बलिउड कलाकार आफ्नो पिताबारे के भन्छन् ?

बलिउड सुपरस्टार सलमान खान निकै चर्चित नाम हो । उनी आफ्नो बुवालाई फिटनेशका आइडल मान्छन् । उनी भन्छन्, ‘मेरा बाबा सलिम खानको ‘सेन्स अफ ह्युमर’ गजब छ । उहाँ हसाइराख्नुहुन्छ । यो उमेरमा पनि उहाँ फिट हुनुहुन्छ । मैले उहाँबाट फिटनेससम्बन्धी धेरै कुरा सिकेको छु । उहाँ समयको हेक्का राख्नुहुन्छ । मैले उहाँबाट यो गुण चाहिँ सिक्न सकिनँ ।’

उनी आफू बाल्यकालमा साह्रै चकचके भएको, आफ्ना भाइबहिनीमध्ये सबैभन्दा धेरै कुटाइ खाने भएको बताउँछन् । उनी भन्छन्, ‘किशोरावस्थामा कैयौँ पटक बुवालाई सोध्दै नसोधी उहाँको कार लिएर गएको छु । बुवाबाट धेरै हप्काइ खाएको छु ।’

यसका साथै उनले बुवाबाट अभावमा बाँच्न सिकेको बताएका छन् । उनी भन्छन्, ‘धेरै कुरा सिकेको छु । कुनै बेला उहाँको हातमा कुनै फिल्म थिएन । हाम्रो परिवार चार–पाँच वर्ष असाध्यै कठिन ढंगले बाँचेको थियो । अभाव थियो । त्यतिबेला मैले बुवाबाट अभावमा कसरी बाँच्नुपर्छ, सिकेको थिएँ ।

यस्तै सुपरस्टार शाहरुख खान पनि आफ्नो बुवाबाट निक्कै प्रभावित भएको बताउँछन् । उनी भन्छन्, ‘मेरा पिता ताज मोहम्मद खान मुखको क्यान्सरबाट ग्रस्त हुनुहुन्थ्यो । उहाँ राम्ररी बोल्न सक्नुहुन्नथ्यो । उहाँको साथमा हमेशा एउटा डायरी हुन्थ्यो । त्यसैमा लेखेर हामीसँग कुराकानी गर्नुहुन्थ्यो ।’

उनले बुवाको डायरीले सँधैं याद ताजा गराइ दिने बताउँछन्। उनी भन्छन्, ‘बाबाको डायरी मैले सम्हालेर राखेको छु। त्यो हामी बाउ–छोराको सम्बन्धको महत्त्वपूर्ण कडी हो। उहाँ सन् १९८१ मा बित्नुभयो। तर, उहाँको डायरीले मलाई आजसम्म उहाँको उपस्थितिको बोध गराइरहेको छ।’

शाहिद कपुर पनि आफ्नो बुवालाई एउटा दमदार आइडल मान्छन्। उनी बुवाबाट आफ्नो खुबी र कमजोरीबारे पत्ता लगाउने गरेको बताउँछन्। उनी भन्छन्, ‘बुबासँग मेरो धेरै गफगाफ हुँदैन। तर, हामीबीच एउटा अलग खालको ‘बन्डिङ’ छ। उहाँलाई जब मेरो कामबारे कुरा गर्ने मन हुन्छ, हामी बाहिर कफी खान जान्छौँ। त्यहाँ उहाँ मलाई मेरा खुबी र कमजोरीबारे बताउनुहुन्छ। अभिनेताका रूपमा उहाँले सँगालेको लामो अनुभवबाट मैले धेरै कुरा सिक्ने मौका पाएको छु।

उनी आफू पनि दुई सन्तानको बुवा भएकाले पिता हुनुको अर्थ नजिकबाट बुझेको बताउँछन्। उनी भन्छन्, ‘म बच्चाहरूसँग समय बिताउँदा साह्रै खुशी हुन्छु। उनीहरूसँग मेरा पिता पंकज कपुरले खेलेको देख्दा झन् खुशी हुन्छु।

यस्तै कट्रिना कैफको पनि बुवा बितेको धेरै वर्ष भएको सुनाउँछिन्। उनी छोरीको जीवनमा बुवाको धेरै महत्वपूर्ण रोल हुने गरेको बताउँछिन्। उनी भन्छन्, ‘ छोरीको जीवनमा बाबुको स्थान महत्त्वपूर्ण हुन्छ। त्यो स्थान अरू कसैले लिन सक्दैन, भर्न सक्दैन।’

बुवाबारे उनी भन्छिन्, ‘सोच्छु– बुबा भएको भए म उहाँसँग कति कुरा सेयर गर्थें होला। मलाई लाग्छ– छोरीहरू बाबुसँग बढी ‘अट्याच्ड’ हुन्छन्। बाउ–छोरीको सम्बन्ध खास र फरक हुन्छ। बुबा बितेपछि मैले त्यो खास सम्बन्धको मिठास गुमाएकी छु। परिवारको कुरा चल्नेबित्तिकै मलाई बुबाको अनुपस्थितिको एक खालको रित्तोपनले छोप्ने गर्छ।

मिजान जाफरी आफ्नो बुवालाई गम्भीर प्रकृतिको र पढाइबारे निक्कै चिन्ता लिने गरेको बताउँछन्। उनी भन्छन्, ‘ मेरो बुबा जावेद जाफरीलाई संसारले हास्य कलाकारका रूपमा चिन्छ। तर, उहाँ वास्तविक जीवनमा एकदमै गम्भीर खालको मान्छे हुनुहुन्छ। उहाँ मेरो पढाइलाई लिएर धेरै चिन्तित हुनुहुन्छ’

बुवा एकपटक आफूसँग रिसाएको भन्दै सुनाउँछन्, ‘ मैले उहाँलाई पढाइ छोडेर फिल्ममेकिङमा लाग्न चाहन्छु भनेको थिएँ। उहाँ रिसाउनुभयो। फिल्म निर्माणको अनुभव लिन म फिल्म ‘पद्मावत’को टिमसँग जोडिएँ। मेरो कदमले उहाँलाई खुशी बनाएन। मैले अभिनयमा करिअर बनाउन चाहेको बताएपछि उहाँको एउटै सल्लाह थियो– ‘कहिल्यै आफ्नो जरा नभुल्नू !’