मोफसल यात्रामा ‘जाइरा’ टिम

भदौ ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ को टीम यतिबेला मोफसलमा रहेर प्रचार गरिरहेको छ । पोखरामा शुक्रबार दिनभर फिल्मको टीमले प्रचार-प्रसारका विभिन्न कार्यक्रमहरु गरेको छ । प्रचार यात्रामा फिल्मकी मूख्य पात्र नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकारहरु सुजिता श्रेष्ठ र सम्राट मगर लगायत रहेका छन् ।

लेकसाइडमा रहेको डुंगा रेष्ट्रोमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा पोखरामा स्थायी बसोबास गर्ने कलाकार सम्राट मगरलाई सञ्चारकर्मीमाझ परिचित गराईएको थियो । ‘फिटनेस ट्रेनर’ सम्राटले यसै फिल्म मार्फत डेब्यू गरेका हुन् । फिल्ममा उनी नम्रता श्रेष्ठको कोचको भूमिकामा रहेका छन् ।

कुनै पनि हिसाबले आफु फाइटर जस्तो नदेखिने भएपछि आठ महिना लामो तालिम लिएर मार्शल आर्टका सबै फर्म सिकेको श्रेष्ठले बताईन् । मिक्स मार्शल आर्ट फाईटसँग नेपालीहरु त्यति धेरै परिचित नभएकोले चलचित्र केहि अनौठो लाग्न सक्ने बताउँदै उनले फिल्म राम्रो बनेको खण्डमा सफल हुनेमा बिश्वस्त देखिइन् । पहिलो पटक यस प्रकारको भूमिकामा अभिनय गरेकी नम्रताले स्पोर्टस ड्रामा ‘जाइरा’ एक्शन मन पर्ने दर्शक मात्र नभएर सबै दर्शकले मन पराउने बिश्वास व्यक्त गरिन् ।

पत्रकार सम्मेलनमा अभिनेता प्रमोद अग्रहरीको लुक्सको चर्चा भयो । ट्रेलरमा देखिएको लुक्स बारे सञ्चारकर्मीको जिज्ञासामा उनले भदौ ६ गते फिल्म हेरेपछि उक्त राज खुल्ने बताए । अग्रहरीले ‘जाइरा’मा आफु नेगेटिभ भूमिकामा भएकोले ट्रेलरमा केहि ग्ल्यामर देखिएको प्रष्ट्याए । उनले चलचित्रमा पनि स्वभावत: ग्ल्यामर देखिने खुलाए ।

त्यस्तै, पोखरामै ‘टम्बल वीड’ ब्याण्डले ‘जाइरा’को ओरिजिनल साउण्ड ट्रयाक ‘जिन्दगीको खेल’को प्रस्तुती दिएको छ । लेकसाइडको रोलिङ्ग स्टोन रक बारमा बिशेष प्रस्तुती दिँदै ब्याण्डले फिल्मको ओएसटी प्रस्तुत गरेको हो । उक्त ओएसटी इन्टरनेटमा भने केहि दिनमा सार्वजनिक गरिने बताईएको छ । ओएसटी निर्माण गरेको उक्त ब्याण्ड सोहि प्रस्तुतीको लागि पोखरा पुगेको थियो । लेकसाइडमा नै रहेको अल्टिच्युड लञ्जमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रमको आयोजना गरिएको थियो । यसैगरी, पोखराका स्थानिय सञ्चारमाध्यमहरुमा समेत पुगेको ‘जाइरा’ टीम ट्रेड मलमा रहेको फिल्म हल तथा मिड टाउन फिल्म हल तथा अन्य सपिङ्ग कम्प्लेक्समा दर्शकसामु साक्षात्कार गर्न पुगेको थियो । अन्य केहि शहरहरुमा समेत ‘जाइरा’ टीम प्रचारको लागि पुग्नेछन् ।

आशुतोष राज श्रेष्ठले निर्देश गरेको ‘जाइरा’मा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाहि, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।