अश्लिल शब्दहरु सहित हलहरुमा ‘सेल्फी किङ्ग’, सेन्सरको बेवास्ता

यहि शुक्रबारबाट हलहरुमा प्रदर्शनमा आएको फिल्म ‘सेल्फी किङ्ग’ लाई ‘चलचित्र सेन्सर बोर्ड’ ले पीजी सर्टिफिकेट दिएको थियो । साथै बोर्डले फिल्ममा प्रयोग भएका केहि अश्लिल शब्दहरुमा बिप  राख्न पनि निर्देशन दिएको थियो । मेरोफिल्म संगको कुराकानीमा सेन्सर बोर्डका सदस्य सुबाश गजुरेलले पनि आफुहरुले उक्त निर्देशन दिएको पुष्टि गरे । तर फिल्म हलहरुमा भने उक्त शब्दहरु नहटाई प्रदर्शन गरिएको पाइएको छ । फिल्ममा ‘रन्डीखाना’, ‘मु*’, ‘मा**ने’ जस्ता अश्लिल शब्दहरु प्रष्ट संग सुन्न सकिन्छ ।

त्यस्तै सेन्सर बोर्डले दिने प्रमाणपत्र पनि फिल्ममा राखिएको छैन । साथै फिल्ममा धेरै ठाउँहरुमा मदिराहरु तथा धुम्रपानको ब्रान्डको नाम प्रष्ट देखिने गरि राखिएको छ । नियम अनुसार त्यस्ता ब्राण्डहरु लाई ब्लर गरिनुपर्थ्यो ।

यस बिषयमा फिल्मका निर्देशक बिशाल सापकोटासंग कुरा गर्दा उनले आफुलाई यो बारेमा केहि जानकारी नभएको बताए । त्यस्तै फिल्मका निर्माता दिनेश राउतले फिल्मको फाइल रिप्लेस  नभएको हुनसक्ने बताए । निर्माताको यस्तो गैरजिम्मेवारीपूर्ण भनाइबाट नै हलहरुमा सेन्सर बिनाको फिल्मको फाइल गएको बुझ्न सकिन्छ ।

चलचित्र विकास बोर्डका सदस्य दायाराम दाहालले सेन्सरको नियमक निकाय बिकाश बोर्ड भएको र यदि सेन्सरको निर्देशन नमानी फिल्म प्रदर्शन गरिएको पाइएमा फिल्म प्रदर्शनमा रोक लगाउने जानकारी दिए ।

(सम्पादक : माथि उल्लेखित अश्लिल शब्दहरु समाचार पुष्टिको लागि लेखिएको हो ।)