सुनियोजित दुष्प्रचार : लामिछाने


सूर्य इन्टरनेसन अवार्डका आयोजक बासुदेव लामिछानेले आफूहरुको अवार्ड विरुद्ध सुनियोजित प्रचार गरिएको बताएका छन् । उनले मेरो फिल्मसँग कुरा गर्र्दै केही व्यक्तिको गलत मनसायका कारण समग्र कार्यक्रमलाई नै बदनाम गर्ने काम भएको बताए । कार्यक्रममा अपेक्षित मानिस नआएको स्वीकार्दे उनले भने, ‘हामीले सोचे जस्तो मानिस नआएको स्वीकार्छौं तर केही समाचारमा आए जस्तो हल खाली नै भएको भने होइन । कार्यक्रम नै शुरु नभइकन फोटो खिचेर दुष्प्रचार गर्ने काम भयो ।’
गत आइतबार जापानमा सूर्य अवार्ड भइरहँदा नेपालमा भने रित्तो हलको फोटो र समाचारलाई केही अनलाइनले प्राथमिकताका साथ छापेका थिए । यही समाचारपछि अवार्ड वितरणमा नेपालबाट गएका सेलिब्रेटीको मात्र उपस्थिति रहेको चर्चा चलेको थियो ।
मुख्य आयोजक लामिछानेले आफूले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणका लागि नै नाफा घाटाको हिसाब नगरी काम गर्न शुरु गरेको तर अहिलेको विवादले दुःख लागेको बताए ।
‘भारतमा आइफा अवार्डको ठूलो नाम छ । हामीले विश्वका धेरै देशमा क्रमैसँग यस्तै अवार्ड गर्ने योजना बनाएका थियौं । तर, यो विवादले हाम्रो हौसला मारेको छ । यसले व्यक्तिगत रुपमा मलाईभन्दा पनि उद्योगलाई नै घाटा छ ,’ लामिछानेले भने, ‘ जसले यो सबै गर्यो त्यो नेपाली फिल्मको पनि दुश्मन हो भन्ने बुझेको छु ।’
दर्शकको उपस्थितिलाई लिएर अवार्र्ड विवादित भए पनि अवार्डमा सहभागी अतिथीले अवार्डको खुलेर प्रशंसा गरेका थिए । चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईले
विश्वको महँगो शहरमध्यको एक जापानको टोकियो जस्तो स्थानमा यति धेरै कलाकारहरु उपस्थित गराउन सक्नु नै कार्यक्रमको सफलता रहेको बताए । कार्यक्रममा दर्शकको उपस्थिती कम देखिएकोमा टिप्पणी गर्दै मह जोडीले आयोजकलाई नआत्तिन सम्झाएका थिए , ‘सूर्यमा ग्रहन लाग्यो भन्दैमा आतिनु पर्दैन । , ग्रहण क्षणिक हुन्छ ।’ त्यसैगरि अभिनेता नीर शाहले पनि आयोजकले भव्य अवार्ड गरेको बताएका थिए ।
अवार्ड कार्यक्रमको भोलि पल्ट कर्पोरेसनले कलाकारको सम्मानका खातिर क्रुज पार्टीको आयोजना गरेको थियो । क्रुज पार्टीमा खानपिनको रमाइलोका साथै नेपालबाट आगन्तुक पाहुना कलाकार, र क्रिउ मेम्बरहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
केही महिना अगाडिबाट मात्र जापान उडान थालेको नेपाल एयरलाइन्सले कलाकारहरुलाई ५० प्रतिशत छुटसहित जापान ल्याउने र नेपाल लैजाने व्यवस्था गरेको थियो । नेपाल सरकारको तर्फबाट सूचना तथा संचार मन्त्रालय अन्तर्गतको चलचित्र बिकास बोर्ड र पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन बोर्डले ‘सूर्य इन्टरनेसनल अवार्ड’ २०१९ सँग सहकार्य गरेका थिए । यसैगरि गृह मन्त्रालय अन्तर्गतको एपीएफको सहकार्यमा आफ्नो सांस्कृतिक टोलीसहित रोचक नृत्य प्रस्तुत गरेको थियो ।
४९ जना कलाकारको उपस्थितिमा सम्पन्न अघिल्लो पटक गरिएको अवार्ड सुर्य कर्पोरेसनको पहिलो अवार्ड थियो जुन जापानको टोकियोमा नै गरेको थियो । अघोल्लो पटक सम्पन्न अवार्डमा बसुन्धरा भुषाललाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने पत्रकार सामीप्यराज तिमल्सेनालाई ‘सुर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । हरेक बर्ष ‘साकुरा नाइट’ नामक जापानमा गत केहि बर्षदेखि म्युजिकल टुर गर्दै आईरहेको कर्पोरेसनले यस पटक नेपालबाट पनि टुर को सुरुवात गरेको छ । नेपाली चलचित्रको इन्टरनेसनल राइट्स लिने क्रममा ‘छक्का पन्जा ३’ चलचित्रको अधिकार लिई जापानका १५ बढी शहरहरुमा सफल प्रदशन गरेको थियो भने यसपाली पनि ‘छ माया छपक्कै’ चलाउने तयारी गरिरहेको छ । आगामी २०२० को प्रदशनको मिति तय गर्ने गरी फ्लोरमा जाने तयारी गरिरहेको भुवन के.सी र अनमोल के.सी को ‘एन्टि हिरो’ पनि सुर्य कर्पोरेसनले लिइसकेको कर्पोरेशनका कार्यकारी अध्यक्ष बाशुदेव लामिछानेले जानकारी गराए ।