पत्रकारलाई धर्म नबिर्सिन स्वस्तिमाको सुझाव

अभिनेत्री स्वास्तिमा खड्काले अर्की नायिका पूजा शर्मासंग नाम जोडेर समाचार प्रकाशन गर्ने युटुवर, पत्रकार प्रति आपत्ति जनाएकी छन् । उनले आफुले बोल्दै नबोलेको कुरालाई गलत रुपमा प्रचार गरेको भनेकी छन् । उनले लगानी उठाउने बिषयलाई ध्यान दिदै कलाकारले पारिश्रमिक लिनु पर्ने र अभिनयमा ध्यान दिनुपर्ने बताएकी छन् । उनले आफुले कसैलाई तोकेर नभनेको, पूजाको २० लाख चर्चा र आफुले भनेको २०लाख मिल्नु संयोग मात्रै भएको बताएकी छन् । उनले कलाकार भएर आफुले कलाकारिताको धर्म पुरा गरेको र पत्रकारलाई पनि आफ्नो धर्म निभाउन आग्रह गरेकी छन् । हेरौं उनको स्ट्याटस जस्ताको त्यस्तै :

कलाकार हुनुको पहिलो धर्म नै कलाकारिता हो । आफ्नो धर्मप्रति जति आस्था देखाउन सकिन्छ, त्यति गरेकै कर्मको फल पाउने हो । मैले अभिनयलाई आफ्नो धर्म मानेकी छु, र दिन-रातको साधना र कर्मले जति पारिश्रमिक पाउनु पर्छ जस्तो लागेको छ – त्यति नै पाएकी पनि छु । राम्रो कामले राम्रो पारिश्रमिक पाउनुपर्छ – यो काम दिनेको धर्म हो । काम गराउनेले राम्रो कामको कदर गर्छन्, राम्रो कलाकारिता गर्ने कलाकारलाई राम्रै पारिश्रमिक पनि दिन्छन् । सबैले आ-आफ्नो ठाउँमा आफ्नो धर्म र आफ्नो कर्मको इज्जत गर्छन् । गर्नुपर्छ पनि । जसरी मैले राम्रो काम गरेको राम्रो पारिश्रमिक पाउँछु, त्यसरी नै अरू कलाकारहरूले पनि राम्रो काम गरेको राम्रो पारिश्रमिक पाउँछन् नै । मैले अरू कसैले पाएको पारिश्रमिक देखेर आफ्नो धर्म-कर्म कम गर्ने होइन, अरू कसैले मभन्दा धेरै पारिश्रमिक पाउँछ भन्दैमा मैले डाहा गर्ने होइन । मेरो कर्म त्यो होइन । मेरो कर्म अभिनय हो – त्यो राम्रो गर्न सकेँ भने मेरो धर्म पूरा हुन्छ ।

पत्रकारको धर्म भनेको सबैलाई सुसूचित गर्नु हो । सबै जनाले “कलाकारिता क्षेत्रमा के-कस्तो समाचार छ” भनेर बुझ्न पाउनुपर्छ त्यसैले पत्रकारले सुसमाचार दिएर सर्वसाधारणलाई कलाकारिताका बारेमा जानकारी दिनुपर्छ ।
तर आफ्नो कर्मक्षेत्रलाई नै बिर्सेर, “यसले त्यस्तो भन्यो, उसले त्यस्तो भनी” भनेर आरोप लगाउँदै, नाम जोड्दै, तथानाम भन्दै, मनगढन्ते समाचार सम्प्रेषण गरेर जनतामा भ्रम फैलाउनु भनेको पत्रकारिताको धर्म होइन जस्तो लाग्छ मलाई । जसरी सही सूचना दिँदा पत्रकारिताको ईज्जत बढ्छ, त्यसरी नै जथाभावी नाम जोडेर कलाकारिताको बेईज्जती गर्दा पत्रकारिता पनि तुच्छ हुन्छ, बेकारको बन्छ ।
हामीले आ-आफ्नो क्षेत्रको धर्मलाई नबिर्सौँ । म कलाकार हुँ, म यस्ता कुरामा अडिन चाहन्न । आफ्नो धर्म गर्छु, धर्मअनुसार गरेको कर्मको फल लिन्छु ।
तपाईँ पनि आफ्नो धर्म नबिर्सिनुस् ।
वि फेयर एण्ड अ रेस्पोन्सिबल मीडिया