‘राष्ट्रिय कविता महोत्सव-२०७७’ का लागि कविता आव्हान

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘राष्ट्रिय कविता महोत्सव-२०७७’ का लागि कविता आव्हान गरेको छ । महोत्सव प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुनेछ ।

प्रतियोगितामा सहभागी हुन चाहनेहरुले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउनु पर्नेछ । महोत्सवका लागि बुझाइने कविता पूर्णतः मौलिक हुनुपर्नेछ र महोत्सव सम्पन्न नभएसम्म कुनै पनि विद्युतीय वा छापा माध्यममा प्रकाशन एवम् प्रसारण गर्न पाइने छैन ।

प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायका अनुसार गत वर्षको प्रतियोगितादेखि वाचनसहितको मूल्याङ्कन गरिएकाले महोत्सव हुने समयसम्म कोरोनाको जोखिम कायमै रहेको खण्डमा कार्यक्रमको मिति पर सारिनेछ ।

महोत्सवमा प्रथम हुनेलाई स्वर्णपदकसहित नगद रु. ३० हजार, द्वितीय हुनेलाई रजत पदकसहित नगद रु. २५ हजार र तृतीय हुने तीन जनालाई जनही काँस्य पदकसहित नगद रु. २० हजारका दरले सम्मानपत्रसहित पुरस्कार प्रदान गरिनेछ ।