लकडाउनमा तक्मेबुढा: “बुवा र छोराको बीचमा छु, भान्से भएको छु बिहान-बेलुका”

चर्चित हाँस्य अभिनेता विल्सन विक्रम राई यतिबेला आफ्नो झापास्थित घरमा बसिरहेका छन् । बुवाको उपचारका लागि घर पुगेका उनी लकडाउन भएर घरतिरै बस्न बाध्य भए । सरकारले लकडाउन घोषणा गरेपछि उनी काठमाडौं आउने कार्यक्रम स्थगित भयो । विल्सनको भर्खरैको छोरा पनि छ । संयोगबस घर पुगेका अभिनेता विल्सन राई (तक्मे बुढा) सँग मेरोफिल्म ले लकडाउनबारे गरेको संक्षिप्त कुराकानी:

आरामै हुनुहुन्छ ? लकडाउनको समय कसरी बिताइरहनु भएको छ नि ?
सन्चै छु । म अहिले झापा घरमा छु । लकडाउनको दुई दिन अगाडि आएको थिएँ बुवाको उपचारको लागि । सरकारले उता त लकडाउन घोषणा गरिदियो । म काठमाडौं फर्किने सोचमा थिए तर यतै पो बस्नु परेको छ । घरमै बसेर छोरा र बुवासँग समय बिताइरहेको छु ।

लकडाउनले तपाईलाई कत्तिको असर गरेको छ?
खासमा म लकडाउन अगाडि नै घरमा आएको हुँ । मेरो चैतमा अस्ट्रेलिया र क्यानडामा कार्यक्रम थियो । तर लकडाउनले स्थगित हुन पुगेको छ । अब त्यसको टुंगो छैन । फिल्मको सुटिङको तयारीमा थिएँ । तर लकडाउनले गर्नुसम्म गर्यो । सुटिङ नै पोस्डपोन्ड हुने कुरा आइसक्यो ।

तपाई लकडाउनमा चाहि दिनभरी के गर्नुहुन्छ नि ?
म आजभोलि भान्छे भएको छु । विहानदेखि बेलुकासम्म चिया, खाना, खाजा फेरि बेलुकाको खाना पकाउँदा पकाउँदै बिताइरहेको छु हौ । खै समय बितेको पत्तै पाइरहेको छैन । बुवा र छोराको बीचमा बसेर कामहरु गरिरहेको छु । धेरै खुसी लागिरहेको छ, धेरैपछि यसरी परिवारसँग बस्न मौका पाएको छु । लकडाउनले मानिसलाई परिवारसँग बस्ने अवसर दिदो रहेछ ।

फुर्सद भयो भने के गर्नु हुन्छन् नि ?
हा .. हा (हास्दै) मोबाइल झिक्यो । आफ्नो पुरानो कमेडी हेर्यो, बुवालाई नि देखायो, श्रीमतीलाई नि देखायो हेर्यो बस्यो । फिल्महरु पनि मोबाइलबाटै हेर्ने गरेको छु । अहिले त मोइबाल नै संसार भइदिएको छ । बडो खुसी लाग्छ हौ । उहिले अरुकोमा जानु पर्थ्यो, अहिले आफ्नैमा हेर्दा हेर्दा फुर्सद छैन ।

कोरोना भाइरसको प्रभाव गाउँघरमा कस्तो परिरहेको छ ?
यता पनि उस्तै हो। सब बन्द छन् । बन्दमा कोही खेतबारीमा, कोही आफन्तसँग बात मारिरहेका छन् । चोकमा मानिसहरु देखिएका छैनन् । बजार पसल नि ठप्प छ । प्रहरी हुलका हुल भ्यानमा गुटुङटुङ आउँछन् । गाउँमा पनि सुनसान नै छ, एकप्रकारले । तर किसान भएकाले कोही फुर्सदिला भने देखिदैनन् । सब आफ्नै काममा व्यस्त र मस्त देखिएका छन् । म पनि भान्सामा ‘बिजी’ भइरहेको छु ।

कोरोना भाइरसबाट बच्न तपाइको सुझाव केही छ दर्शकश्रोतालाई ?
हौ लाखे (तक्मेबुढाको आवाजमा) आबो १९१४ मा त यस्तो कोरोना भाइरस त थिएन त हौ । आजु आएर कस्तो कस्तो भाइरस आएछ ? विचित्रै भएछ । सबलाई फेरि घर फर्क र क्वारेन्टाइनमा बस भन्ने कुरा पो सिकाउँदैछ त । हामी त पहिला नि गामघरमै बसेर सिक्या कुरा बिर्सेपछि कोरोनाले सम्झायो की क्या हो लाखे !  (हाँस्दै) हा.हा..हा.. ।