“फिल्म पोस्टरमा नयाँ युग : थोरै अवसर धेरै चुनौती” – विजय बस्याल

एउटा फिल्म चल्न के-के चाहिन्छ ? सिधा-सिधा भन्नुपर्दा कथावस्तु, त्यसअनुसारको पात्र अर्थात नायक-नायिका, गीत-संगीत, एक्शन-फाइट, बजारीकरण अनि प्रस्तुति । तर अहिले हलसम्म दर्शकलाई ल्याउन त्यतिले मात्र पुग्दैन । ती सबै भइसकेपछि पनि फिल्म हलमा दर्शकको मन-मुटुमा बस्न एउटा गतिलो पोस्टरको खाँचो पर्छ । फर्स्ट इम्प्रेशन इज लास्ट इम्प्रेशन  भने झै फिल्मको पहिलो झलक पोस्टर नै हो । यही पोस्टरले फिल्मको स्तर केही दहसम्म निर्धारण गर्दछ।

पछिल्लो समय त्यही नेपाली फिल्मलाई बिक्ने गरी पहिलो पटक बजारमा फिल्मको प्रस्तुतिलाई ‘इन्ट्री’ गराउने काम गरिरहेका छन् विजय बस्याल र उनको टीमले । अनामनगरस्थित टौवा क्रिएशन कम्पनीमार्फत उनले विभिन्न नेपाली फिल्मको पोस्टर बनाउँदै आएका छन् । उनलाई शान थापाले हातमा हात र काँधमा काँधझै साथ दिइरहेका छन् ।

टौवा क्रिएशनले अहिलेसम्म करीब १५० बढी नेपाली फिल्मको पोस्टर बनाइसकेको छ भने नेपाली फिल्ममा उनीहरुले आफ्नो कामलाई अब्बल साबित गरिसकेका छन् ।

नेपाली फिल्मको पोस्टरले नै फिल्म कस्तो छ (कमेडी, लभ स्टोरी वा फाइटर) भन्ने ठम्याउन सक्ने विजय दाबी गर्छन् । उनी भन्छन्, “मैले अहिलेसम्म करीब १५० बढी फिल्मको पोस्टर बनाएँ, सबैले राम्रो भनेका छन् । फिल्मको पोस्टरमा नयाँ युग आइसक्यो र सब काम डिजिटल प्रविधिले गर्न सक्ने भयो । हाम्रो आफ्नै आइडिया र टेक्निक हुन्छ पोस्टर सुटिङको ।”

उनी नेपालमा पोस्टर डिजाइनको लागि आउटडोर र इन्डोर सुटिङ बेग्ला-बेग्लै हुने गरेको साथै कथावस्तु अनुसार फोटो सुट अलग्गै हुने गरेको बताउँछन् । उनी भन्छन्, “हामी फिल्मको टीमसँग बसेर पोस्टरको लागि अलग्गै फोटो सुट गराउँछौ । हाम्रो फोटो सुटको लागि फिल्मको निर्मातासँग कुरा गरेर उनीहरुको कन्सेप्टमा काम गर्दै आएका छौ ।”

तर उनले पोस्टरको बजेट अहिलेसम्म पर्याप्त नभएको र सम्झौता अनुसार पुरै रकम भुक्तानीमा समस्या भने अझै पनि रहेको गुनासो गरे । उनले मेरोफिल्मसँग कुरा गर्दै भने, “हामीले काम मन देखि रातदिन गरेर गर्छौ । तर फिल्मको पोस्टर तयार भएर बजारमा हिट भइसक्छ, फिल्म चलिसक्छ, तर पनि हाम्रो भुक्तानी उठेको हुँदैन । हामीलाई निर्माताहरुले कहिलेकाहीं बडा ठूलो धोका दिने गर्नुहुन्छ । यो चाहिं अहिलेको चुनौती हो ।”

उनले बलिउडको अनुभव सेयर गर्दै भने, “बलिउडमा त फील्म उद्योग निक्कै ठूलो भएकाले पोस्टर डिजाइनर सेटल भइहाल्छन् । तर हाम्रोमा भने सुरुमा काम पाउनै गाह्रो छ । पाए पनि पेमेन्ट लिनै गाह्रो छ । यसले हामी क्रिएटिभ डिजाइनरलाई काममा जाँगर चल्दैन । हामी काम अनुसारको दाम नभएर गहिराइमा सोच्नै सक्दैनौ ।”

उनले फिल्मको पोस्टरलाई प्रविधिले ठूलो साथ दिएको भन्दै फिल्ममा क्यामेरा, डिजाइन, टेक्नोलोजलीले कामलाई फत्ते बनाइदिएको बताउँछन् । उनी भन्छन्, “पहिला फिल्मको टुक्राबाट पोस्टर बनाएर जोड्नुपर्थ्यो । अहिले त फोटो नै आफुले चाहेको र खोजेको अनुसार बनाउन मिल्छ । नेपाली फिल्ममा गुणस्तर र ग्लोबल स्टा्याण्डर्डको पोस्टर भित्रिएको चार वर्ष भएको छ । यसले फिल्मलाई माथि पुर्याएको छ ।”

पहिलो नेपाली फिल्म ‘क्लासिक’ को पोस्टर ग्लोबल स्ट्याण्डर्डको बनाएको भन्दै उनी भन्छन्, “पहिला फोटो फिल्मको फ्रेमबाट काटेर जोड्नु पर्थ्यो । अहिले हामीले आफ्नै प्रविधि र सुटिङ गरेर बनाउँछौ । गुणस्तर पनि र टिकाउ पनि पोस्टरको लुक्स दिन्छौ ।”

उनी फिल्मको कथा वस्तुअनुसार पोस्टरको डिजाइन तयार हुने गरेको बताउँछन् । उनी भन्छन्, “फाइट भएको फिल्म भए जम्प गरेको पुरै खुट्टा देखाउँछौ, लभ स्टोरी भएको भए नायक नायिकाको क्लोज अप फोटो सुट गराउँछौ । अनि कमेडि भए पात्र अनुसारको फोटो क्लोज अप फोटो सुट गराउँछौ अनि पोस्टर बनाउँछौ ।”

सुरुमा २० हजारदेखि पोस्टरको काम थालेका विजयको टीमले अहिले एउटा फिल्मको पोस्टर बनाएको १ लाखसम्म लिने गरेको छ । विजय भन्छन्, “पहिला २० हजारदेखि पोस्टर बनाउने काम सुरु गर्यौ । अहिले एउटा फिल्मको पोस्टर बनाएको एक लाख रुपैयाँ लिने गरेका छौ । यो कम्प्लिट प्याकेज हो ।” बस्याल पछील्लो समय रोडिज, बिज्ञापन अनी फिल्महरुको मोसन ग्राफीक र एनीमेसनमा व्यस्त छन ।

फिल्मको पोस्टर डिजाइन गर्नु नेपाली फिल्ममा निक्कै राम्रो पेशा भएको भन्दै उनी विश्वास जित्न सके यसमा लाग्नेहरुको भविष्य उज्जवल रहेको बताउँछन् ।