रोमियो एन्ड मुना : पानी रंगमा कोरिएको प्रेमकथा (फिल्म समीक्षा)

बाहिरको सिको गर्दै धेरै नेपाली निर्देशकले पनि आफूले निर्देशन गरेको फिल्ममा अ फिल्म बाइ फलानो लेख्ने गरेका छन् । यसको अर्थ हो, फिल्म हरेक अर्थमा उनीहरुको कल्पना हो । लेखनदेखि साउन्ड डिजाइनसम्ममा उनीहरुको नियन्त्रण हुन्छ । तर नेपाली फिल्मका निर्देशकलाई यही अपेक्षाले हेर्नु औंसीमा उज्यालो खोज्नु जस्तै हो । नेपाली फिल्ममा फिल्म बन्न चाहिने कथा, पटकथा, कलाकार, छायांकन सबै देखिन्छन् । तर देखिन्नन् त केवल निर्देशक । नेपाली फिल्म हेरिरहँदा लाग्छ लेखकले लेखेको कथालाई छायांकार र कलाकारले मेसिनजस्तो निर्वाह गरिरहेका छन् । भाषा नेपाली छ तर त्यो आफ्नो लाग्दैन । कलाकार आफ्नै हुन् तर ती आफूले देखे भेटेका चरित्र जस्ता लाग्दैनन् । पर्दामा उनीहरुले बाँचेको सुख दुःख दर्शकसम्म आइपुग्दैन ।

नेपाली फिल्ममा निर्देशकको यस्तै माया लाग्दो इतिहासले निरन्तरता पाइरहेका बेला यो साल दुई फिल्म प्रदर्शनमा आएका छन् जहाँ बाँकी चिज देखियुन् नदेखियुन् तर निर्देशक जरुर देखिन्छन् । जेठमा रिलिज भएको हरि र गत शुक्रबार रिलिज भएको रोमियो एन्ड मुना यसरी नै निर्देशक मज्जाले देखिएका फिल्म हुन् । दुवै फिल्ममा आआफ्नै खाले कमजोरी छन् । फिल्मको विषय र प्रस्तुतिमा धेरैको फरकमत पनि रहला तर एउटा कुरा पक्का हो दुवै फिल्मका निर्देशकले पूर्ण चेतनमनले आफ्नो कथा वाचन गरेका छन् जुन नेपाली फिल्ममा विरलै देख्न पाइन्छ । यसको मतलब यो होइन कि दुवै फिल्म महान् हुन् । बिल्कुलै होइनन् । तर दुवै फिल्म नियालेर हेर्दा एउटा निर्देशकले चाह्यो भने कति फरक पार्न सक्छ त्यो भिन्नता देखाउने फिल्म हुन् ।

हरि हलमा एक हप्ता पनि टिक्न नपाइ इतिहास बनिसकेको छ । शुक्रबारबाट रिलिज भएको रोमियो एन्ड मुनाले पनि धिमा गतिमा आफ्नो यात्रा सुरु गरेको छ । सम्भवतः यसले पनि बक्स अफिसमा कुनै चमत्कार गर्ने छैन । तर हरि झैं यसले पनि केही दर्शकलाई पक्कै ढाडस दिनेछ , नेपालमा साँच्चिकै फिल्म बन्ने सिलसिला सुरु भएको छ ।

लगभग देशभरीका ७५ हलमा रिलिज भएको फिल्म रोमियो एन्ड मुना कथा हो, वेद र मुनाको । भूगोलले मात्र होइन, मनले पनि फरक संसारको प्रतिनिधित्व गर्ने दुवै कसरी एक अर्काको अपुरो दुनियाँ पूरा गर्ने अवस्थासम्म आइपुग्छन् २ घन्टा २५ मिनेट लामो फिल्मले यही कथालाई पेश गरेको छ । प्रेमकथा संसारभर नै नयाँ रहेनन् त्यसैले रोमियो एण्ड मुना पनि अपवाद छैन तर वाचन गर्ने शैलीमा निर्देशक नरेश कुमार केसीले थोरै चलाख्याँइ गरेका छन् र यही चलाख्याँइले फिल्मलाई बाँकीभन्दा भिन्न बनाएको छ ।

एरोगेन्ट र वुमनाइजर वेद (विनय श्रेष्ठ) आमाको करमा धरान केटी हेर्न आउँछ । उसको उद्देश्य छ, केटी भेटको प्रमाण स्वरुप सेल्फी लिने अनि फेरि अमेरिकाको आफ्नै दुनियाँमा फर्कने । तर त्यो केटी भेट्नुअघि नै वेदको भेट हुन्छ मुना (सृष्टि श्रेष्ठ)सँग । आआफ्ना स्वभावको कमजोरीले पहिलो भेटमै झगडा गर्न पुगेका उनीहरु यही कारणले एक अर्काको संगत गर्न बाध्य हुन्छन् । यही संगत नै थाहै नपाइ प्रेममा परिणत हुन्छ ।

रोमियो एन्ड मुनाको कथा संसारमै प्रेमकथामा सबैभन्दा बढी भनिएको कथा हो । धनी वा बिग्रेको केटा र गरिब वा सोझी युवतीको प्रेम गर्नु । उनीहरुको मिलनमा परिवार वा समाज विरोधी बन्नु । तर चरित्र चित्रणमा लेखकसमेत रहेका नरेशले चलाख्याँइ गर्दै मुनालाई टिपिकल हुनबाट जोगाएका छन् । मुना गाउँले हुन्, गरिब पनि छिन् तर त्योभन्दा धेरै स्वाभिमानी छिन् । क्याफेमा काम गरेर नै आफ्नो र बहिनीको खर्च धानिरहेकी छिन् । पहिले भनिएकोभन्दा यो प्रेमकथा थोरै भिन्न हुने अर्को कारण पनि छ यसमा पूर्वकथाहरुमा जस्तो जोडीको मिलनमा तेस्रो पक्ष तगारो छैन, स्वयं चरित्रका आ आफ्ना कमजोरी बाधक छन् ।

