आजबाट ‘राष्ट्रिय नाटक महोत्सव’

असार २ सोमबार आजबाट राजधानीमा ‘राष्ट्रिय नाटक महोत्सव २०७६’ सुरु भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पाँचौंपटक आयोजना गरेको यो महोत्सव असार २ गते देखि असार ८ गतेसम्म कालिकास्थानस्थित सर्वनाम थिएटरमा हुनेछ । सात दिनसम्म चल्ने महोत्सवमा मुलुकका विभिन्न भेगबाट छनौट गरिएका सातवटा नाटक प्रस्तुत गरिने छ ।

महोत्सवको पहिलो दिन मुगुको ‘कर्णाली थिएटर कलाकुञ्ज’ समूहको हिरा बिजुली निर्देशित फिल्म ‘पम्पा फूल’ मन्चन हुने छ । दोस्रो दिन इटहरीको ‘कलालय’ ले तयार पारेको प्रज्वल पराजुली निर्देशित ‘ईश्वरलाई चिठ्ठी’ नाटक मन्चन हुनेछ । तेस्रो दिन ललितपुरस्थित ‘मगर अध्ययन केन्द्र’ ले तयार पारेको गीतिनाटक ‘जीवैमामा’ देखाइनेछ, जसलाई भीम मास्की रानाले निर्देशन गरेका हुन् । त्यस्तै चौथो दिन पाँचथर स्थित ‘क्षितिज नाट्य समूह’ का जीवन बराल निर्देशित फिल्म ‘घर भित्रको अर्को घर’ देखाइनेछ । पाँचौं दिन हेटौंडास्थित ‘तरंग साँस्कृतिक परिषद’ को उज्वल शर्मा भण्डारीद्वारा निर्देशित फिल्म ‘अमरसिंहको खोजीमा’ देखाइनेछ । छैठौं दिन गोरखाको ‘रंगकला’ का रामबाबु रेग्मीले तयार पारेको ‘विकास भर्सेज निकास’ देखाइनेछ । त्यस्तै महोत्सवको अन्तिम दिन असार ८ गते सातौं नाटक नेपालगन्जको ‘एम आर्ट थिएटर’को ‘कजरी’ देखाइनेछ ।