्नुपरेपछि त उनको पसिना नै छुटेको थियो । रमितले भने, ‘म राजेश दाईको बिग फ्यान थिएँ । उहाँसँग काम गर्नुपर्ने भनेपछि म निकै डराएको पनि थिएँ ।’ पछि राजेशले नै उनलाई फिल्ममा काम गर्न हौसला दिए ।

आमाको हातबाट कुच्चो पनि खाए

माया नमारको सुटिङ सकियो । प्रचार सामाग्रीका रुपमा पहिलो गीत ‘सुसेलीले बसन्तलाई’ रिलिज भयो । यस गीतबाट रमितले गाली र ताली दुबै पाएका थिए । धेरैको उनको सुन्दरताको प्रशंसा गरिरहेका थिए । तर, उनको नृत्यबाट भने असन्तुट हुनेहरुको जमात पनि राम्रै थियो ।

गीत रिलिज भएपछि उनले आमाको भने गालीमात्र खाएनन् । आमाको हातबाट कुच्चो पनि खाएका छन् । ‘गीतको भिडियो हेर्ने बित्तिकै दाईलाई यसलाई किन हिरो बनाएको बनेर गाली गरिहनुभएको रहेछ’, रमितले भने, ‘म पुगेपछि त गाली मात्र हैन कुच्चो कुच्चोले हान्नुभयो ।’ तर, दोस्रो गीत ‘मुग्लिन पारी’ रिलिज भएपछि रमितले आमाको स्यावासी पनि पाए ।

पहिलो फिल्मबाट पाएको माया
रमितको पहिलो फिल्मले नै निकै सफलता पायो । प्राय हलमा यस फिल्मले ५१ दिन मनायो । पहिलो फिल्मबाट नै रमित ढुंगाना स्टार बने । फिल्म रिलिजपछि उनी विभिन्न शहरमा पुगे । त्यहाँ उनले गज्जब दर्शकको माया पाए । मोफसलमा पाएको माया उनी यसरी सम्झिन्छन् :

१: दमक जाँदै गर्दा बर्दिबासमा ३–४ जना युवतीहरु थिए । एक युवती मेरो विग फ्यान रहिछन् । उनी त मलाई देखेपछि ढलिहालिन् । पछि थाहा भयो, उसले त जताततै मेरो फोटो सजाएकी रहिछन् । भित्तादेखि सबै तिर मेरो फोटो देखेपछि म छक्क परेँ ।

२:  म दमक पुग्दा फिल्म हेर्न आउनु भएको दर्शकले मलाई छुन हलको वाल नै भत्काइदिनु भएको थियो । किन त्यतीसम्म क्रेजी हुनुभएको थियो मलाई नै थाहा छैन ।

३: जब म धरान पुगेँ, त्यहाँका युवतीहरुले मलाई बोकेर रोएका थिएँ । उनीहरु, रोएको देखेर म पनि रोएँ ।

४: मलाई धेरै ठाउँमा फ्यानले मायाले गालामा टोक्नु भएको थियो ।

रेखाले लिपस्टिक पुछिदिइन्
रमितले आफ्नो करिअरमा सबैभन्दा बढि चलचित्र नायिका रेखा थापासँग गरेका छन् । रेखा र रमितमा खुबै राम्रो दोस्ती थियो । एकले अर्कालाई खुबै माया गर्थे । फिल्म धड्कनको छायांकन भइरहेको थियो । त्यो समय रमितलाई रेखाले मेकअप गर्दिन् । लिपस्टिक पनि लगाइदिइन् । तर, पछि रेखालाई के मुड चल्यो आएर रमितको सबै लिपस्टिक पुछिदिइन् । रमित भन्छन्, ‘खै उसलाई के मुड चल्यो कुन्नी, मेरो लिपस्टिक पुछदिन्छु भन्दै सबै पुछी ।’

जब राजेश र भुबनलाई मिलाए
नगरकोटमा फिल्म ‘मानिस’को सुटिङ भइरहेको थियो । त्यही तल ‘लभ कुश’को । रमित तलमाथि गरिरहन्थे । मानिसमा भुवन केसीको पनि मुख्य भूमिका थियो । लभ कुशमा राजेश हमाल मुख्य भूमिकामा थिए । त्यहीँ मौकामा रमितले दुबैलाई फोनमा कुरा गराएका थिए ।

उनले राजेश र भुवनलाई फकाएर कुरा गराएका थिए । ‘म राजेश दाई भएको ठाँउमा गएर तपाई त भूवन केसीको फ्यान हैन ? ‘कुसुमे रुमाल’ कति पटक हेर्नु भयो भनेर सोध्थे । दाइले हो भनेपछि भूवन दाइलाई–‘राजेश दाई त तपाइको फ्यान हो रे नी भन्थेँ । यही कुराले राजेश र भूवन दाइको फोनमा कुरा पनि भयो ।’

पछि ‘चोर सिपाही’को सुटिङ सेटमा नायक भूवन केसी र राजेश हमाल भए । त्यो समय राजेश र भुवन मिलेर रमितलाई एक्लो बनाए । रमित भन्छन्, ‘चोर सिपाहीमा त उहाँहरु मिलेर मलाई उल्टो जिस्काउन थाल्नुभएको थियो ।’

‘मृत्युञ्जय’मा हाम फाल्दा २० दिन बेडरेस्ट
फिल्म मृत्युञ्जयको सुटिङ भइरहेको थियो । फिल्ममा रमित गाउले भूमिकामा प्रस्तुत थिए । त्यसमा उनले केही एक्सनहरु पनि गर्नुपर्ने थियो ।

एक फाइट सिनमा खोलामा हाम फाल्नुपर्ने थियो । राजेन्द्र खड्गीले एक्सन बोल्ने बित्तिकै रमितले हाम फालेपनि । तर, खोलामा पुगेपछि रमितको खुट्टा ढुङ्गामा पर्यो । रमितलाई निकै चोट पनि लाग्यो । रमित भन्छन्, ‘त्यो बेला २० दिन बेडरेस्ट गर्नुपर्यो ।’