प्रेमकथाको एउटा सुन्दर विशेषता हो प्रेम गर्ने जोडीहरु सुख दुःखमा साथी मात्र बन्दैनन्, एक अर्काको कमी पनि पूरा गर्छन् । फिल्मले मनोवैज्ञानिक तहमा रहेको यो विश्वव्यापी दृष्टान्तलाई पनि पर्दामा जिवन्त बनाएको छ । वेदको दुनियाँ आमा बाबुको माया बिना खल्लो छ भने उता मुनाको दनियाँमा पनि आमा बुबा छैनन् । अझ मुनालाई त बुबा मान्छे हैन राक्षस लाग्छ । लेखक निर्देशक दुवै नरेशले यो कोणबाट सृष्टिको अवचेतन मनलाई पर्दामा पस्केका छन् । मुनाको अवचेतनमा रहेको राक्षसको कल्पना र त्यसलाई जिवन्त बनाउने सिजिआइ टिम दुवै प्रशंसाको हकदार छन् ।

यस्तै केही प्रयोगका कारण रोमियो एन्ड मुना अ फिल्म बाइ नरेश कुमार केसी भनिन लायक भएको छ । फिल्ममा गीतको प्रयोग, मिजान्सेन र अभिनय पनि प्रशंसनीय छन् । मिस नेपालको छवि बोकेकी सृष्टिले फेरि एक पटक उम्दा काम गरेकी छिन् । कस्ट्युम लवज, जेस्चर सबैमा सृष्टिले आफूलाई मुनामा अनुवाद गरेकी छिन् । विनय सदाका फिल्ममा झैं स्वभाविक लाग्छन् तर फिल्ममा सुष्मा सरप्राइज हुन् । धोकेवाज प्रेमिकाको रुपमा उनको अभिनय गज्जब छ । बाँकी चरित्र पनि कहिं बिझाउँदैनन् । संवाद चरित्र अनुरुप छन् । वेद र मुनाले जुत्ता र खुट्टाको कुरा गर्ने दृश्य फिल्मको सशक्त सिन हो । भ्यान गगको पेन्टिङमा सुक्मित गुरुङको पल पल सुनमा सुगन्ध हो ।

त्यतिहुँदै पनि फिल्म पटकथामा भने तुलनात्मक रुपमा कमजोर लाग्छ । लेखकको रुपमा नरेशले वेदको नेपाल आगमन र उनको नेपाल बसाइलाई विश्वनीय बनाउन सकेका छैनन् । अझ वेद र मुनाले बाजी राख्ने सन्दर्भ र बाजीका शर्त अपत्यारिला छन् । अमेरिकामा हाइ दुहाइ गरेर बसिरहेको मान्छे, सामान्य बाजी हारेकै भरमा क्याफेमा काम गर्न राजी हुनु लेखक निर्देशकले दर्शकलाई कमजोर आँकेको प्रमाण हो । त्यसैगरी निर्देशकले जुली (सुष्मा कार्की)को चरित्रलाई अलपत्र छाडेको पनि राम्रो लाग्दैन । आफ्नै दुनियाँमा रमाउने जुली रातारात परिवर्तन भएर वेदको सूत्रधार भएको नाटकीय लाग्छ । त्यस्तै फिल्ममा वेद र आमा बीचको सम्बन्ध भर्चुवल मात्र देखाउनु र त्यो पनि बीचैबाट छाड्नुले निर्देशक फिल्ममा मुनाको पछि मात्र लागिरहेको आभास हुन्छ ।

फिल्ममा निर्देशकले मुनाको चरित्रमा जति गहिर्याई भरेका छन् त्यति नै काम बाँकी चरित्रमा पनि गरेको भए फिल्मको वजन थप गर्हुङ्गो हुने थियो । क्याफेमा काम गर्ने दिदीको प्रसंग, मुना गाउँ गएको, चौथी हानेको अनि चरित्र स्थापित गर्ने चक्करमा उस्तै दृश्यको भरमार भने फिल्मका दाग हुन् । मुना र उनको बुबाबीचको भेट फिल्मको कमजोर दृश्य मध्ये एक हो । पूरा फिल्मभरि राखेको सन्पेन्स उनले खुकुलो गरी प्रस्तुत गरेका छन् । निर्देशकले दस पन्ध्र मिनेट फिल्म माया मारेको भए फिल्म थप चुस्त हुन्थ्यो ।

केही कमजोरीका बावजुद रोमियो एन्ड मुना यो साल प्रदर्शनमा आएका फिल्महरु मध्ये उत्कृष्ट फिल्म हो । सतहमा हेर्दा प्रेमकथा जस्तो मात्र लागे पनि निर्देशकले चरित्र चित्रणमा जुन तहहरु सिर्जना गरेका छन् त्यसले यो फिल्म भोलिका दिनमा पनि खोजिने फिल्ममा पर्नेछ । तत्कालका लागि पनि यो फिल्म हेर्दा तपाईंको समय र पैसा खेर गएको अनुभूति हुन्न । यसमा प्रेमी प्रेमिकाका नोकझोक मात्र छैन्, माने गहिरो जीवन दर्शन पनि छ ।

चित्रमा वाटर कलर र फिल्ममा प्रेमकथा संसारभर नै औसत मानिन्छ । तर नरेश कुमार केसीले पानी रंग मै सही, दर्शनीय चित्र कोरेका छन् । हेर्दा पनि मजा आउँछ, सम्झँदा पनि ।