‘वि आर अगेन्स्ट ह्यारेसमेन्ट एण्ड क्यारेक्टर असासिनेसन’

हामी उत्पीडनको विरुद्धमा छौ । शारीरिक, मानसिक दुबै अनि महिला पुरुष दुवै माथि भएको र हुनसक्ने उत्पीडनको बिरुद्धमा । उत्पीडनको मात्रै नभएर चरित्र माथि औला उठाउने अधिकार समेत कोहीसंग छैन । पछिल्लो समय फिल्म क्षेत्रमा किचलो नै किचलो देखिएको छ । कुनै एक विषयको सुरुवात मात्रै हुनु पर्छ फिल्म जगत २भागमा विभाजित हुन्छ । अनि सुरु हुन्छ पक्ष विपक्षको लडाई । किबोर्डमा हुने लडाई पहिला पहिलाको पानी पधेरो र भट्टी पसलको लडाई र कुरा गराई भन्दा तल्लो स्तरमा पुगेको देखिन्छ ।

केही दिन यता नायिका साम्राज्ञी आर एल शाह र फिल्मकर्मी भुवन केसीको विषयले सामाजिक संजाल र संचार माध्यम भरिएको छ । एक भिडियो सार्वजनिक गर्दै फिल्म छायांकनको क्रममा साम्राज्ञीले आफु माथि ‘ह्यारासमेन्ट’ भएको बताएकी छन् । उनले फिल्म मेकर्सले आफु माथि गलत गरेको बताईन् । भिडियो सार्वजनिक भए पछि उनलाई फिल्म जगत भित्राउने निर्माता भुवन केसीले सामाजिक संजाल मार्फत आक्रोश ब्यक्त गर्दै “खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !!” लेखे ।

त्यस लगत्तै साम्राज्ञीले फेरी अर्को भिडियोमा आएर ‘गाला सुम्सुम्याएको, बाबा बाबा भन्दै नजिक भएको’ लगायत विषय सुनाउदै युटुवर माथि समेत खनिइन् । तर उनले आफु माथि भएको घटना स्पस्ट रुप्मा ब्यक्त गर्न सकिनन् या गरिनन् । सेटमा खाना नपाउनु, छाता नपाउनु भन्दा माथि उनको समस्या रहेको अनुमान त भिडियो मार्फत लगाउन सकियो । तर ‘पर्भार्ट’ भन्दै भुवन केसी तर्फ औला उठाएकी उनले सामाजिक संजालको यति राम्रो प्ल्याटफर्म पाउदा समेत आफु माथिको समस्या स्पस्ट पार्न नसकेकै कारण कतिपयबाट नकारात्मक टिप्पणी पाइन् ।

दोश्रो भिडियो सार्वजनिक भए लगत्तै भुवन केसीले नाम नै तोकेर अर्को पोष्ट सामाजिक संजालमा सार्वजनिक गरे ।
डियर साम्राज्ञि,
तपाईंलाई पहिलो पटक नायिकाको रुपमा सुपर काजल फिल्मको चलचित्र ड्रिम्स बाट चलचित्र क्षेत्र मा पदार्पण गर्ने मौका दिने ब्यक्ति प्रती ,तपाईं धन्यवादि हुनुहुन्छ भन्नेमा म अपेक्षा गर्दछु ! करिब ६ बर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत् भै सुपर हिट् भएको चलचित्र ड्रिम्सको शूटिङको क्रममा पानी खान पाइन ,छाता वोड्न पाइन ,सूबिधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन बर्ष पछाडि ,र आज भोली मात्र म लगायेत् अरु निर्माताहरुलाई पनि गाली गलौज गरेको देख्दा आस्चर्य लागेको छ ! आफुलाई ब्रेकदिने पितातुल्य ब्यक्तीको बारेमा अनर्गल तथा झुटा कुराहरु ऊुल्लेख् गरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्साग्रममा भिडियो पोस्ट बनाइ पोस्ट गर्नु भएको सामाग्री हरुको सम्भन्ध मा मेरो गम्भिर ध्यान आकर्शन भएको छ !!

अब उप्रान्त तपाईंले म भुवन के सी ले बिगत करिब् चलिस् बर्ष देखी नेपाली चलचित्रमा काम गरी बिभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आज सम्म येहि चलचित्रको क्षेत्रमा रात दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिस्ठाहरुमा आघात पुग्ने गरी पुन तेस्ता मान मर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम , फेसबूक या अन्य कुनै पनि सामाजिक सन्जाल्मा पोस्ट नगर्न, हुन सुचित गर्दछु !

