‘समर लभ’ ट्रेलर

फिल्म समर लभको ट्रेलर सार्वजनिक भएको छ । सुबिन भट्टराईको चर्चित उपन्यास समर लभमा आधारित रहेर निर्माण गरिएको उक्त फिल्मको ट्रेलर काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा अतित र सायाको मिलन बिछोड देखाइएको छ ।

फिल्ममा डेब्यु नायक आशिष पिया र रेवती क्षेत्रीसँगै अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको छ । फिल्ममा अतितको भूमिकामा आशिष, सायाको भूमिकामा रेवती प्रस्तुत भएकी छिन् भने अभिनेत्री नम्रता सापकोटाले सुष्मिताको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा सुरज सिंह ठकुरी पनि महत्वपूर्ण भूमिकामा देखिएका छन् । सञ्जय लामा र मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ ।

सुबिनकै कथा रहेको फिल्मलाई सामीप्यराज तिमल्सेनाले पटकथामा रुपान्तरण गरेका हुन् भने निर्देशन मुस्कान ढकालको रहेको छ । फिल्म फ्लोरमा गएको दुई वर्षपछि प्रदर्शनका लागि तयार भएको हो । फिल्म आउँदो माघ २५ मा प्रदर्शन हुँदैछ ।