काली जी अत्ती भएन र ?

नेपाली संगीतले बिस्तारै फड्को मार्दै छ । फड्को मार्दै गरेको संगीत क्षेत्रमा जती योगदान पुराना सर्जकको छ त्यती नै मेहनत नयाँले पनि गरेका छन् । पछिल्लो समय संगीतमा आएका विभिन्न व्यक्तिहरुको चर्चालाई हेर्ने हो भने एकाधलाई छोडेर अधिकांस कुनै चल्तीका नायक नायिका भन्दा कम छैनन् । उनीहरुको डिमाण्ड छोईनसक्नु छ । पारिश्रमिकको कुरै नगरौँ । केही वर्ष अगाडिसम्म कसैलाई गीत चोरी र कपीको आरोप लागेको घटना बिरलै हुन्थे । तर, पछिल्लो समय बिरलै बाहेक धेरैलाई त्यही आरोप लाग्छ। कुनै न कुनै तवरमा कसै न कसैको सिर्जना कपी गरेर आफ्नो भन्नेहरुको भिड बाक्लिन थालेको छ । नयाँ र चर्चित भनिएकाहरु मध्ये एकाधलाई छोडेर अधिकांसको गीत-संगीत कतै न कतैबाट कपी गरिएका छन् कि त चोरिएका छन् । त्यही कपी गर्नेहरुको भिडमा सामेल भएका छन् पछिल्लो समयका चर्चित संगीतकार तथा गायक कालीप्रसाद बास्कोटा ।

केही समय अगाडि सार्वजनिक भएको ‘इन्स्टाको फोटो’ बोलको गीत अहिले पनि ट्रेण्डिङमा छ। आशिफ शाह र रेश्मा घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । इन्स्टाको फोटो टिक टकमा पनि हिट छ । सामाजिक संजालको विकासले गर्दा कुनै पनि कुरा लुकाउन सजिलो छैन । केही दिन लुक्ला तर धेरै दिन गार्है पर्छ ।

कालीले गर्न खोजेको बठ्याई पनि धेरै दिन लुक्न सकेन । कालीकै संगीत तथा स्वर रहेको ‘इन्स्टाको फोटो’ गीत उनले फ्रेन्च गीतबाट कपी गरेको पाइएको छ । फ्रान्सेली गायिका कार्ला ब्रुनीको स्वर रहेको गीत ‘Quelqu’un m’a dit‘ गीतसंग ‘इन्स्टाको फोटो’ गीत मेल खान्छ । Quelqu’un m’a dit‘ जसको अर्थ अंग्रेजिमा ‘You Still Love me’ हुन्छ भने नेपालीमा त्यसको अर्थ ‘अझै मलाई माया गर्छौ’ हुन्छ । सो गीत सन २००२मा सार्वजनिक थियो । हो, यही गीतको शब्द कपी गरिएको छ ‘इन्स्टाको फोटो’ गीतमा पनि ।

गीतको शब्द मात्र होइन कालीले उक्त गीतको संगीत पनि कपी गरेका छन् । दुवै गीतको इन्ट्रो म्युजिक पनि एकै छ । कार्ला ब्रुनीको गीतको भाव इन्स्टाको फोटो गीतमा समेटिएको छ । फ्रेन्च गीतको कोरसमा समेटिएको शब्द नै इन्स्टाको फोटोको मुख्य शब्दहरु बनाइएको छ । कालीले किन यसो गरे त उनैलाई थाहा होला । तर, चर्चामा रहेका र राम्रा भनिएका गायक, संगीतकारहरुले नै अरुको सिर्जना कपी गरेर आफ्नो भन्न थाले भने संगीतमा आफ्नो भविश्य खोज्ने प्रयास गर्दै गरेकाहरुले के गर्ने ?

अझ, काली त नेपाल कै सबै भन्दा ठुलो साङ्गितिक रियालिटी शोको जज बनेर बसेका ब्यक्ती हुन् । जुन ब्यक्तीले अरुको संगीत कपी गरेर आफ्नो भन्छ उसलाई सही अर्थमा निर्णायक भूमिका सुहाउला र ? हुन त उनले राम्रा सिर्जना नगरेका होइनन् । नेपाली संगीतको विकासमा उनले पनि एक इट्टा थप्ने काम पक्कै गरेका छन् । तर, आशा गरिएका व्यक्तिहरु नै गीत कपी गरेर चर्चा कमाउँछन् भने अरुबाट नेपाली संगीत क्षेत्रले के आशा राख्ने ?

कालीलाई गीत कपी गरेको आरोप लागेको यो पहिलो घटना होइन । यसअघि पनि अर्को एक गीत कपि गरेको आरोप उनलाई लागेको थियो । कालीकै स्वर र संगीतमा रहेको फिल्म डमरुको डण्डिबियोको गीत ‘तितेपाते तितेपाते’ कपी गरेको आरोप अर्का गायक प्रकाश पौडेलले कालीलाई लगाएका थिए । पौडेलको ‘तितेपाते तितेपाते’ गीत २०५७ सालमा रेकर्ड भएर २०५८ मा एल्बमका रुपमा बजारमा आएको थियो । त्यही गीतको शब्द र हिन्दी फिल्म दंगलको एउटा गीतलाई मिक्स गरेर डमरुको डण्डिबियोको गीत गीत लेखिएको भन्दै गायक पौडेलले कालीलाई गीत कपीको आरोप लगाएका थिए ।

कार्ला ब्रुनीको गीत:

इन्स्टाको फोटो: