साउनमा हरियो किन ?

साउनको सुरुवातसँगै धेरैजसो महिला सजिएको देखिन्छ । यो महिना भर महिलाहरु रंगीन हुन्छन् । हरियो, रातो, पहेंलो चुरा, पोते, हातमा मेहन्दी, र शरिरमा लुगा पनि हरियो नै देख्न पाइन्छ ।

खासगरी केही वर्ष यता नेपाली महिलाहरु साउन महिना भरी हरियो रंगमा रंगीन थालेका छन् । यो महिना भरी हरीयो रंगले विशेष महत्व राख्दछ । आफन्तलाई भेट्न जांदा महिलाहरुले एक अर्कालाई हरियो चुरा टिका लगायत श्रृंगारका सामग्री उपहार दिने गर्दछ । यसले एक अर्कामा माया साटासाट गर्न माध्यम समेत बनेको छ यो महिना ।

साउन महिनामा महिलाहरुले भगवान शिवको पूजा आराधना र बर्त बस्ने परम्परा छ । यो एउटा धर्म र संस्कृतीका लागि पवित्र महिना हो । महिलाहरु शुद्ध साकाहारी खाना खाने अथवा यो महिनाको सोमवार ब्रत बस्ने गर्दछन् । अहिले आएर पुरुषहरु पनि ब्रत बस्ने र बोल बम जाने गर्दछन् ।

धार्मिक महत्व अनुसार पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको मानिन्छ । त्यसैले पनि महिलाहरुले यसलाई बढी महत्वको साथ धार्मिक र सांस्कृतिक रुपमा यो महिनालाई बढी महत्व दिएको पाइन्छ ।

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको प्रतिकका रुपमा लिईन्छ । , रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । ‘यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन स्थापित हुंदै गएको हो ।

रंगीचंगी चुरापोते र कपडासँगै साउन महिनामा हातभरी मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । तर सबै महिलाहरुले यही विश्वासमा मेहन्दी लगाएका होइनन् । यो एउटा फेसनका रुपमा विस्तार हुदैछ ।

साउन महिना हरियाली प्रकृतिको महिना भनेर चिनिने गरिन्छ । हिन्दु धर्म शास्त्रमा त साउन महिना महिलाहरुको शक्तीको महिना भनेर ब्याख्या गरीएको छ । साउन महिनाको हरियो रंगलाई उर्बर शक्तिका रुपमा मानिने गरेको छ । साउन महिनामा भएको प्रकृति परिवर्तनले हामी मानिसहरुको हर्मोन नै परिवर्तन गरिदिने गर्दछ जसको प्रभाब आफ्नो शरीर अथवा मनमा परेको हुन्छ ।

यो महिना वर्षा र गर्मी हुनेहुनाले हाम्रोे शरीर तथा अनुहारमा कहिले भिजने कहिले छालाबाट पसिना आउँने हुन्छ । त्यसैले यो महिनामा मेकअप गर्दा, कपडा लगाउँदा वा केशको शृंगार गर्दा आफूलाई सुहाउने मौसम अनुकूल वाटर प्रुफ मेकप गर्नु पर्छ ।

सुष्मा महरा, फेसियल हाउस