मेरो यो सुचनाको बाब्जुद तपाईंले एस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं ऊुपर प्रचलित साइबर् कानुन र मानहानी सम्बन्धी कानुनको प्रगोग गरी मलाई पुग्न गएको मानसम्मानको हानी नोक्सानी उपर तपाईंबाट एथोचित छेति पुर्ती गराउने र तपाईंलाई कानुन बमोजिमको सजायेको भागेदारी गराउनुको निमित्त,आवसेक् कानुनी प्रकृयाको थालनि गर्ने ब्यहोरा तपाईंलाई बढो दु:खका साथ् जानकारी गराउदछु |

भवदिय भुवन के .सी
सिनामंगल ,काठमाडौं ,वडा न .९
मिती २०७७ साल, अषाढ १८ गते
शुभम !!!

तर दुखद विषय उनको पोष्टमा समेत उत्पीडनको विषयमा केही शब्द नै आएन । उक्त पोष्ट आएको केही समयमा नै भुवनले सत्य तथ्य छानविनको माग राखेर चलचित्र कलाकार संघमा निवेदन दिए । निवेदनमा साम्राज्ञीको कुरा मनगडन्त र चरित्रहत्या प्रयास भएको उल्लेख गरियो । तर त्यहा पनि मैले उत्पीडनमा पारेको होइन भन्ने अभिव्यक्ति आएन । साम्राज्ञीले ३ ठुला फिल्म निर्माण टिम तर्फ संकेत गरेकी छन् । भुवन केसी बोल्दै गर्दा नया दुई फिल्मका टिमको कुनै प्रतिक्रिया आएको छैन ।

भुवनले निवेदन मार्फत भिडियो बनाएर चरित्र हत्या नगर्न भने संगै साम्राज्ञीले फेसबुकमा लामो पोष्ट लेख्दै पुनः केसी माथि खानीइन् ।

जो जसलाई सम्बन्ध छ !
हालै नेपाली सिने जगतका एक वरिष्ठ कलाकार,निर्माता र निर्देशक ज्युले एक नव कलाकारले सामाजिक संजालमा दिएका अभिव्यक्ति प्रती आपत्ती जनाएर आफुले पनि सामाजिक संजालमा गर्नु भएको प्रतिक्रिया सन्दर्भमा !

के एउटा नव प्रवेशी कलाकारले आफ्ना शुरुको संघर्षका दिनहरूमा भोग्नु पर्ने अदृश्य उत्पीडन,वास्तविक अप्ठ्याराहरु र आफुलाइ मै हु भन्ने निर्मताहरुको हेपाहा प्रवृत्तिको र दुर्ब्यवहार बारेमा अभिव्यक्त गर्न पाइन्न र ? त्यस्ता वास्तविकता हरुलाइ कसैले आफ्नो प्रतिष्ठाको बिषय बनाउनु बिडम्बना नै मान्नुपर्छ !

यौटा वरिष्ठ कलाकारले जुनियर कलाकारलाइ होच्याएर सामाजिक संजाल अनेक थरी भन्नू कहाँ सम्म उचित हो? केहो वरिष्ठ र प्रतिष्ठित ब्यक्ति भनेको ? आफुलाइ इज्जतदार ठान्नेले सामाजिक संजालमा प्रयोग गर्ने भाषा त्यही हुन्छ? तपाईको बोलचाली र आनिबानीले तपाईंलाई समाजमा प्रतिबिम्बित गरेको हुन्छ ख्याल राख्नुस ! कुनै पनि कलाकारले स्वयं उस्ले गरेको मेहनत र लगनले कुनै स्थानमा पुगेको हुन्छ जुनकुराको भुक्तभोगी तपाईं स्वयं हुनुहुन्छ भने कुनै ब्यानरको एक फिल्म चल्दैमा सोहीलाई बेचेर पछीका पाएको भन्ने तर्क बिल्कुलै मिल्दैन ! नव कलाकारहरुलाइ कम पारिश्रमिक दिई तिनिहरुबाट बढी भन्दा बढी फाइदा लिने चलन कहिले सम्म हुने हो? कलाकारले प्राप्त गरेको उचाई फगत एक अनुग्रह होईन, उनको लगन र मेहनतको फल नै हो !

फेरि अब उप्रान्त यसो गरेमा वा कुनै अप्रिय कुरा अभिव्यक्त गरेमा कानुनी उपचार तिर जान सकिने कुरामा देशको एक नागरिकको हिसाबले कसैले आफ्नो धारणा व्यक्त गर्न पाउनु उस्को संविधान प्रदत मौलिक हक हो, त्यस्मा कसैले बाधा अड्चन गरेमा स्वयं कानुनी कार्वाहीमा पर्न सक्ने कुराको ज्ञान् हुनु जरुरी पनि छ।

आजका नारीहरु यति कमजोर छैनन् कि आफ्नो प्रतिरक्षा गर्न नसकुन चाहे त्यो सामाजिक हिसाबले ले होस् या कानुनी हिसाबले ! आजका महिलाहरु हरेक हिसाबले सबल छ्न् भन्ने कुराको हेक्का राखौ !

