सनिशा भन्छिन्–‘विराज भट्टसँग काम गर्न पाउँदा सपना पुरा भएको जस्तो लाग्दैछ’

केही सुपरहिट गीतमा काम गरेपछि मोडल सनिसा भट्टराई ठूलो पर्दाको यात्रामा लागेकी छिन् । उनले म्युजिक भिडियोमा काम गर्न थालेको एक बर्ष मात्र भयो । एक बर्षमा नै उनी फिल्मी दुनियाँमा छलाङ मार्न सफल भएकी छिन् । 

नेपाली फिल्म क्षेत्रका सुपरस्टार नायक विराज भट्टको निर्देशनमा तयार हुन लागेको फिल्म ‘१२ गाउँ’मा सनिसा मुख्य नायिकाको रुपमा अनुबन्धित भएकी हुन् । 

यो फिल्ममा काम गर्ने पक्का भएपछि पहिलो पटक मेरो फिल्मसँग कुरा गर्दै सनिशाले उत्साह व्यक्त गरिन् । ‘१२ गाउँ’मा काम गर्न के कारणले तयार हुनुभयो, मेरो फिल्मको प्रश्नमा उनले भनिन्–‘यो फिल्मको कथा एकदमै राम्रो छ, भोलि फिल्म हेरेपछि सबैले थाहा पाउनुहुन्छ । मेरो भूमिका पनि राम्रो छ । उहाँहरूको टिमले पनि मलाई काम गर्न प्रोत्साहित गरेको हो । फेरि, विराज भट्टसँग काम गर्न पाउँदा त मलाई सपना पुरा भएको जस्तो लाग्दैछ । सानैबाट उहाँलाई हेर्दा नै मलाई निकै मन पर्थ्यो ।’

सनिशाले भोलिका दिनमा फिल्म हेरेर फर्किएपछि दर्शकले आफ्नो भूमिकालाई सम्झिने बताइन् । भनिन्–‘यो फिल्मबाट दर्शकमा मेरो बारेमा एउटा राम्रो छाप परोस् भन्ने लागेको छ । म त्यो गर्छु ।’

सनिसा फिल्म क्षेत्रमा ‘स्टार नायिका’को रुपमा चिनिन चाहन्छिन् । भनिन्–‘मलाई मेरो अभिनयले पनि दर्शकमा छुट्टै छाप परोस् भन्ने लागेको छ । साथमा, मेरो अनुहारले पनि दर्शकलाई हलसम्म आकर्षित गर्न सक्यो भने त्यो अझै राम्रो कुरा भयो ।’

सनिसा आफू फिल्मका लागि अब तयार भएको बताउँछिन् । उनले भनिन्–‘अभिनय भनेको प्राकृतिक कुरा हो । सिकेर गर्छु भन्यो भने त्यो कृत्रिम देखिन्छ । यसैले, आफू जे हो सोही अनुसारको अभिनय गर्नुपर्छ जस्तो लाग्छ मलाई ।’

उसो त, सनिशालाई फिल्मको अफर आउन थालेको पहिलेबाट नै हो । तर, आफ्नो पढाइका कारण उनले काम गरिनन् । तर, अब भने आफू तयार भएको भन्ने लागेपछि उनी फिल्मी दुनियाँमा आएकी हुन् । 

सनिशालाई परिवारको निकै ठूलो साथ छ । उनका अनुसार, हरेक प्रोजेक्टको विषयमा उनी आफ्ना माता पितासँग सल्लाह लिन्छिन् । यसपटक पनि, विराज भट्टको फिल्मबाट अफर आएपछि उनले बुबासँग सल्लाह गरिन् । बुबाले यो अवसर गुमाउनु हुँदैन भनेपछि उनी काम गर्न तयार भएकी हुन् । 

लकडाउनपछि नेपाली म्युजिक भिडियोमा थुप्रै अनुहारहरूको प्रवेश भयो । यसबाट थोरै मात्र अनुहार फिल्मी दुनियाँमा आएका छन् । अधिकांशको डेब्यू सह–नायिकाको रुपमा भएको पाइन्छ । तर, सनिसा भने ‘१२ गाउँमा’मा मुख्य नायिकाको रुपमा डेब्यू गर्दैछिन् । रिजर्भ बस्ने सनिसा भन्छिन्–‘मलाई ४–५ सय बढी म्युजिक भिडियोबाट अफर आएको थियो । मैले ९० वटा जति गरेँ होला । मलाई व्यक्तिगत रुपमा गसिप आओस् भन्ने खासै लाग्दैन ।’

फिल्म ‘१२ गाउँ’को छायांकन अब केही दिनमा सुरु हुँदैछ । सनिसा यो प्रोजेक्टलाई लिएर निकै नै उत्साहित छिन् । फिल्ममा विराजका छोरा समीर भट्ट पनि छन् । तपाई कसको जोडीको रुपमा देखिँदै हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्–‘यही त सरप्राइज छ । फिल्मको कथावस्तु नै यही कुरामा घुमेको छ । केही महिना पर्खिनुहोस् न है ।’