हलमा नेपाली फिल्मको दबदबा

नेपालका हलमा नेपाली फिल्मकै दबदबा देखिएको छ । दर्शकले पनि निरन्तर नेपाली फिल्मलाई नै साथ दिएपछि प्रदर्शकहरुले नेपाली फिल्मलाई नै बढी स्थान दिएका छन् । जसको फाइदा, नेपाली फिल्म निर्माणकर्तालाई भएको छ । 

चैत्रको ९ गतेबाट रिलिजमा आएको फिल्म ‘महाजात्रा’ ५१ दिनको दौडमा छ । यो फिल्मलाई अझै पनि अधिकांश मल्टिप्लेक्सले स्थान दिइरहेका छन् । बिदाको दिनमा फिल्ममा दर्शकको चाप राम्रो देखिएको छ । 

चैत्रको ३० गतेबाट रिलिजमा आएको फिल्म ‘डिग्री माइला’ पनि हलमा छ । यो फिल्मले दर्शकको साथ अपेक्षित नपाएपनि केही हलमा अझै यथावत् नै छ । 

फिल्म ‘बोक्सीको घर’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । उच्च शोजका साथ यो फिल्म दोस्रो सातामा प्रवेश गरेको हो । दर्शकले फिल्मप्रति अझै रुची देखाइरहेका छन् । जसले गर्दा केकी अधिकारीको निर्माणमा तयार भएको यो फिल्म केही साता हलमा रहनेछ । 

यस्तै, आजबाट नयाँ फिल्म ‘मनसरा’ हलमा लागेको छ । उच्च शोजका साथ यो फिल्म हलमा लागेको हो । 

यसरीहेर्दा, ४ नेपाली फिल्म हलमा लागेका छन् । दर्शकले आफ्नो रुची अनुसारका नेपाली फिल्म हेरेका छन् । यो बिचमा ‘बडे मिया छोटे मिया र मैदान’ जस्ता बलिउड फिल्म नेपाल भित्रिन सकेनन् । हलमा लागेको हिन्दी फिल्म ‘रुस्लान’लाई नेपाली दर्शकले रुचाएनन् । 

हिन्दी फिल्मको लाइनअप हेर्दा अब दर्शकले ‘पुष्पा २’लाई प्रतीक्षा गरिरहेका छन् । त्यो अघि रिलिज हुन लागेका हिन्दी फिल्मले नेपाली बक्स अफिसमा नेपाली फिल्मलाई असर गर्ने देखिंदैन । तर, रिलिज हुन लागेका केही फिल्महरू भने दर्शकको प्रतीक्षामा छन् ।