यदि नेपाली चलचित्र क्षेत्रलाइ बिकास गर्ने हो भने सबै निर्माताहरुले आफुलाइ मै हु भनी भावना नराखी नव कलाकार प्रती गरिने ब्यवहारमा सुधार गर्नु पर्छ। साथै समुहगत स्वार्थ राखी स्थापित कलाकार प्रति पक्षपात ब्यवहार र गुटबन्दी गरी फिल्महरु खेल्न नदिइ फिल्मी क्षेत्र बाटै पलायन गराउने षड्यन्त्र बाट मुक्त समेत हुनु पर्छ ! होइन भने यस क्षेत्रलाई नै क्यारिएर बनाएर यस क्षेत्रमा आउन खोज्ने पढेलेखेका र योग्य कलाकार हरुको खडेरी हुने र स्थपित कलाकारहरु बिस्थापित हुनेको लर्को लामै हुन्छ ! तसर्थ सबैले आ-आफ्नो भुल स्वीकार गरि आफ्नो कमि कमजोरीहरु लाई मनन गरि त्यसमा सुधार गरीअघि बढ्नु जरुरी छ ! साथै संबंधित निकायले निष्पक्ष रही यस बारेमा गम्भीरता पुर्वक सोच बिचार र अध्यन गर्नु पर्ने नितान्त आवश्यक छ !

नेपाली चलचित्रको एक शुभ चिन्तक !

यति विषयलाई हेर्दा समस्या ‘उत्पीडन’ को र चरित्र हत्याको देखियो । दुखद कुरा, न त साम्राज्ञी खुलेर बोलिन्, न भुवनले नै स्पस्ट अभिव्यक्ति दिएका छन् । सानो सानो विवरण भन्दा पनि समग्रमा यो भएको भनेर दुवैले बोल्न जरुरी देखिन्छ । सामाजिक संजालमा हिलो छ्यापाछ्याप गर्नु भन्दा पनि बसेर समाधान गरेको भए हुने भन्ने पनि एक पक्षको बुझाइ छ । यो निर्णय उनीहरु दुवै पक्षले गर्ने नै छन् । साथै अन्याय भएको भए प्रहरी समक्ष समस्या पुगेर समाधान पक्कै होला । न्याय अन्याय छुटिन्छ नै ।

अधिकांस नायिका साम्राज्ञीको समर्थनमा रहेका छन् भने पुराना निर्माता निर्देशक कलाकार भुवनको पक्षमा अभिव्यक्ति दिइरहेका छन् । तर सामान्य रुपमा उठेका प्रस्न र कलाकारबाट आएको प्रतिक्रियाको जवाफ दिन उपर्युक्त ठानेको छु ।

किन बोल्न यति समय लाग्यो ?
साम्राज्ञीको जीवन नियाल्दा उनको फिल्म क्षेत्र आगमन अघिको अधिकांस समय होस्टलमा बितेको देखिन्छ । त्यहा उनले पुरुषबाट हुने हिंसा भोग्ने समभावना न्युन छ । १२ कक्षा सम्मको पढाइ सकेर घर आउना साथ उनलाई फिल्मको अफर आयो । १७ बर्षकै उमेरमा उनी फिल्मको काममा ब्यस्त भाइन् । उनकै पहिलेका अन्तर्वार्ता नियालने हो भने फिल्म क्षेत्रमा उनको नजिक कोही पनि छैन । यस्तोमा उनले आफु माथि भएको उत्पीडन ‘उत्पीडन’ नै हो भनेर थाहा पाउन समेत समय लागेको हुन सक्छ । अझ मुख्य कुरा, कोही पनि पिडितले तत्काल नै प्रतिक्रिया जनाउने सम्भावना धेरै कम रहन्छ । उनलाई बुझ्न समय लागेको हुन सक्छ । बुझे पछि पनि धेरैले ‘नबोल करियर दाउमा पर्छ’ भनेर रोकेको भिडियोमा उल्लेख गरेकी छन् । ढिलो किन बोलिस भन्ने प्रश्न यसर्थ कति पनि जायज छैन । उत्पीडनमा परेर हिम्मत आएको दिन बोल्नु नै धेरै ठुलो विषय हो ।

