“घरमा बस्‍नुस्, कोरोनाको विश्‍वयुद्धबाट नेपालीलाई बचाउनुस्” – डा.आयुषमान घिमिरे

डा. आयुषमान घिमिरे पेशाले चिकित्सक हुन् । सरकारले लकडाउनको घोषणा गरे पनि उनी भने हप्तामा दुई पटक अस्पताल गइरहेका छन् ।

उनी भन्छन्, ‘विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसले सबैलाई आतंकित बनाइरहेको छ । त्यसकारण सजक र सचेत रहनुस् ।’

खासमा उनी मिस्टर नेपाल पनि हुन् । मिसटर नेपालको ताज जितिसकेपछि उनी सामाजिक काममा समेत पाइला चालेका छन् । धनगढीको अस्पताललाई उनले पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीइ) सहयोग गरेका छन् ।

उनी भन्छन्,’ रोग लाग्नुभन्दा पहिले नै सचेतता अपनाउनु उत्तम हुन्छ । त्यसकारण घरमै बसौं । कोरोनाबाट आफू पनि बचौं,अरुलाई पनि बचाऔं ।’

उनी लकडाउनमा घरमा श्रीमतीलाई भान्सामा खाना बनाएर सघाइरहेका छन् भने परिवारलाई समय दिइरहेका छन् । हप्तामा दुई दिन अफिस भए पनि अरु दिन भने घरमै पारिवारिक माहोलमा समय बिताइरहेका छन् ।

लकडाउनमा उनी उपन्यासहरु पनि अध्ययन गरिरहेका छन् भने नेटफ्लिक्समा आएका नयाँ फिल्म पनि हेर्दै आएका छन् । उनी भन्छन्, ‘ म लकडाउनमा तीन वटा पुस्तकहरु पढ्ने सोचमा छु । नेटफ्लिक्सबाट हलिउड फिल्मको तीन भागसम्म पुगेको छु ।’

सडकमा चुरोट, खैनी र सानो कुरा किन्न बाहिर ननिस्कन उनको आग्रह छ । उनी भन्छन्, ‘घरमा सुतेर होइन ज्ञान, ध्यान र मनोरञ्जन गरेर बस्नुस् । कोरोनाविरुद्ध आफूलाई बलियो बनाउनुस् ।’