यी दुइको विषयमा कलाकारले दिएको अभिव्यक्ति नियाल्दा मुख्य त युवराज लामा, राजेन्द्र खड्गी शोभित बस्नेत, पूजा शर्मा लगायतले भुवन केसीको समर्थन गरेको दखिन्छ ।

कलाकार तथा निर्माता युवराज लामाले भुवन रोमान्टिक व्यक्ति भएको कारण उनले छोएको रमाइलो गरेको कुरामा रोएर केही हुदैन भनेर अभिव्यक्ति दिएका छन् । उनले दुर्व्यवहार सहनु पर्ने भनेर एक अन्तर्वार्तामा खुलेआम बोलेका छन् । शोषण गरेको कुरा हो भने जायज हुदैन तर ‘अंकमाल गर्यो, हात हाल्यो, गाला जोडेर रुनुको कुनै अर्थ छैन’ भनेर आवाज उठाएका छन् ।‘ साथै उक्त समय नबोलेकोमा ‘त्यो पाईएन’ भनेर भनेका छन् ।

शोषण के हो अनि कति सम्म सहने एक पुरानो फिल्मकर्मी भएको हैसियतले उनले स्पस्ट पार्नु पर्नेमा अझ ‘गर्यो भने गर्यो के भयो त’ भन्ने प्रकारको प्रतिक्रिया दिएका छन् ।

‘भुवन दाइलाई कसले चिनेको छैन ? भुवन दाइले यस्तो गर्छ जस्तो लाग्दैन । त्यो नानीको विहे पनि हुदैन । अहिलेको प्रेमीले समेत छोड्छ ।यस्तो कुरा यति बेला ल्याउने ?’ यो भनाइ अर्का चर्चित भिलेन तथा द्वन्द निर्देशक राजेन्द्र खड्गीको हो ।

‘भुवन केसी सम्राज्ञी केसमा भुवन सत प्रतिसत सहि छन् । उनले भुवनले नजिक आएर बाबा भन्ने उनको बानी त्यहि हो । यदि भुवन नभएको भए साम्राज्ञी परिवा संगै बिरगंजमा हुन्थ्यो । परिवार समेतलाई काठमान्डौ ल्याएर उनलाई फिल्ममा लिएर महलमा बस्ने बनायो ।‘ फिल्मकर्मी शोभित बस्नेतको यो अभिव्यक्ति रहेको छ ।

यी तीन भनाइलाई लिने हो भने साम्राज्ञीले बोल्न नहुने रहेछ भन्ने अर्थ लाग्छ । तर सिनियर कलाकार हुदा हुदै पनि आफ्नो हैसियत बिर्सिएर ‘बोल्न नहुने थियो’ भनेर वाक स्वतन्त्रता माथि नै अंकुस लगाउन खोजेको पो हो कि भन्ने तर्फा संकेत गर्छ । साथै फिल्म जगतमा आएकै कारण सबै अन्याय सहनु पर्ने भन्ने उनीहरुको भनाइ छ । त्यति मात्रै नभएर फिल्ममा ल्याएकै कारण ‘जे पनि गर्छु’ भन्ने आभास लामा र बस्नेतले दिए ।

मेरो जिज्ञासा फिल्ममा लिएकै आधारमा जे पनि सहने ? ’ भुवनको बानी हो अंकमाल गर्छ’ भन्दैमा आफुलाई मन नपर्दा पर्दै सहनु परे ? खुलेआम महिला हिंशा गर भनेर आव्हान गर्ने यी कलाकर्मीलाई कुन हैसियतले दर्शकले रोल मोडल मान्ने ? दर्शकको कलाकर्मी प्रतिको श्रद्धा यस्तै साना ठुला कुराले घट्दै गएको स्थानमा यसले फिल्म क्षेत्रलाई कता तर्फा धकेल्दै छ ? यसको विरोधमा सिंगो फिल्म जगत चुप रहदा स्वस्तिमा खड्काले भने आवाज उठाएकी छन् ।

नायिका पूजा शर्माले समेत घुमाउरो पारामा भुवन केसीको नै समर्थन गर्ने गरेकी छन् । भुवन केसीका अनुसार उनको चरित्र हत्या गरियो भन्ने आरोप छ । यस विषयमा अधिकांस नायिकाले खुलेआम साम्राज्ञीको समर्थन गर्दै गर्दा भुवन केसीको पाटो ओझेल परेको छ ।

फेरी पनि हाम्रो चासो भनेको ‘वि आर विथ भुवन केसी अर साम्राज्ञी आर एल शाह’ भन्दा पनि ‘ वि आर अगेन्स्ट ह्यारेसमेन्ट एण्ड क्यारेक्टर असासिनेसन’ हो ।